ad ad

कारोबार


१० वर्षभित्र १२ नयाँ जहाज किन्ने निगमको कार्ययोजना

१० वर्षभित्र १२ नयाँ जहाज किन्ने निगमको कार्ययोजना

वसन्त अर्याल
मंसिर २६, २०७७ शुक्रबार ६:४५,

नेपाल वायुसेवा निगमले व्यवसाय वृद्धिका लागि आगामी १० वर्षभित्र १२ वटा नयाँ जहाज खरिद गर्ने कार्ययोजना पारित गरेको छ।

निगमका नयाँ महाप्रबन्धक डिमप्रसाद पौडेल (प्रकाश)ले १२ वटा नयाँ जहाज ल्याउने १० वर्षे कार्ययोजना ल्याएका हुन्।

पौडेलले निगमका सबै विभागका प्रतिनिधि रहने गरी बनाएको समितिले १० वर्षे कार्ययोजना बनाएको थियो। सोही कार्ययोजना निगमको सञ्चालक समितिको बैठकले केही दिनअघि पारित गरेको हो।

निगमको नेतृत्व सम्हालेलगत्तै व्यवस्थापन चुस्त बनाएर निगमलाई नाफामा लैजाने पौडेलले प्रतिबद्धता व्यक्त गरेका थिए। तत्काल जहाज खरिद नगरिए पनि निगमको व्यवसाय बढाउने निर्विकल्प उपाय नयाँ जहाज थप्नु नै रहेको उनको भनाइ थियो।

पौडेलले बनाएको १० वर्षे कार्ययोजनामा आन्तरिकतर्फ ६ र अन्तर्राष्ट्रिय उडानतर्फ ६ गरी १२ जहाज खरिद गर्ने उल्लेख छ।

‘हामीले पास गरेको १० वर्षे कार्ययोजना हो। यसमा अन्तर्राष्ट्रियतर्फ ४ न्यारोबडी र २ वाइडबडी तथा आन्तरिकतर्फ ४ वटा ट्विनअटर, २ वटा ट्रकरुटको लागि एटीआर जहाज थप गर्ने योजना रहेको छ’, निगमका सञ्चालक सदस्य अच्युतराज पहाडीले नेपालखबरसँग भने।

उनले निगमको सञ्चालक समितिले पारित गरेको कार्ययोजना राम्रोसँग लागू भए निगमले फड्को मार्ने विश्वास गरे।

‘मेरो सुझाव निगमले ६/७ वटा हेलिकप्टर समेत ल्याउनुुपर्छ भन्ने थियो। नेपाल एयरलाइन्सले बिजनेस गर्नको लागि साधन त आवश्यक पर्छ नै, त्यसको लागि जहाज र हेलिकप्टर चाहिन्छ भन्ने मेरो सोच हो’, पहाडीले भने, ‘अहिलेको कार्ययोजनामा हेलिकप्टर खरिद गर्ने योजना नभए पनि पास भएको कार्ययोजना लागू भए निगमको अवस्था सुधार हुन्छ।’

त्यसको लागि मुख्यगरी सरकारले निगमलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ। पहाडीले नयाँ जहाज खरिदको लागि निगमले मात्रै स्रोत जुटाउनसक्ने अवस्था नरहेकोले सरकारले नै सहयोग गर्नुपर्ने बताए।

‘यो एउटा योजना मात्रै हो। निगममा कसरी काम गर्न सकिन्छ भनेर योजना बनाएको हो। कसरी कार्यान्वयन हुन्छ भन्नेमा भर पर्छ’, उनले भने, ‘निगममा जहाज हुँदैन भने निगम भएको अर्थ वा प्रभावकारिता हुँदैन। विगतमा व्यवस्थापनमा कमजोरी भए त्यसलाई सुधार गर्दै निगमलाई नाफामा लैजाने कार्ययोजनामा रहेको छ।’

निगममा राजनीतिक हस्तक्षेप तथा बढी किचलो हुँदा राम्रो प्रगति गर्न नसकेको उनको बुझाइ छ।

‘नेपालमा भएका अरु एयरलाइन्स कम्पनीले राम्रो पैसा कमाउन सकिरहेका छन् तर नेपाल एयरलाइन्सले कमाउन सकेको छैन’, पहाडीले भने, ‘नेपाल एयरलाइन्स नाफामा जान नसक्नु व्यवस्थापनको कमजोरी तथा राजनीतिक हस्तक्षेपको कारण पनि रहेको छ। निगममा हायर एण्ड फायर साथै राम्रो गर्नेलाई पुरस्कारको व्यवस्थापन गर्ने हो भने निगम सुधार गर्न सकिन्छ।’

निगममा नयाँ जोस जाँगरसहितको नेतृत्व आएको छ। तुलनात्मक रुपमा निगमलाई व्यवस्थित र नाफामा लैजानसक्ने उनले विश्वास गरे।

तीन वर्ष अझै घाटा!
नेपाल वायुसेवा निगमसँग हाल अन्तर्राष्ट्रियतर्फ २ वटा वाइडबडी र २ न्यारोबडी जहाज छ। आन्तरिकतर्फ २ वटा ट्विनअटर सञ्चालनमा छ।

कार्ययोजनामा उल्लेख भएअनुसार निगमलाई अझै ३ वर्षसम्म नाफामा लैजाने सकिने अवस्था देखिँदैन। ४ वर्षपछि वार्षिक १० प्रतिशतसम्म नाफा गर्न सकिन्छ।

‘निगमले धेरै कमाउन नसके पनि यहाँका कर्मचारीलाई रोजगारी दिनसक्यो र राष्ट्रिय झण्डा बोकेर विदेश उड्न सकिरह्यो भने पनि सफलता हो’, पहाडीले भने, ‘अहिलेको अवस्थामा विश्वका धेरै वायुसेवा कम्पनी टाट पल्टिएको अवस्था छ। कोभिडको अवस्थापछि सामान्य अवस्था आउँदै छ।’

तर चुस्त व्यवस्थापनसँगै सञ्चालक समिति पनि अध्ययनशील भए निगमले कार्ययोजनाअनुरुप प्रगति गर्ने उनको ठम्याइ छ।

‘निगम नाफामा गएर आफैँ जहाज किन्नसक्ने अवस्था छैन। ४ वर्षपछि पनि १० प्रतिशत नाफा हुँदा नयाँ जहाज किन्नसक्ने अवस्था देखिँदैन’, उनले भने, ‘६० वर्षसम्म नेपाल वायुसेवा निगम चल्दा आफ्नै पैसाले जहाज किन्न सकेन। पछिल्लो समय खरिद गरिएको न्यारोबडी र वाइडबडी पनि ऋणमा लिएको हो।’

यो कार्ययोजना पर्यटन र अर्थ मन्त्रालयले पारित गरेपछि कार्यान्वयनमा आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .