ad ad

राजनीति


‘घूस नखाने कर्मचारी मालपोत र नापी जान नमान्दा समस्या’

‘घूस नखाने कर्मचारी मालपोत र नापी जान नमान्दा समस्या’

नेपालखबर
साउन १३, २०७६ सोमबार ११:३९,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले घूस नखाने इमान्दार कर्मचारी जोगाउन मन्त्रालयलाई गाह्रो भइरहेको बताएकी छिन्। मालपोत कार्यालय साँखुलाई आधुनिक तथा सुबिधासम्पन्न कार्यालय घोषणा गर्ने कार्यक्रममा बोल्दै सोमबार उनले राम्रा, सक्षम र निष्ठावान कर्मचारी भूमि मन्त्रालयमा आउन नमानेको यथार्थ सुनाइन्।

‘नखाने मान्छेलाई तर्साउने र निरुत्साही बनाउने काम पनि राम्रो होइन’, मन्त्री अर्यालले मालपोत र नापीमा हुने अनियमितता संकेत गर्दै  भनिन्, ‘मालपोत र नापी बद्नाम हुँदा अहिले राम्रा कर्मचारी भूमि मन्त्रालय अन्तर्गत आउनै नचाहने समस्या छ। यहाँ भएका राम्रा मान्छेलाई कसरी टिकाइराख्ने भन्ने पनि समस्या छ।’

कर्मचारीलाई निर्देशन दिँदै उनले मन्त्रालयले थालेको सुशासन स्थापनाको अभियानलाई फेल गर्नेगरी जाने कुनै पनि कर्मचारीलाई छुट नभएको चेतावनी दिइन्। भूमि मन्त्रालयका मालपोत र नापी कार्यालयहरू घूसका लागि बद्नाम छन्। यो विषयलाइ संकेत गर्दै उनले मन्त्रालय यो विषयमा गम्भीर रहेको उल्लेख गरिन्।

'सरकारले शुद्धताको अभियान सञ्चालन गरिरहेको छ। यसमा तपाई सेवाग्राही, कर्मचारी सबैले साथ दिन आग्रह गर्दुछ। हिजो जे भयो अब सुधार गरेर जाउँ’,  मालपोतमा जरा गाडेको भ्रष्टाचारतर्फ संकेत गर्दै उनले भनिन्।

मन्त्री अर्यालले मन्त्री, सचिव र विभागको स्पिडमा काम गर्न कर्मचारीलाई निर्देशन दिइन्। अहिले मन्त्रालय समग्र भूमि प्रशासनलाई व्यवस्थित गर्न लागिरहेको भन्दै त्यो स्पिडमा कर्मचारी तथा समग्र सेवाग्राहीले साथ दिनुपर्ने उनको भनाइ थियो।

'तपाईं कर्मचारीहरू मन्त्री, सचिव, विभागको स्पिडमा हिँड्नुस्। कार्यालय र सेवालाई नमुना बनाउन तपाईं कार्यालय प्रमुख र कर्मचारीहरु प्रतिस्पर्धात्मक तरिकाले लाग्नुस्', उनले भनिन्।

मन्त्रालय अहिले भूमि प्रशासन अन्तर्गतका कार्यालयहरूको श्रेस्ता स्क्यानिङको काम गरिरहेको भन्दै मन्त्री अर्यालले व्यवस्थित गरेर स्थानीय तहमा सिस्टम पठाइदिउ भन्नेतिर मन्त्रालय लागेको बताइन्।
ुनयाँ प्रविधियुक्त बनाउन सकिन्छ कि भनेर लागेका छौ। जग्गा प्रशासनसँग सम्बन्धित कार्यलाई व्यवस्थित बनाउन सकिन्छ कि भनेर हामी लागिपरेका छौु, मन्त्री अर्यालले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .