ad ad

राजनीति


ओलीले जबज मान्नुपर्छ भनेपछि प्रचण्डको प्रश्न : म अध्यक्ष, प्रधानमन्त्री बन्न पहिला एमाले पस्नुपर्ने?

ओलीले जबज मान्नुपर्छ भनेपछि प्रचण्डको प्रश्न : म अध्यक्ष, प्रधानमन्त्री बन्न पहिला एमाले पस्नुपर्ने?

सागर न्यौपाने
साउन ९, २०७७ शुक्रबार १६:११,

साउन २ गते बालुवाटारमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटा प्रस्ताव राखे।

‘पार्टीमा डेडलक आयो, अर्ली महाधिवेशन गरौं। सबै मतभेद त्यहाँबाट समाधान गरौंला, प्रधानमन्त्रीको पूरा कार्यकाल म चलाउँछु, बाँकी नेतृत्वको विषयमा छलफल गरौंला,’ ओलीको भनाइ थियो।

शुक्रबार खुमलटारमा केही केन्द्रीय सदस्यहरुसँगको कुराकानीमा प्रचण्डले ओलीको प्रस्तावबारे खुलासा गरे। ओलीबाट आएको चाँडै महाधिवेशनको गर्ने प्रस्ताव आफूले स्वीकार गरेको पनि प्रचण्डले बताए।

‘मैले हुँदैन भन्न सकिनँ। महाधिवेशन गर्ने कुरा त के भयो र, स्थायी कमिटीका साथीहरुसँग राखौं। उहाँहरुले मान्नुभयो भने लिएर जान सकिन्छ, छलफल गरौं भनेँ,’ प्रचण्डको भनाइ उधृत गर्दै नेकपाका एक नेताले नेपालखबरसँग भने।

अध्यक्षद्वयबीचको यही समझदारी अनुसार साउन ३ गतेको सचिवालय बैठकमा ओली मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखे।

बैठकमा ओलीको प्रस्तावमा प्रचण्ड चुपचाप देखेपछि वरिष्ठ नेता माधव नेपाल झस्किए।

उनले तुरुन्तै भने, ‘दुई अध्यक्षबीच मात्र चोचोमोचो मिलाएर अहिलेको विवाद समाधान गर्न खोजिए म त्यसविरुद्ध राष्ट्रव्यापी अभियान चलाउँनेछु।’

सचिवालय बैठक विनानिष्कर्ष सकियो।

ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर यही सहमति गर्न शीतल निवास गए। महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि त्यहाँ पुगेका थिए।

तर, सहमतिमा हस्ताक्षर हुनुभन्दा अघि ओलीले प्रचण्डसामु अर्को प्रस्ताव तेर्स्याए।

‘महाधिवेशनबाट तपाईं अध्यक्षपनि हुनुस् म प्रस्ताव लैजान्छु, अर्काे निर्वाचनपछि पाँच वर्ष प्रधानमन्त्री पनि हुनुस्,’ ओलीले प्रचण्डलाई भने, ‘तर, पूर्वएमालेतर्फको सेन्टिमेन्ट राख्नलाई तपाईंले एउटा सानो कुरा मान्नुपर्छ।’

त्यो भनेको के हो भनी प्रचण्डले जिज्ञासा राखे।

जवाफमा ओलीले भने, ‘तपाईंले जबज बोक्नुपर्छ।’

‘त्यसो भए यो कुरा नगरौं,’ प्रचण्डले भने, ‘तपाईंले भनेअनुसार पहिला म एमालेमा प्रवेश गरेर अध्यक्ष र प्रधानमन्त्री हुनुपर्ने हो?’

एमाले र माओवादी केन्द्र विघटन गरेर नेकपा बनाइसकेको, कार्यदिशा पनि जनताको जनवाद भनेर तय गरिसकेको अवस्थामा फेरि एमालेतर्फ लैजाने यो प्रस्ताव आफूले नमान्ने प्रचण्डले स्पष्ट पारे।

शुक्रबार बिहान पनि बालुवाटारमा छलफलका लागि पुगेका प्रचण्डलाई ओलीले जबजकै प्रसंग उठाएका थिए।

‘म १३ गते बोलाइएको बैठकलाई कसरी लैजाने भन्ने छलफल गर्न गएको थिएँ,’ प्रचण्डले केन्द्रीय सदस्यहरुसँग भने, ‘ओलीजीले फेर संगठनको नेता हुने हो भने पूर्वएमालेको विचार बोक्नुपर्ने कुरा दोहो¥याउनुभो, त्यसलाई मैले स्वीकार गरेको छैन।’

ओलीले जबजको सर्त दोहो¥याएपछि प्रचण्ड थप असन्तुष्ट भएका छन्।

बालुवाटारमा ओलीसँगको भेट लगत्तै ललितपुरमा आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै प्रचण्डले सो असन्तुष्टि पोखे।

उनले पार्टीमा देखिएको गुटगत प्रवृत्ति र विचारमा देखिएको विवादका कारण पार्टी नै गम्भीर संकटमा रहेको बताए।

ओलीले प्रचण्डलाई जबज मान्न गरेको आग्रहप्रति संकेत गर्दै प्रचण्डले त्यसले पार्टी नै विभाजनतर्फ जाने चेतावनी दिए।

‘हामीले राजनीतिक कार्यदिशाको रुपमा समाजवादउन्मुख जनताको जनवाद भन्यौं, तर अहिले फेरि पछाडि फर्कन खोजेको देखिन्छ,’ कार्यक्रममा प्रचण्डले भने, ‘अहिले फेरि कसैले माओवाद जिन्दावाद वा कसैले जनताको बहुदलीय जनवाद जिन्दावाद भन्यो भने पार्टी विभाजनतर्फ गएको देखिन्छ।’

ओलीसँग खटपट परेकै बेला प्रचण्डले माधव नेपालसँग एउटै कार्यक्रममा उपस्थित भई ओलीप्रति आक्रोश व्यक्त गरे।

उनले ओलीकै सक्रियतामा एमाले पार्टी दर्ता गराउन खोजिएको आरोप समेत लगाए। पार्टीका बैठक गर्न नै हम्मे परेको उनको गुनासो थियो। सोही कार्यक्रममा उनले पार्टीभन्दा सत्ता हावी भएको र सामूहिक निर्णयभन्दा व्यक्तिवादी चरित्र देखिएको समेत बताए।

सोही कार्यक्रममा वरिष्ठ नेता नेपालले नेकपा फुटाउने कसैको प्रयास सफल नहुने बताउँदै कसैले फुटाउन चाहे चोइटिने र एक्लिने बताए।

सो कार्यक्रममा प्रचण्ड र नेपालले एउटै आशयको धारणा व्यक्त गरे।

सोही कार्यक्रममा भेला भएका केन्द्रीय सदस्यलगायत नेताहरुको एउटा समूह प्रचण्ड निवास खुमलटार पुगेको थियो। सो समूहलाई प्रचण्डले ओलीका सर्त मान्न आफू तयार नरहेको प्रस्ट्याएका हुन्।

त्यसपछि नेपालको आशंका मेटियो
साउन ३ गतेको सचिवालय बैठकमा ओली–प्रचण्डबीचमा चाँडै महाधिवेशनमा जाने सहमति भएको आशंकाका कारण नेपाल प्रचण्डसँग झस्केका थिए। उनले ओली–प्रचण्डबीच गोप्य सहमति नै भएको हुनसक्ने अनुमान गरेका थिए।

तर, शीतलनिवासमा ओलीसँगको भनाभैरीपछि प्रचण्डले कुनै सहमति नभएको भन्दै आफ्नो सचिवालयमार्फत विज्ञप्ति जारी गरे।

त्यसको भोलिपल्टै प्रचण्डले माधव नेपालसँग भेट्ने तय भयो। अघिल्लो दिन झस्केका नेपाल एक्लै होइन स्थायी कमिटीका प्रभावशाली नेताहरुको टोलीसहित खुमलटार पुगे। त्यो भेटमा प्रचण्डले आफ्नो ओलीसँग कुनै सहमति नभएको भनी नेपाललाई आश्वस्त हुन आग्रह गरे। त्यसयता प्रचण्ड र नेपाल नियमित रुपमा संवादमा छन्। उनीहरुले व्यक्त गरेको विचारमा समेत एकरुपता देखिएको छ।

शुक्रबार दुवै नेता एकैसाथ दुई कार्यक्रममा सहभागी भए। नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवसमा उनीहरु उपस्थित भए। त्यसपछि दुवैजना सँगै पुष्पलाल स्मृति दिवसको कार्यक्रममा पनि सहभागी भए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .