ad ad

राजनीति


आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न माग गर्दै ९ देशका दूतावास अगाडि प्रदर्शन

आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न माग गर्दै ९ देशका दूतावास अगाडि प्रदर्शन

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ९:८,

मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्न माग गर्दै नेपालस्थित नौ देशका दूतावास अगाडि धर्ना तथा प्रदर्शन गरेको छ।

७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा काठमाडौंस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाली दूतावास ललितपुर अगाडि एकसाथ प्रदर्शन भएको हो।

‘आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु र विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो, सबै आणविक अस्त्र नष्ट गर, आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर, आणविक अस्त्र चाहिँदैन शान्ति मास्न पाइँदैन, कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कस्ले बचाउने? आणविक अस्त्र रहेसम्म यो प्यारो धरतीमा कोही सुरक्षित छैनन्, हामी आणविक अस्त्ररहित विश्व चाहन्छौँ’ लेखिएका ब्यानरहरु प्रदर्शन गरिएको थियो।

यसैगरी सहभागिहरुले ‘आणविक अस्त्र निषेध सन्धि अनुमोदन गरि अरबौंको मन जित्न आणविक अस्त्र भएका राष्ट्रहरुलाई आग्रह गरेका थिए भने युद्ध निषेधः शान्ति विशेष, युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ, युद्ध रोक शान्तिलाई बढावा देउ’ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए।

प्रदर्शन पश्चातः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादीमिर पुटिन, ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई विश्व सहमतिको राष्ट्रसंघीय आणविक अस्त्र निषेध सन्धिलाई शिघ्र हस्ताक्षर/अनुमोदन गर्न र आणविक अस्त्रको पूर्ण उन्मुलनका लागि योगदान गर्न आग्रहसहित शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र सम्बन्धित दूतावासका वरिष्ठ अधिकारीहरुलाई शान्ति समाजका प्रतिनिधिहरुले हस्तान्तरण गरेका थिए।

यस्तै, चिनियाँ राष्ट्रपति सी जिनपिङ, फ्रेन्च राष्ट्रपति इम्मान्युएल म्याक्रोन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको ज्ञापनपत्र सम्बन्धित दूतावासका अधिकारीहरुले हुलाक इमेलबाट पठाउन भनेको हुँदा सोही अनुरुप पठाइएको समाजले जननाएको छ।

यसैगरी देशका ३१ जिल्लामा ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन यहि अभियान अन्तर्गत प्रदर्शन भएको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले जानकारी दिए।

पछिल्लो चरणमा सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघ आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धि ग्रहण भई २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको हुँदा त्यसको ९० दिनपछि अर्थात २०२१ को जनवरी २२ बाट यो सन्धि लागू हुन गइरहेको छ। यो सन्धिले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन/निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ।

यो सन्धि आणविक अस्त्रको उन्मूलनतर्फ उन्मुख भएको हुँदा विश्व शान्तिका लागि कोशेढुंगो मानिएको छ। ८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो सन्धिमा नेपालले हस्ताक्षर गरेता पनि हालसम्म अनुमोदन गरेको छैन भने आणविक अस्त्र भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले अझैसम्म हस्ताक्षर/अनुमोदन गरेका छैनन् र यो सन्धि अनुमोदनका लागि अनिच्छुक देखिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .