ad ad

राजनीति


‘बैठकमा ओलीको अनुपस्थिति अराजनीतिक संस्कार’

‘बैठकमा ओलीको अनुपस्थिति अराजनीतिक संस्कार’

नेपालखबर
असार १२, २०७७ शुक्रबार १२:४१,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएकोमा पार्टी बैठककै बेवास्ता गरेको भन्दै सदस्यहरुले अध्यक्ष ओलीको आलोचना गरेका छन्।

स्थायी कमिटीको शुक्रबारको बैठकमा सदस्यहरुले अध्यक्ष ओलीको अनुपस्थितिको विषयलाई गम्भीररुपमा उठाएका छन्।

अध्यक्ष ओली बैठकमा नदेखिएपछि अधिकांश सदस्यहरुले त्यस विषयमा प्रश्न गरेका हुन्।

सदस्यहरुले माघमा भएको केन्द्रीय कमिटी बैठकमा पनि अनुपस्थित रहेका प्रधानमन्त्री ओलीले अहिलेको स्थायी कमिटीलाई पनि बेवास्ता गरेको रुपमा अर्थ्याएका थिए।

‘धेरै सदस्यले बोल्ने क्रममा प्रधानमन्त्री अनुपस्थित भएको विषयलाई उठाउनु भएको थियो,’ स्थायी कमिटी सदस्य गणेश साहले नेपालखबरसँग भने, ‘अध्यक्ष ओलीलाई नदेखेपछि केहीले यो पार्टीको बैठक हो की गोष्ठी हो भनेर प्रश्न समेत गर्नुभएको थियो।’

बैठकमा महासचिव विष्णु पौडेलले अध्यक्ष ओलीले आफू जरुरी काममा परेकाले अध्यक्ष प्रचण्डको नेतृत्वमा बैठक गर्न सन्देश पठाएको जानकारी गराएका थिए।

अध्यक्ष प्रचण्डले पनि त्यस विषयमा बैठकमा जानकारी गराएका थिए।

‘वालुवाटारमा बैठक राखेकै प्रधानमन्त्रीलाई सहज होस् र उहाँले पनि कुरा सुन्नुहोस भनेर हो,’ स्थायी कमिटी सदस्य शाहले भने, ‘महत्वपूर्ण बैठकमा यसरी अनुपस्थिति हुनु राजनीतिक संस्कार होइन।’

शुक्रबारको बैठकमा बोल्ने १८ जना स्थायी कमिटी सदस्यमध्ये अधिकांशले त्यसबारे बोलेका थिए।

सदस्यहरुले प्रधानमन्त्री ओलीले बैठकको संवदेनशीलतालाई ख्याल नगरेको वा महत्व नदिएको ठहर गरेका थिए।

याे पनि: स्थायी समितिमा नेकपा नेताहरुको माग : भारतसँग सीमा सिल गरौँ

एजेण्डा परिवर्तन
बुधबार भएको बैठकले निर्धारण गरेको एजेण्डाको पहिलो नम्बरमै कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका विषयमा छलफल हुने कार्यक्रम थियो।

सरकारमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कामको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले बोल्ने विषय र त्यसबारे तथ्यांक नआएको भनेपछि बैठकको एजेण्डा नै परिवर्तन गरिएको थियो।

त्यसपछि सीमा समस्या र समाधानको विषयलाई पहिलो एजेण्डामा राखेर सोहिअनुसार छलफल अगाडी बढाइएको थियो।

बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतसँग सीमा बिवादसम्बन्धी घट्नाक्रम र त्यसबारे भएका विकासक्रमबारे जानकारी गराएका थिए।

ज्ञवाली र कृषि मन्त्री घनश्याम भुसालले चीनले सीमा मिचेको भन्ने कुरा सत्य नभएको जानकारी गराएका थिए।

याे पनि: नेकपा बैठक : भारत र चीनसँगको सीमा समस्याबारे छलफल, ‘चीनले सीमा नमिचेको’ जानकारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .