ad ad

विचार


अर्बपतिहरुलाई धन थुपार्ने मौका बन्यो कोरोना महामारी

अर्बपतिहरुलाई धन थुपार्ने मौका बन्यो कोरोना महामारी

रोबर्ट राइख
साउन २५, २०७७ आइतबार १२:५६,

कोरोना भाइरस महामारी सुरु भएयता अमेरिकी अर्बपतिहरुले ठूलो नाफा कमाइरहेका छन्। ५ करोडभन्दा बढी अमेरिकीले बेरोजगार बिमाका लागि आवेदन दिँदै गर्दा अर्बपतिहरुको सम्पत्तिमा भने ६ सय ३७ अर्ब डलर रकम थपिएको छ। फेसबुकका मार्क जुकरवर्गको सम्पत्ति ५९ प्रतिशतले वृद्धि भएको छ भने अमेजनका जेफ बेजोसको ३९ प्रतिशत। वालमार्टको मालिक वाल्टन परिवारको सम्पत्तिमा २५ अर्ब डलर थपिएको छ।

ठूला औषधि कम्पनीका कार्यकारी प्रमुखहरु र तिनका लगानीकर्तालाई पनि राम्रो नाफा आइरहेको छ। महामारी सुरु भएयता ठूला औषधि कम्पनीहरुले २ सय ५० भन्दा बढी औषधिको दाम बढाएका छन्। जसमध्ये ६१ वटा त कोभिड–१९ कै उपचारका लागि प्रयोग हुन्छन्।

तिनका समर्थकहरु भन्न सक्छन्– यो ‘खुला बजार’ हो। माग र आपूर्तिको नियमले मूल्य निर्धारण गर्छ। यी ठूला प्रविधि तथा औषधि कम्पनीहरुले महामारीको समयमा उपभोक्तालाई अत्यावश्यक सेवा र सामग्री उपलब्ध गराइरहेका छन्।

तर, कानुनले त संकटको समयमा नाफाखोरी, मूल्यवृद्धि, एकाधिकारमाथि प्रतिबन्ध पनि लगाएको छ। त्यस्तै ठूलो नाफामा कर लगाउने कानुन पनि छ। बजार यिनै कानुनमातहत सञ्चलित हुन्छ। तर, यी कानुन अहिले कहाँ गए? ट्रम्प प्रशासनले यी कानुन नै लागू गरेन।

कम्पनीहरुको भित्री सूचनाको व्यापार प्रतिबन्धित गर्ने कानुनलाई पनि ट्रम्पले बेवास्ता गरिरहेका छन्। ह्वाइट हाउसले गिनेचुनेका कर्पोरेसनहरुलाई अनुदान र ऋणस्वरुप अर्बौँ डलर वितरण गरिरहेको छ। यसबाट सीईओ र बोर्डहरुले ठूलो नाफा कमाउने मौका पाएका छन्। सरकारी अनुदान घोषणा हुनुभन्दा ठिकअघि तिनैले धेरै सेयर किन्छन् र अनुदान सम्झौता हुनेबित्तिकै सेयरको मूल्य आकासिन्छ।

न्युयोर्क टाइम्सले गरेको एक विश्लेषणअनुसार यस्ता घोषणापछि कम्तीमा ११ कम्पनीका भित्रियाहरुले १ अर्ब डलरभन्दा बढीको सेयर बेचेका छन्।

जुन महिनाको अन्तिममा सान फ्रान्सिस्कोस्थित भ्याक्सआर्ट नामक कम्पनीले घोषणा ग¥यो– ट्रम्प प्रशासनले यो कम्पनीलाई कोरोनाविरुद्धको खोप निर्माणका लागि छनोट गरेको छ। त्यसको केही साताअघि मात्रै कम्पनीका उच्च पदमा रहेकाहरुलाई बाँडिएको सेयरको भाउ ६ गुणा वृद्धि भयो। भ्याक्सआर्टका सीईओको सेयर स्वामित्व ४३ लाखबाट बढेर २ करोड ८० लाख नाघ्यो।

मासाचुसेट्सको क्याम्ब्रिजस्थित मोडर्ना कम्पनीले हालसम्म एउटा पनि खोप बनाएर बजारमा ल्याएको छैन। तर, अप्रिलको अन्तिममा ट्रम्प प्रशासनले सो कम्पनीलाई कोरोनाविरुद्धको खोप निर्माणका लागि छनोट ग¥यो र ४७ करोड डलर अनुदान दियो। त्यसपछि सो कम्पनीका हिस्सेदारहरुले २४.८ करोड डलरको सेयर बेचिसकेका छन्। मोडर्नाको खोप बनाउन करदाताको ठूलो रकम लगानी भएको छ। तर, खोप बनेपछि त्यसलाई नाफाका लागि बेच्ने सो कम्पनीको योजना छ।

सबैभन्दा अचम्मको सम्झौता त अर्को छ– क्यामरा र त्यससम्बन्धी सामान बनाउने पुरानो र निकै कमजोर भइसकेको कम्पनी हो कोडाक। जुलाई २८ मा सो कम्पनीलाई औषधि उत्पादनका लागि सरकारले ७६ करोड डलर ऋण उपलब्ध गराउने घोषणा ट्रम्पले गरे। यसलाई उनले ‘अमेरिकी औषधि उद्योगको इतिहासमै सबैभन्दा महत्वपूर्ण सम्झौतामध्ये एक’ घोषित गरे। तथापि कोडाक औषधि उद्योग नै होइन।

यो घोषणा हुनुअघि कोडाकले कम्पनीका उच्च पदस्थहरुलाई २ लाख ४० हजार डलरका दरले सेयर हस्तान्तरण गरेको थियो। घोषणाको एक दिनअघि मात्र यसका सीईओलाई झण्डै ११ लाख डलरको सेयर दिइएको थियो। ट्रम्पले ऋण दिने घोषणा गरेलगत्तै कोडाकको सेयर २७५७ प्रतिशतले वृद्धि भयो। अचानक निर्देशकहरुको सेयरको मूल्य ४० लाख र सीईओको सेयरको मूल्य ५ करोड पुग्यो।

यस्तो खालको भित्री व्यापार कानुनविपरीत होइन त? अवश्य पनि। अहिले सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले यो सम्झौतामाथि छानबिन गरिरहेको छ र यसलाई तत्कालका लागि स्थगनमा राखिएको छ। तर, सो कमिसनका सहनिर्देशक स्टिभन पिकिन, जसले कोडाकसहित ह्वाइट हाउस र कर्पोरेट हाउसका भित्रियाहरुबीच भएका अनेकौँ सम्झौताहरुको छानबिन गरिरहेका थिए, ले गतसाता अचानक राजीनामा दिए। त्यसको कारण पनि उनले दिएका छैनन्।

यति कुरा चाहिँ प्रस्ट छ– ट्रम्प र उनका समर्थकहरुले अमेरिकीहरुलाई प्रतिसाता ६ सय डलर बेरोजगार भत्ता भने दिने छैनन्। जबकि करोडौँ अमेरिकीलाई महामारीबाट बच्न सो रकम आवश्यक छ। किनभने ट्रम्प र रिपब्लिकन पार्टी सो रकम दिए मानिसहरुको काम गर्ने उत्साह कम हुन्छ भन्ने विश्वास गर्छन्। तथापि अवैध रुपमा अर्बपतिहरुलाई महामारीको फाइदा उठाउन दिँदा चाहिँ उनलाई कुनै समस्या छैन। सेयर बजार उकालो लागुन्जेल आफूहरुले अमेरिकी अर्थतन्त्रलाई मद्दत पु¥याइरहेको विश्वास उनीहरुलाई छ।

यो पूरै बकवास हो। सेयर बजार अमेरिका होइन। अमेरिकीहरुको स्वामित्वमा रहेको जम्मा सेयरमध्ये आधाभन्दा बढी सबैभन्दा धनी एक प्रतिशतको हातमा छ। सबैभन्दा धनी १० प्रतिशतको हातमा ९२ प्रतिशत सेयर छ। सेयरको मूल्य लगातार वृद्धि भएको वर्षौँ भयो। तर, त्यसको मुख्य कारण हो–सामान्य कामदारको ज्याला खोसेर नाफामा वृद्धि गरिनु।

यो सन् १९३० को दशकको महामन्दीपछिको सबैभन्दा ठूलो आर्थिक संकट हो। तर, सेयर बजार महामारी सुरु हुनुअघि जहाँ थियो, लगभग त्यहीँ आइपुगिसकेको छ। ठूला कर्पोरेसन र लगानीकर्तालाई कुनै समस्या छैन। अर्बपतिहरु हालसम्मकै तीव्र गतिमा मुनाफा कमाइरहेका छन्। तर, धेरैजसो अमेरिकी चाँडोचाँडो डुबिरहेका छन्।

जे भइरहेको छ, त्यो अनुचित मात्र होइन, गैरकानुनी पनि छ।

 (द गार्जियनबाट। अमेरिकाका पूर्व श्रममन्त्री रोबर्ट राइख युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक हुन्। उनको ‘द सिस्टमः हु रिग्ड इट, हाउ वी फिक्स इट’ किताब यसै वर्ष प्रकाशित छ)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .