ad ad

राजनीति


गणतन्त्रको प्रतिफल प्राप्त गर्न शासनसत्तामा बस्नेलाई घच्घच्याउनुहोस् : राष्ट्रपति पौडेल

गणतन्त्रको प्रतिफल प्राप्त गर्न शासनसत्तामा बस्नेलाई घच्घच्याउनुहोस् : राष्ट्रपति पौडेल

नेपालखबर
असोज ६, २०८१ आइतबार १९:५१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका आधार स्तम्भ रहेको बताएका छन्।

आइतवार राष्ट्रपति भवन शितल निवासमा आयोजित प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिक प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्।

त्यस अवसरमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर आँगनसम्म पुर्याउने कामका लागि शासन संचालनमा बसेकाहरुलाई घच्घच्याएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा पत्रकारहरुले अझै जिम्मेवार भएर काम गर्ने विश्वास समेत व्यक्त गरे।

स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताविना लोकतन्त्र सुदृढ हुन नसक्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना संप्रेषणबाट मात्र राज्यको चौथो अंगको रुपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सकिने तथ्य स्मरण गराए। उनले आम सञ्चार लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको भन्दै त्यसको स्वतन्त्रता, निष्पक्षता बिना लोकतन्त्र सृदृढ हुन नसक्ने बताए।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत चल्ने मिडियालाई मर्यादित र व्यवस्थित बनाउन प्रेस काउन्सिलले मापदण्ड बनाई काम थालेको थाहा पाउँदा आफूलाई खुशी लागेको पनि बताए।

उनले भने, ‘आम सञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड हो। स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन। त्यसैले पत्रकारितालाई चौथो अंगको रुपमा मान्यता प्राप्त छ। जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र राज्यको चौथो अंगको रुपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सकिन्छ भन्ने म ठान्दछु। यसमा नेपाली पत्रकारहरु सचेत र सजग हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु।’

राष्ट्रपति पौडेलले मिथ्या र गलत सूचनाबाट जनतालाई दिग्भ्रमित पार्नसक्ने चुनौति सामना गरेर अघि बढ्न पनि प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .