ad ad

राजनीति


कोरोना नियन्त्रणका लागि नेपाललाई तत्काल सहयोग गर्न चीन तयार

कोरोना नियन्त्रणका लागि नेपाललाई तत्काल सहयोग गर्न चीन तयार

सागर न्यौपाने
असार ५, २०७७ शुक्रबार १५:६,

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का नेताहरुले सी चिनफिङ विचारधारा लागू गर्दा आफ्नो देशमा सुशासन र मितव्ययिता अपनाउन सकिएको अनुभव सत्तारुढ नेकपाका नेताहरुलाई बाँडेका छन्।

सीसीपी ९९ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार दुई मुलुकका कम्युनिस्ट पार्टीका नेताहरुबीच भिडियो कन्फ्रेन्स आयोजना गरिएको थियो।

सो क्रममा पार्टी सञ्चालन, सुशासन र कोरोना रोकथामबारे छलफल भएको नेकपा नेता गोपी अछामीले जानकारी दिए।

‘चीनमा कसरी पार्टी कमिटी र सदस्यहरु चल्छन् भनेर प्रदेशका अध्यक्षहरुले जिज्ञासा राख्नुभयो,’ अछामीले भने, ‘त्यसको जवाफ दिँदै चिनियाँ नेताहरुले सुशासन र मितव्ययितासम्बन्धी सीका विचार कार्यान्वयन गर्दा सबै कुरा व्यवस्थित भएको जवाफ दिनुभयो।’

सन् २०१७ को सीसीपीको १९ औँ राष्ट्रिय सम्मेलनमा पहिलो पटक सी चिनिफिङ विचारधारालाई सूत्रबद्ध रुपमा अघि सारिएको थियो।

२ घण्टाभन्दा लामो समय चलेको अन्तर्क्रियामा नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्कुल विभाग प्रमुख ईश्वर पोखरेलसहित झण्डै ७० जना सहभागी थिए। हरेक प्रदेशका अध्यक्ष र इन्चार्जसहित १० जनाका दरले सहभागी भएका थिए।

सीसीपका तर्फबाट अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख सङ ताओ र तिब्बत कमिटीका सचिव यु याङजेसहितका नेताहरु सहभागी थिए। १५ समूह बनाएर गरिएको छलफलमा दुवैतर्फबाट करिब एक सय जना सहभागी थिए।

नेकपाको स्कुल विभाग र सीसीपीको अन्तर्राष्ट्रिय सम्पर्क विभागले अन्तर्क्रियाको आयोजना गरेको थियो।

अन्तर्राष्ट्रिय गीत बजाएर अन्तर्क्रियाको सुरुवात गरिएको थियो। आजैका दिन नेकपा र सीपीसीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको ६५ वर्ष पनि पूरा भएको छ।

‘चीनका तर्फबाट सङले सी चिनफिङ विचारधाराबारे ब्रिफिङ गर्नुभयो,’ अछामीले भने, ‘हाम्रो तर्फबाट अध्यक्ष प्रचण्ड र ईश्वर पोखरेलले धारणा राख्नुभयो।’

छलफलमा अध्यक्ष प्रचण्डले कुनै पनि सैन्य गठबन्धनसँग जोडिएको आर्थिक सहायता नलिने स्पष्ट पारेका थिए।

त्यस्तो सहयोग सुरक्षा गठबन्धनसँग जोडिए नेपालको संविधानसँग बाझिने भएकाले सहयोग स्वीकार गर्न नसकिने प्रचण्डले बताएको नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्माले जानकारी दिए।

‘नेपालले असंलग्न नीतिलाई अंगिकार गर्दै आएको छ। त्यसैले मित्र राष्ट्रहरुबाट नेपालको विकासमा दिइने सहयोगले नेपालको सार्वभौम स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गर्ने भए मात्र स्वीकार गरिन्छ,’ प्रचण्डले भनेका थिए, ‘नेपाल कम्युनिस्ट पार्टी आफ्नो परराष्ट्र नीति सञ्चालन गर्दा यो तथ्यप्रति पूर्णरुपमा सचेत छ।’

सीसीपीका तिब्बत सचिव युले हिमालय क्षेत्रको अन्तरदेशीय सम्पर्क सञ्जाल बनाउन दुवै देश मिलेर काम गर्न प्रस्ताव गरेका छन्।

प्रचण्डले त्यसमा समर्थन जनाउँदै ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कको माध्यमबाट हिमालय वारपार एउटा साझा भविष्यसहितको समुदाय विकास गर्न सकिने बताए।

कोरोना रोकथामका लागि जस्तोसुकै सहयोग गर्न तयार छौँः सङ
छलफलको धेरैजसो हिस्सा कोरोना महामारी रोकथामको विषयले ओगटेको विश्वकर्माले बताए।

‘उहाँहरुले कोरोना नियन्त्रण कसरी भयो भन्ने विषयमा उहाँहरुको देशको अनुभव सुनाउनुभयो,’ विश्वकर्माले भने, ‘हाम्रोमा नियन्त्रणका लागि भइरहेको प्रयासबारेमा चासो राख्नुभयो। त्यसबाहेक दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र पार्टी सम्बन्धको बारेमा धारणा राख्ने काम भयो।’

नेपालको कोरोना सक्रमण रोक्न चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएको अछामीले जानकारी दिए।

‘नेपाल सरकारले आवश्यक ठानेको खण्डमा कोरोना नियन्त्रणका लागि आर्थिक, भौतिकदेखि अन्य जस्तोसुकै सहयोग गर्न तयार रहेको सङ र युले बताउनुभयो,’ अछामीले भने, ‘नेपाल सरकारले माग गरेको खण्डमा त्यो सहयोग तत्काल सुरु गर्ने उहाँहरुको भनाइ थियो।’

यसका अलावा सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रुपमा सार्वजनिक गर्ने विषयमा समेत छलफल भएको थियो।

त्यस्तै, राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा भएका सहमतिहरुको समीक्षा पनि गरिएको विश्वकर्माले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .