ad ad

राजनीति


नयाँ मन्त्री छान्न ओली–प्रचण्डबीच बालुवाटारमा दुई घण्टा छलफल

नयाँ मन्त्री छान्न ओली–प्रचण्डबीच बालुवाटारमा दुई घण्टा छलफल

नेपालखबर
असोज ५, २०७७ सोमबार ११:३९,

मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।

सोमबारका लागि तय गरिएको पार्टीको सचिवालय बैठक स्थगित गरेर दुई अध्यक्ष आपसी छलफलमा बसेका हुन्। नयाँ मन्त्री कसलाई बनाउने र भएका कसलाई हटाउने भन्नेबारे ओली र प्रचण्डबीच प्रधानमन्त्री निवासमा दुई घन्टा छलफल भएको थियो।

आइतबार बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्दा नाम चयन गर्ने अधिकार अध्यक्षद्वय ओलि र प्रचण्डलाई दिएको थियो।

‘आज दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन कै विषयमा छलफल भएको छ, उहाँहरुले कस्तालाई मन्त्री बनाउने भन्ने मापदण्ड तयार गरेर भोलि बस्ने सचिवालय बैठकमा प्रस्ताव ल्याउनु हुनेछ,’ सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘त्यसबारे अन्तिम निर्णय गरेर नाम टुंगो लगाउने जिम्मा उहाँहरुलाई नै बैठकले दिनेछ।’

ओलि र प्रचण्ड दुवैले मन्त्रिमण्डल पुनर्गठनको विषय छिटोभन्दा छिटो टुंग्याउन चाहेको नेताहरुको भनाइ छ।

‘संघीय मन्त्रिमण्डल पुनर्गठनपछि प्रदेश मन्त्रिमण्डल पुनर्गठन गरेर एकजना अध्यक्ष महाधिवेशनमा केन्द्रित हुनुहुनेछ भने प्रधानमन्त्री ओली सरकारको कामलाई तिब्रता दिन लाग्नुहुनेछ, त्यही भएर उहाँहरुको जोड छिटो निर्णय गरेर जाने भन्ने छ,’ प्रचण्डनिकट एक स्थायी समिति सदस्यले भने।

सोमबार दुई अध्यक्षले संबैधानिक आयोगको रिक्त पदाधिकारी नियुक्तिको विषयमा पनि छलफल गरेका छन्।

सचिवालय बैठकको अर्काे एजेन्डा संबैधानिक आयोगको नियुक्तिको विषय पनि रहेकोले कस्ता मानिसलाई आयोगमा नियुक्ति दिने एउटा मापदण्ड बनाएर भोलि (मंगलबार) बस्ने सचिवालय बैठकमा प्रस्तुत गर्नका लागि आज छलफल भएको ती नेताले बताए।

‘नामका बिषयमा अध्यक्षद्वयबीच मोटामोटी सहमति बनाउने आज प्रयास थियो, तर कति मन्त्री हटाउने भन्ने नै ठोस सहमति जुटिसकेको छैन,’ ती नेताले थपे।

आइतबारको सचिवालय बैठकमा राष्ट्रिय सभाका दुई सदस्य उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ दुबैलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव आएको थियो।

सो प्रस्तावबारे प्रधानमन्त्री ओलीले कानुनी र संबैधानिक बाध्यता भए नभएको विचार गर्नुपर्ने बताएका थिए।

यसैबीच गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सोमबार सर्बोच्च अदालतमा रिट परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .