ad ad

राजनीति


जितेन्द्र देवलाई वेदुरामको प्रश्न : भारतसँग नेपाल जोडिएन भनेर मुठभेड गर्नुहुन्छ?

जितेन्द्र देवलाई वेदुरामको प्रश्न : भारतसँग नेपाल जोडिएन भनेर मुठभेड गर्नुहुन्छ?

नेपालखबर
असार ९, २०७७ मंगलबार ७:९,

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद वेदुराम भुसालले स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुठभेड गर्नुपर्ने कारण के छ भन्दै प्रश्न गरेका छन्।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै भुसालले नेपाल आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भन्दा मुठभेड गर्ने कारण के छ भन्दै कांग्रेसलाई प्रश्न गरे।

सोमबारको बैठकमा कांग्रेस सांसद जितेन्द्र नारायण देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै उनले भने, ‘राजनीतिक दुर्घटना निम्त्याउने भनिएको छ, के का लागि दुर्घटना निम्त्याउने? के भारतसँग जोडिएन नेपाल भनेर? के भारतको छोटेभाइ भएन नेपाल भनेर?’, उनले भने, ‘हामीले हाम्रो आफ्नो स्वतन्त्र कानुन बनाउँदा मुठभेड गर्ने कारण के छ? नेपालले आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भन्दा मुठभेड गर्ने?’

समितिले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान राखेपछि कांग्रेस सांसद देवले नेपाललाई चीनको झोलामा राख्न खोजिएको, साम्प्रदायिक दंगा भड्काउन खोजेको, भारतसँगको सम्बन्ध तोड्न खोजेको प्रतिक्रिया दिएका थिए। आजको बैठकमा भुसालले देवको भनाइको खण्डन गर्दै भारतले सात वर्षसम्म बसेपछि मात्रै नागरिकताका लागि आवेदन दिनसक्ने कानून बनाउने त्यही अनुसारको व्यवस्था नेपालमा हुँदा के भिन्नता भयो भन्दै प्रश्न गरे।

अंगीकृत नागरिकता प्राप्त नगर्दा राजनीकि र प्रशासनिक अधिकार प्राप्त नहुने उल्लेख गर्दै उनले स्थायी अवासीय अनुमति दिने व्यवस्था गरिएपछि सांस्कृतिक अधिकारमाथि कसरी आक्रमण हुन्छ भनि प्रश्न गरे।

उनले भने, ‘सांस्कृति आक्रमण भनिएको छ, के भनेको हो ? अंगीकृत नागरिकता प्राप्त गर्दा त्यो नागरिकले प्राप्त गर्ने भनेको राजनीतिक अधिकार हो त्यही प्रतिनिधिसभाको समितिले भनेको छ। स्थायी आवासीय अनुमतिपत्र प्रदान गर्ने छौँ’, उनले भने, ‘त्यसैमा राजनीतिक अधिकार बाहेक अधिकार हुनेछन् भनेको छ। यस्तो हुँदा कहाँबाट सांस्कृति आक्रमण हुन्छ? राजनीतिक अधिकार दिएमात्रै सांस्कृति अधिकार प्राप्त हुन्छ भन्न खोजिएको हो?’

 देवले चीनको झोलामा नेपाललाई राख्न खोजिएको भन्दै दिएको अभिव्यक्तिको पनि उनले खण्डन गरे। भारतसँगजस्तै चीनसँग पनि प्राचीन कालदेखिको सम्बन्ध रहेको उनले बताए। ‘भारतसँगको सम्बन्ध कट गर्दै चीनको झोलामा जाने भनेर के भन्न खोजिएको हो? के भारतको झोलामा जान खोजिएको हो त? नेपाल सधैँभरी भारतको चंगुलमा बस्नुपर्छ भन्न खोजिएको हो? नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा नेपाललाई भारतबाट टाढा बस्न खोजिएको भनिन्छ?’, उनले प्रश्न गरे, ‘के यस्ता अभिव्यक्तिलाई जहिले पनि नेपाललाई भारतको अधिनस्त बनाउने खोजिएको हो किन नभन्ने ? भारतीय नागरिकसँग विवाह गरेको कुनै पनि व्यक्तिले निरन्तर ७ वर्षसम्म बसेपछि नागकिरताका लागि आवेदन गर्न सक्ने भनेको छ। हामी पनि त्यही गर्दै छौँ के भिन्नता भयो?

उनले राजनीतिक अभीष्ट पूरा गर्नका लागि निराधार र कपोकल्पित तर्क नगर्न पनि आग्रह गरे। उनले भुटानमा १० वर्ष, श्रीलंकामा ७ वर्ष माल्दिभ्समा १२ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान रहेको समेत स्मरण गराए। नेपालले भारतबाट विवाह गरेर आउने महिलाका लागि मात्रै कानून नबनाएको उल्लेख गर्दै उनले अन्य मुलुकबाट विवाह गरेर आउने महिलाहरुमा पनि यो कानून आकर्षित हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .