ad ad

राजनीति


गोयलसँगको भेट प्रधानमन्त्रीले विदेशी गुप्तचर संस्थाका प्रमुखसँग समकक्षी झैं वार्ता गरेको पहिलो घटनाः श्रेष्ठ

गोयलसँगको भेट प्रधानमन्त्रीले विदेशी गुप्तचर संस्थाका प्रमुखसँग समकक्षी झैं वार्ता गरेको पहिलो घटनाः श्रेष्ठ

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ३:८,

सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने बताएका छन्।

नेकपा सचिवालयका सदस्य श्रेष्ठले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरित समकक्षी झैं औपचारिक वार्ता गरेको यो पहिलो घटना हो।’

भारतीय सेनाको विशेष विमानबाट बुधबार काठमाडौं आएका गोयलले मध्यराति प्रधानमन्त्री ओलीसँग करिब तीन घण्टा गोप्य भेटवार्ता गरेपछि सत्तारुढ र विपक्षी पार्टीबाट त्यसको चर्को विरोध भइरहेको छ भने ओली निकट नेताहरूले उनको बचाउ गर्न खोजिरहेका छन्।

शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाहकका रुपमा नेपाल आएको र प्रधानमन्त्री ओलीसँग सीमा समस्याका विषयमा भेटवार्ता गरेको बताएका थिए।

श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीले सन्देशसहित गोयललाई नेपाल पठाएको नदेखिएको बताएका छन्।

‘विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो। तर त्यस्तो पनि देखिएन’, श्रेष्ठले भनेका छन्, ‘त्यसैले गम्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग कुटनीतिक मुल्य र आचारसंहिता विपरित प्रधानमन्त्रीको यस्तो भेट किन?’

निजी विचार भन्दै श्रेष्ठले भनेका छन्, ‘यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्छ।’

RAW Narayankaji

रअ प्रमुख गोयललाई नेपाल भ्रमण गर्न उडान अनुमति दिएपनि नेपाल सरकारका कुनै पनि निकायले उनको भ्रमणबारे औपचारिक जानकारी दिएका थिएनन्।

बुधबार १ बजे काठमाडौं अवतरण गरेको गोयल नेतृत्वको नौ सदस्यीय रअको टोली २३ घण्टा काठमाडौंमा बिताएर बिहीबार बिहान १० बजे दिल्ली फर्केको थियो।

बुधबार मध्यराति प्रधानमन्त्री ओलीले बालुवाटार निवासमा निम्त्याएर गोयलसँग ३ घण्टा भेटवार्ता गरेको खबर सार्वजनिक भएपछि र गोयलको टोली दिल्ली फर्केपछि मात्रै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘शिष्टाचार भेट भएको’ भन्दै प्रेस नोट जारी गरेका थिए, जसबाट भेटवार्ता भएको औपचारिक पुष्टि भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .