ad ad

राजनीति


स्थायी समिति बैठकपछि मन्त्रिपरिषद् पुनर्गठन, यस्ता छन् आधार र तयारी

स्थायी समिति बैठकपछि मन्त्रिपरिषद् पुनर्गठन, यस्ता छन् आधार र तयारी

सागर न्यौपाने
साउन ३२, २०७७ आइतबार ११:४०,

दुई वर्षे कार्यकाल पूरा गरेका मन्त्रीहरुलाई परिवर्तन गर्ने एक प्रमुख आधार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी सुरु गरेका छन्।

पार्टीको विवाद सुल्झाउने समग्र विषयमा शीर्ष नेतृत्वबीच सहमति जुटे एक साताभित्रै वा ढिलोमा भदौको तेस्रो सातासम्ममा पुनर्गठन गर्ने तयारी रहेको दुवै अध्यक्षनिकट स्रोतहरुले जनाएका छन्।

नेकपाभित्र केहि महिनादेखि बल्झिइरहेको विवाद समाधानतर्फ अघि बढेपछि मन्त्रिमण्डलको पुनर्गठनका लागि पनि आधार तयार भएको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ।

शीर्ष नेताहरुबीचको विवाद साघुरिँदै गएको र प्रधानमन्त्री ओलीलाई नै पुरै कार्यकाल सरकार सञ्चालन गर्न दिनेतर्फ छलफल केन्द्रित भएपछि प्रधानमन्त्रीले सरकारलाई नयाँ रुपमा अघि बढाउने तयारी सुरु गरेका हुन्।

अब बस्ने नेकपा स्थायी समितिको बैठकलगत्तै मन्त्रीपरिषद् पुनर्गठनको प्रक्रिया अगाडि बढाइनेछ।

पार्टीभित्र चुलिएको विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएपछि स्थायी समिति बस्ने र त्यसलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमै सो हेरफेर गर्ने तयारी छ।

बालुवाटार स्रोतका अनुसार ढिलोमा तीन हप्ताभित्र पुनर्गठन भइसक्ने छ।

‘मन्त्रीमण्डल पुनर्गठन ढिलोमा भदौको तेस्रो हप्तासम्ममा भइसक्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘आज पुनर्गठन गर्ने, फेरि १० दिनपछि हटाउने वा थप्ने भन्ने हुँदैन। पार्टीभित्रको विवाद समाधान उन्मुख छ, मन्त्रीहरुबारे पनि नेताहरुबीच एक प्रकारको समझदारी भएलगत्तै पुनर्गठन हुन्छ।’

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतका अनुसार कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढ्नेछ।

‘कार्यदलको प्रतिवेदन दुई अध्यक्षलाई बुझाएपछि स्थायी समितिको बैठक बस्नेछ,’ प्रचण्डनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘सोही बैठकमा मन्त्रिमण्डलमात्रै होइन प्रदेशका मुख्यमन्त्रीहरु समेत फेरबदल गर्नेगरी छलफल हुनेछ।’

महासचिव विष्णु पौडेलको संयोजकत्वमा स्थायी समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल रहेको कार्यदल शुक्रबार गठन गरिएको थियो।

सो कार्यदलले शनिबारदेखि काम सुरु गरिसकेको छ। कार्यदलको बैठक शनिबार पौडेल निवास भैसेपाटीमा बसेको थियो।

स्रोतका अनुसार कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने तयारी गरेको छ। त्यसलाई शीर्ष नेताहरुबीचको परामर्शबाट दुई अध्यक्षले प्रस्तावको रुपमा तयार गरी स्थायी समितिमा पेश गर्नेछन्।

मोटामोटी रुपमा स्थायी समितिको बैठकमै उठेका कुराहरुलाई समावेश गरेर कार्यदलले सुझाव सहितको प्रतिवेदन बुझाउनेछ।

असार १० गतेदेखि जारी स्थायी समितिको बैठकमा पार्टीलाई विधि र प्रक्रियाको आधारमा चलाउनुपर्ने, एक नेता एक जिम्मेवारी, सरकार र पार्टी सञ्चालनको समीक्षा लगायतका विषय उठेका थिए।

स्थायी समितिको बैठकमा उठेका विषयलाई सूत्रवद्ध गरेर कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने संयोजक पौडेलको भनाइ छ।

यसकारण केही दिन लाग्नेछ पुनर्गठन गर्न
पुनर्गठनको लागि अध्यक्षद्वय ओली र प्रचण्ड मात्रै होइन अर्का वरिष्ठ नेता माधव कुमार नेपालबीच समेत समझदारी हुनुपर्ने भएकोले नाम छान्नको लागि पनि केही दिन लाग्ने संभावना रहेको नेताहरु बताउँछन्।

‘मन्त्रिपरिषद् पुनर्गठन गर्दा जातीय, क्षेत्रीय, लैङ्गिक र गुटगत् विषय मिलाउनै पर्छ, यी सबै पक्ष ध्यान दिएर त्यसबारे तयारी भइरहेको छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सबै पक्षलाई मिलाउन केही समय लाग्नसक्छ। तर, चाँडो भन्दा चाँडो गर्ने योजना छ।’

दुई वर्ष पुगेका, कार्यसम्पादन कमजोर भएका, विवादमा परेका र सामाजिक रुपमा आलोचनामा परेका मन्त्रीलाई हटाइने र नयाँलाई अवसर दिने तयारी रहेको ती नेताको भनाइ छ।

‘कार्यक्षमता देखाउन अवसरको रुपमा दुई वर्ष पर्याप्त समय हो। अब नयाँलाई पालो दिनुपर्नेछ,’ स्रोतले भन्यो।

प्रचण्ड–नेपाल पक्षका नेताहरुले पनि मन्त्रिमण्डल पुनर्गठनको बारेमा आन्तरिक छलफल अगाडि बढाएका छन्।

राज्यमन्त्री नराख्ने, मन्त्रालयको संरचना हेरफेर हुने
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अब मन्त्रीमण्डल पुनर्गठन गर्दा राज्यमन्त्री नराख्ने योजना बनाएका छन्। केहि मन्त्रालय विभाजन गर्ने र केहिलाई गाभ्ने तयारी पनि गरिएको छ।

‘राज्यमन्त्री नराख्ने र केही मन्त्रालयको संरचना परिवर्तन गर्ने विषयमा प्रधानमन्त्री छलफलमा हुनुहुन्छ,’ स्रोतले भन्यो।

उता प्रदेशका मुख्यमन्त्रीहरु समेत परिवर्तन गर्ने भएकोले त्यसबारेमा पनि अब बस्ने सचिवालय बैठकमा छलफल हुने संभावना रहेको एक सचिवालय सदस्यले बताए।

नेकपाको सचिवालय बैठक भोलि (सोमबार) बस्दैछ।

११ पटक भैसक्याे हेरफेर
२०७४ साल फागुन ३ गते ओली प्रधानमन्त्रीमा निर्वाचित भएयता मन्त्रिपरिषदमा ११ पटक हेरफेर तथा थप भइसकेको छ।

यसअघि २०७४ फागुन ११ र १४, चैत २, २०७५ जेठ १८, साउन १८, फागुन १६, २०७६ साउन १५, मंसिर ४, फागुन ५, फागुन ८ र फागुन २१ मा मन्त्रिमण्डल हेरफेर र पुनर्गठन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .