राष्ट्रिय जनमोर्चाले बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष तिलक पुन र सदस्य तिलबहादुर फगामी र गनबहादुर फगामीलाई पार्टीबाट निष्काशित गरेको छ।
खोलामा राहत सामग्री बगाएको आरोपमा उनीहरुमाथि कारबाही गरिएको राजमो अध्यक्ष चित्रबहादुर केसीले स्पष्ट पारेका छन्।
यही असार १३ गते बाग्लुङका विपन्न परिवारलाई बाँड्न लगिएको करिब एक लाख रुपैयाँको राहत सामग्री वडाअध्यक्ष पुनको निर्देशन र फगामीद्वयको संलग्नतामा खोलामा बगाउनुका साथै दुई जनालाई कुटपीट गरी घाइते बनाएका थिए। प्रवासी नेपालीले आफ्नो गास काटेर विपन्न वर्गका लागि विदेशबाट पठाएको राहत खोलामा बगाएर आपराधिक कार्य गरेकाेले कारबाही गरिएकाे अध्यक्ष केसीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
वडाअध्यक्षसहित ति दुई जना यसअघि पनि गाउँमा कुटपीट गरेको घटनामा संलग्न भएकाले अनुशासनको कारबाहीमा रहेको बताइएको छ।
राजमो बाग्लुङले घटनाबारे छानबिन गरी पठाएको प्रतिवेदनका आधारमा तीनै जना दाेषी देखिएकोले कारबाही गरिएको अध्यक्ष केसीले मंगलबार विज्ञप्तिमार्फत जनाएका छन्।
प्रतिक्रिया