ad ad

राजनीति


गंगालाल अस्पतालमा प्रधानमन्त्री ओलीको ठट्टाः म नक्कली होइन, अस्थायी बिरामी

 गंगालाल अस्पतालमा प्रधानमन्त्री ओलीको ठट्टाः म नक्कली होइन, अस्थायी बिरामी

नेपालखबर
साउन ११, २०७६ शनिबार १३:३,

 अस्वस्थताका बावजुद पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गंगालाल हृदय केन्द्रको नयाँ भवनको उद्घाटन गरेका छन्।

स्वास्थ्य अवस्था ठीक नभएका कारण नआउने भन्ने चर्चा चलिरहेकै बेला आयोजकको जोडबलका कारण अस्पताल पुगेका प्रधानमन्त्री ओलीले पौराणिक र एतिहासिक कथाबाट सुरु गरेर आफ्नै बंगारो फुक्लेको कथासम्म सुनाउन भ्याए।

शनिबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा वहिरंग सेवा सञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अस्वस्थ भएको बताउँदा बताउँदै पनि झण्डै ४५ मिनेट भाषण गरे।

शब्द चयन, विषय, प्रसंग र समय सापेक्ष उखान टुक्का मिलाएर भाषण गर्ने प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममा गंगालाल अस्पतालको स्थापनादेखि पौराणिक, ऐतिहासिक महत्व राख्ने धेरै कथाका विषयवस्तु सुनाए।

‘जमदग्नीले श्रीमतीलाई काटे। छोरा परशुरामले बुबा मैले तपाईंको आज्ञा त माने। मेरो माग पुरा गरिदिनुपर्यो। जो तपार्इंले बचन दिनुभएको थियो। मेरी आमालाई फेरि जस्ताकोतस्तै व्यूँझाईदिनोस्। अनि जमदग्नीले अपरेसन गरेर व्यूँझाईदिए। जस्ताकोतस्तै बनाईदिए’ प्रधानमन्त्री ओलीले सुनाएको पहिलो कथा हो यो।

त्यस्तै उनले सुनाएको दोश्रो कथा हो– लक्ष्मण लंकामा घाइते भए। बेहोस भए। कोमामा गए। औषधीको थलो भनेको त फेरि हिमालय पर्वत हो। जाउ हिमालयमा गएर औषधी लिएर आउ भनी हनुमानलाई भनियो र उनले औषधी बोकेर गए। लक्ष्मण ब्यूँझिए।’

प्रधानमन्त्री ओलीले तेस्रो कथा सुनाए–‘सनिको नजर पुग्नेवित्तिकै पार्वतीका छोराको शिर गायब भयो। आपत पर्यो। त्यसपछि छेउमा जे भटिन्छ त्यसको टाउको लेउ भनियो । हात्तीको टाउको ल्याएर जोडे। म्याचिङको प्रोब्लम पनि मिलाएका रहेछन् त्यत्तिबेला।’

परापुर्वकालमा चकर, आश्विनी कुमारलगायत ऋषिहरुले धन्वन्तरि आयुर्वेदको परम्परालाई अगाडि बढाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पुर्खाहरुले अन्धविश्वासमा मात्रै नभई प्रयोगको अवधारणा अघि बढाएको बताए। पुर्खाहरुले स्वास्थ्यसम्बन्धी सबै समस्याको समाधान जडीबुटीबाट नै गर्ने गरेको र स्वस्थकर जीवन बिताएको उनको भनाइ थियो। नेपालको भूगोल नै औषधी उम्रने तथा जन्मने र हुर्कने किसिमको भएको र जडीबुटीको प्रयोगमा पुर्खाहरुको असाधारण रहेको उल्लेख गर्दै उनले आधुनिक उपचार पद्धतीमा प्राप्त सफलता तीनै पुर्खाहरुको जेनेटिक मेमोरीका कारण भएको बताए।

उनले भने, ‘त्यो कल्पना असम्भव कल्पना मात्रै थिएन। पुष्पक विमान परापूर्वकालमा कल्पना गरिएको थियो। अनौठो लाग्छ। पुष्पक विमान लिएर रामलाई लिन लंका गईयो। एयरपोर्ट बनाएको थिएन। पुष्पक विमान हेलिकोप्टर झैँ ल्यान्ड गथ्र्यो र हेलिकोप्टर झैँ टेकअफ गथ्र्यो। एयरपोर्टको चाहिँ कही बर्णन पाईंदैन।’

आफ्नै बंगारा फुस्किएको कथा
ऐतिहासिक र पौराणिक कथाको वर्णनपछि प्रधानमनत्री ओलीले आफ्नै बंगारा फुस्केको रोचक कथा पनि सुनाउन भ्याए।

उनले भने, ‘म ६७ वर्ष पूरा हुन लागे। हिजो बेलुका मेरो दाहिने पट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफैँ खुस्कियो। १ सय १ वर्षमा मेरी हजुरआमाले भुटेको मकै भटमास चपाउनुहुन्थ्यो। छामेर हेरेँ। जरा पनि छैन, रगत पनि आएन। कति असक्त भएको रहेछ।

प्रधानमन्त्री ओलीले भाषणको अन्त्यमा पुग्नै लाग्दा आफू अस्वस्थ रहेको तर भाषण भने लामो गरेको स्वीकार गर्दे नक्कली बिरामी भन्ने पर्ने हो कि भन्दै ठट्टा समेत गरे।

‘कल्ले पत्याउने? स्वास्थ्य त्यत्ति राम्रो नभएर नआउने भएर सुतिराखेको थिएँ। हैन आउनून् त भनेर अलि जोड गरेपछि उठेर आएको’, उनले भने, ‘बोल्दै जाँदा लामो भएपछि यो नक्कली बिरामी हो कि क्या हो भन्ने पर्ला। यो अस्थायी बिरामी हो। नक्कली चाहिँ होइन।’

उनले गंगलाल अस्पतालले स्थापना कालदेखि अहिलेसम्म १७ हजार बिरामीको ‘ओपनहर्ट सर्जरी’ गर्न सफल भएकोमा धन्यवाद दिँदै आगामी दिनको सफलताको कामना पनि गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .