ad ad

राजनीति


क्रियाशील सदस्य संख्या नतोकिएसम्म महाधिवेशनको आचारसंहिता लाग्दैनः नेता महत (भिडियो)

क्रियाशील सदस्य संख्या नतोकिएसम्म महाधिवेशनको आचारसंहिता लाग्दैनः नेता महत (भिडियो)

नेपालखबर
साउन २५, २०७७ आइतबार १२:३४,

नेपाली कांग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले क्रियाशील सदस्यहरुको संख्या नतोकिँदासम्म महाधिवेशन सम्बन्धी आचारसंहिता नलाग्ने बताएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले केही विभागमा नेतृत्व गठन गरेसँगै विभिन्न नेताहरुले आचारसंहिताको कुरा उठाएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचनको प्रक्रिया सुरु भइसकेकाले आचारसंहिता लागू हुने तर सभापति देउवाले विभागको नेतृत्व गठन गरेर आचारसंहिता विपरित काम गरेको आरोप लगाएको छ।

सोही विषयमा सह–महामन्त्री महतले वडाहरुले सदस्यहरुको नामावली बुझापछि सभापतिले सार्वजनिक नगर्दासम्म आचारसंहिता नलाग्ने बताएका हुन्। उनले नामावली सार्वजनिक भएपछि मात्रै अचारसंहिता लाग्ने प्रष्ट पारे।

उनले भने, ‘अहिले त समायोजन नै सकिएको छैन जुन निर्वाचन समितिले जिम्मेवारी दिएको थियो अझै सकिएको छैन। सक्रिय सदस्यता टुंगो लागेकै छैन। वडाले दिएर केन्द्रीय छानविन समितिले छानविन गरेर टुंगो लगाएर पार्टी सभापतिले सही गरेर सार्वजनिक गरेपछि बल्ल मतदाता नामावली सार्वजनिक हुन्छ। राष्ट्रिय निर्वाचनमा मतदाता नामावली नै नआइकन आचार संहिता लाग्छ? लाग्दैन। त्यसकारण यो आचारसंहिताको कुरा हुँदै होइन र कहिले पनि पार्टीमा त्यो किसिमले आचारसंहिताको कुरा उठेको थिएन।’

नेता महतले पार्टी सभापति देउवा कुनैपनि किसिमले निरंकुश नभएको समेत दाबी गरे। विधानमा भएको व्यवस्था अनुरुप नै सभापतिले विभाग गठन गरेको उनले बताए। कसैलाई नसोधी, केन्द्रीय समतिमिा पनि छलफल नगरी विभागहरुको गठन गर्ने अधिकार सभापतिसँग भएपनि नेताहरुको समझदारी नभइकन बनाउँदिन भन्दा ढिलो भएको बताए। सबैको समझदारी नभइकन गठन नगर्ने बताउने नेतालाई निरंकुश मान्न नसक्ने उनको भनाई थियो।

उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवा निरंकुश भयो भन्ने कुरा कसैले पार्टीभित्र पनि बाहिर पनि पत्याउँदैनन्। किनभने विधानमा स्पस्ट व्यवस्था छ पार्टी सभापतिले विभाग बनाउने। त्यसमा कसैलाई सोध्नुु पर्दैन, केन्द्रीय समितिमा पनि ल्याउनु पर्दैन। उहाँले सबै नेताहरुको समझदारी सबैले नाउँ नदिइकन म बनाउँदिन सबैलाई चित्त बुझाउँछु भनेर गर्नुभएन भनेदेखि उहाँ निरंकुश हुनुभयो भन्ने कुरामा कुनै आधारमा छैन बरु उहाँलाई के भन्न सक्छौं भनेदेखि पार्टी सभापतिले सबै सहमति विधानले कतिपय कुरा पार्टी सभापतिलाई गर्न दिएको छ कतिपय केन्द्रीय समितिबाट पारित गर्नुपर्छ। कतिपय महासमिति महाधिवेशनमै जानुपर्छ त्यसकारण पार्टी सभापतिले आफूले पाएको अधिकार पनि प्रयोग नगरेर सहमति खोज्ने नाउँमा समयमै निर्णय नगरेर यी विभागहरु समयमै बनेको भए जुन पार्टीको आन्तरिक गतिविधिले गति लिन्थ्यो त्यो गर्नुभएन त्यसमा बरु उहाँलाई दोष दिन सक्छौं तर उहाँ निरंकुश हुनुभयो भन्ने चाहिं दोष दिन सक्दैनौं।’

उनले विभाग गठनमा कुनै विवाद गर्नुपर्ने अवस्था नभएकाले यसलाई अधिवेशन लागेको भनेर बुझ्नुपर्ने तर्क गरे। सबै पक्षको सहभागिता हुनेगरी नाम दिएमा चुनावको लागि प्रभाव पर्ने केहीपनि कुरा नहुने उनले बताए। पार्टीमा नचिनेको कार्यकर्ता र नचिनेको नेता कोहीपनि नभएकाले कुनै एउटा विषयवस्तुलाई अतिशयोक्तिपूर्ण रुपमा प्रस्तुत गर्न नहुने बताए।

‘उहाँहरु सबैले नाउँ दिदाँखेरी चुनाव प्रभाव पर्ने कुरा भएन सबैको मान्छेहरु भएपछि के चुनावको लागि प्रभाव पर्ने केहीपनि कुरा छैन। मलाई लाग्छ यो विषयलाई बहसको विषय बनाउनुपर्ने आवश्यक थिएन। पार्टीमा सबैकुरा पारदर्शी ढंगले नगरी कसैलाई पनि सुख छैन। नचिनेको कार्यकर्ता र नचिनेको नेता पार्टीभित्र छैन। त्यसो हुनाले हामीले एउटा विषयवस्तुलाई अतिशयोक्तिपूर्ण रुपमा प्रस्तुत गरेर पार्टी पंििक्तका नेता कार्यकर्ताले पत्याउनेवाला पनि छैनन्।’

बैठकमा केही विषय नउठाउने तर बाहिर चर्को भाषण गर्दै हिँडने प्रवृति पार्टीका केही नेताहरुमा देखिएको महतले बताए। त्यसैले यो विषयलाई ठूलो विषय बनाउने भन्दा पनि सबै एकीकृत भई राष्ट्रिय विषयहरुमा एकमत भए सरकारको बदमासीलाई पर्दाफास गर्ने र आन्तरिक रुपमा एकजुट भएर नेतृत्व चयन गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए।

उनले भने, ‘कतिले केन्द्रीय समितिमा मत नै नराख्ने बाहिर चाहीँ विषयवस्तुहरु उठाउने पनि हामी देखिराखेका छौं। जाहाँ नीति निर्माणको ठाउँ छ त्यहाँ उच्चारण गरेको देखिन्न। यी तमाम कुराहरु छन् त्यसकारण मलाई लाग्छ यसलाई ठुलो बहसको विषय बनाउनु भन्दा हामी सब एकीकृत भएर राष्ट्रिय विषयहरुमा पनि एकमत भएर सरकारको बदमासीलाई पर्दाफास गर्ने र आन्तरिक रुपमा पनि एकजुट भएर फेरि एउटा प्रक्रियाबाट अधिवेशनबाट नेतृत्व चयन गर्ने हाम्रो प्रक्रिया छ त्यसलाई सफल बनाउने तिर हामी सबै केन्द्रित हुनुपर्छ।’

उनले कोभिड १९ संक्रमणको उच्च जोखिमको अवस्थामा पनि निर्वाचनलाई उच्च प्राथमिकतामा राखेर फागुनमा महाधिवेशन गर्ने समय निर्धारण गरिएको बताए। कोभिडका कारण अधिवेशन गर्न चुनौति रहेको र संक्रमणको अवस्था हेरेर अधिवेशन हुने नहुने निश्चित गरिने बताए। अधिवेशन नगर्नका लागि कुनै बाहनाबाजि गर्नु उचित नहुने पनि उनले बताए।

फरक प्रसंगमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसले ठहर गरेको बताए। सरकारले लकडाउन गर्ने कुरालाई नै उपलब्धीको रुपमा लिएकाले अहिलेको स्थिति आएको महतले बताए।

उनले भने, ‘सरकारले लकडाउन गर्ने भन्दियो त्यसलाई नै उपलब्धि ठान्यो। लकडाउनको अवधिलाई तयारीको अवधिमा लिनुपर्ने समयको रुपमा प्रयोग गर्नुपर्ने सरकारले त्यो गरेन। त्यो गरेको भए अहिलेको यो स्थिति संक्रमण विस्तारित हुने स्थिति आउँदैन थियो।’

भिडयाे:

विदेशबाट सीमा मार्फत आउने नेपालीको व्यवस्थापन गर्न नसक्दा समुदायमा संक्रमण फैलने स्थिति आएको उनले बताए।

उनले भने, ‘सीमाबाट सुरुमै व्यवस्थापन गरेको भएदेखि यसलाई नियन्त्रणमा राख्न र नेपाल छुट्टै किसिमबाट प्रस्तुत हुने अवस्था हुन्थ्यो। त्यहाँ सरकार चुक्यो। क्वारेन्टिन केन्द्रहरु पुरै स्थानीय निकायहरुले जे सम्भव उनीहरुले गर्न सक्यो त्यो भन्दा केन्द्र सरकारले कुनै जिम्मेवारी बहन गरेन।’

सरकारले लकडाउनको समयलाई शक्ति संघर्ष, आन्तरिक सत्ता संघर्षमा खर्च गरेकाले पनि अहिलेको अवस्था आएको महतले बताए। सरकारको ध्यान कोरोना नियन्त्रणमा भन्दापनि भ्रष्टाचारको अवसरका रुपमा रहेकाले समस्या आएको बताए। लकडाउन खोल्ने र खोलेपछि बढ्छ भन्ने कुरामा सरकारले ध्यान नदिँदा पछिल्लो समयमा समुदाय स्तरमा संक्रमणको अवस्था देखिएको बताए। सरकार संक्रमण बढ्यो भन्ने भन्दापनि राजस्व घट्यो भन्नेमा बढी चिन्तित देखिएको उनले बताए।

उनले भने, ‘लकडाउन खोल्ने भन्नुभयो त्यसमा पनि उहाँहरुको खोलेपछि बढ्छ बढिनै रहेको थियो। अब बढ्छ भन्ने प्रति उहाँहरुको गम्भीर तयारी देखिएन। खालि आर्थिक प्रभाव प¥यो राजश्व घट्यो, राजश्व नै लकडाउन खोल्नुको मुल मनसाय देखियो। राजश्व घट्यो त्यसकारण खोलिदिने भन्ने हुँदा त्यसपछि के अवस्था आउन सक्छ त्यसलाई कसरी रोक्ने भन्ने तर्फ उहाँहरुको ध्यान गएन।’

सरकारले संक्रमण समुदायमा फैलन नदिनका लागि कन्ट्याक्ट ट्रेसिङ गर्ने र परीक्षण बढाउने काममा ध्यान नदिएको बताए। त्यस्तै अस्पतालको प्रवन्ध बढाउने, आइसोलेसनको संख्या थप्ने, जनशक्तिको व्यवस्थापन गर्ने विषयमा ध्यान नदिएकाले जटिलता बढेको बताए।

उनले भने, ‘ट्रेसिङ र सर्भिलेन्सको आधारमा परीक्षण भइराखेको छैन। संख्यापनि अत्यन्त सिमित छ। व्यापक रुपमा गर्नुपर्‍यो र त्यसको आधारमा कुन ठाउँमा बढी प्रभाव देखिएको छ त्यसलाई आइसोलेट गर्नुपर्‍यो यी कुराहरुमा सरकार चुकिराखेको छ। हामी चाहन्छौं सरकार सुध्रिओस् तर सरकार सुध्रिने अवस्था मैले देखेको छैन। सुध्रिने छाँटकाँट छैन उहाँहरुको आफ्नै दुनियामा रमाइरहनु भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .