भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणका क्रममा उनीविरुद्ध कुनै गतिविधि गर्न नदिन प्रहरी आजबाट नै सक्रिय भएको छ। मंगलबार अपरान्ह सैनिक मुख्यालयमा सबै सुरक्षा निकायबीच भएको छलफललगत्तै प्रहरीले उनका विरोधीको खोजी तीब्र बनाएको हो।
बुधबार दिउँसो नरवणे काठमाडौं ओर्लनु पहिले नै त्यस्ता व्यक्तिलाई पक्राउ गर्ने प्रहरीको तयारी छ। मंगलबार अपरान्ह सुरक्षा निकायका अधिकारीबीच उनको भ्रमण तालिका र आवश्यक सुरक्षा सतर्कताका बारेमा छलफल भएको छ। भ्रमणका क्रममा प्रयोग हुने रुट तथा गतिविधिका बारेमा सेनाले सुरक्षा अधिकारीहरुलाई जानकारी गराएको छ।
उच्च सुरक्षाका लागि मंगलबार साँझबाट नै काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ। नरवणे नेपाल सम्बन्धि आफ्नै अभिव्यक्तिका कारण यहाँ विवादित छन्।
सोमबार लेखक, प्राध्यापक तथा सांस्कृतिकर्मीसहित ९३ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै नरवणेको नेपाल भ्रमण रद्द गर्न माग गरेका थिए। उनीहरुका गतिविधिलाई नजिकबाट हेरिरहेको प्रहरीले जनाएको छ।
नरवणेको भ्रमणका क्रममा कुनै समूहले सडकमा कालोझण्डा देखाउन सक्ने तथा अन्य विरोधी गतिविधि हुन सक्ने भन्दै उनी हिंड्ने सडकमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाली सेनाले नरवणे भ्रमणको क्रममा प्रयोग हुने रुटबारे सुरक्षा अधिकारीलाई मात्रै जानकारी गराएको छ।
आवश्यक परे हेलिकोप्टरबाटै आवातजावत गर्नेसम्मको तयारी रहेको सैनिक स्रोतले जनाएको छ। तर नेपाल प्रहरीको एक उच्च अधिकारीले भने नरवणेले प्रयोग गर्ने रुटबारे जानकारी आइसकेको र त्यही अनुसार तयारी गरिएको बताए।
नरवणे बस्ने होटल सोल्टीमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ। बुधबार अपरान्ह विशेष विमानमार्फत आउन लागेका नरवणे होटल सोल्टीमा चेक इन गरेपछि पशुपति दर्शनमा निस्कने छन्।
उनले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई चार वटा एम्बुलेन्स तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। यस्तै उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँगै, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन्।
नेपाली सेनाको महारथीको दर्जानी चिन्ह भने नरवणेलाई बिहीबार प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने गरिएको छ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ पुषमा भारत भ्रमणका क्रममा भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए। भारतीय सेनाप्रमुखको सम्मान भने उनकै विवादित अभिव्यक्तिका कारण पछि धकेलिएको हो।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारीगरेपछि नेपालले कसैको उक्साहटमा लागेर गरेको अभिव्यक्ति नरवणेले दिएका थिए। उक्त अभिव्यक्तिपछि उनलाई हेर्ने नजर बदलिएको छ।
तर पछिल्लो समय दुई देशबीच सम्बन्ध सुधारका प्रयास भएका छन्। भारतीय गुप्तचर ‘रअ’ प्रमुख सामन्त गोयल सेनाप्रमुखको भ्रमणको पूर्व सन्ध्यामा अकस्मात नेपाल आएका थिए।
कात्तिक ५ गते दिउँसो काठमाडौं आएका उनको भ्रमणको उद्देश्य प्रस्ट नभएपनि सेना प्रमुखको भ्रमणको लागि सकारात्मक वातावरण बनाउनु पनि रहेको आँकलन गरिएको थियो।
काठमाडौंमा गोयलले प्रधानमन्त्री ओलीसँग राति तीन घण्टा भेटवार्ता गरेका थिए।
यो पनिः
यस्तो छ भारतीय सेनाप्रमुख नरवणेको भ्रमण तालिका स् सोल्टीमा बास, पशुपति दर्शन
Shares
प्रतिक्रिया