ad ad

राजनीति


‘जातीय विभेद’ गरेकाे आराेप लागेका सांसद थापाले सच्याए वक्तव्य

‘जातीय विभेद’ गरेकाे आराेप लागेका सांसद थापाले सच्याए वक्तव्य

वाशुदेव मिश्र
बैशाख २७, २०७७ शनिबार १४:३०,

गण्डकी प्रदेशका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापा आफ्नो भनाईबाट पछि हटेका छन्। पोखराको बाटुलेचौरमा भएको जातीय विभेदको घटनामा पीडकहरुको पक्षपोषण गरेको आरोप लागेका थापाले शनिबार विज्ञप्ति जारी गर्दै आफूले ‘यसअघि जारी गरेको विज्ञप्तिका कारण एउटा समुदायको भावनामा चोट पुग्न गएको भए दुःख व्यक्त गर्दछु’ भनेका छन्। 

पोखरा–१६ का मोहन सुनारले आफ्नो भाईको कोरा बस्नका लागि सोही ठाउँको क्रियापुत्री भवन माग्दा त्यहाँका क्षेत्री समुदायले धक्याएपछि सोही वडाका रामबहादुर जिसी, देवबहादुर थापा र जनक थापाको नाममा किटानी जाहेरी थिए।

उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि सांसद कृष्ण थापाले वैशाख २४ गते विज्ञप्ति जारी गरेका थिए। उनले विज्ञप्तिमा छुवाछुतको आरोपमा पक्राउ पर्नुलाई षड्यन्त्रको संज्ञा दिँदै ‘केही उच्छृंखल तत्वहरूले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने, जातिवादी नेता, कार्यकर्ताहरूको षडयन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको’ बताएका थिए।

आफ्नो अभिव्यक्तिको व्यापक बिरोध भएपछि र नेपाल कम्युनिष्ट पार्टीका विभिन्न निकायमा उजुरी परेपछि शनिबार जारी गरिएको विज्ञप्तिमा आफू लामो समयदेखि अन्याय र अत्याचारको विरुद्धमा लड्दै आएको पात्र भएको जिकिर गर्दै कहिल्यै पनि सामाजिक विभेद गर्ने र गर्नेहरुको पक्षमा नउभिएको बताएका छन्।

‘मेरोतर्फबाट प्रेषित विज्ञप्तिलाई लिएर भएका टिका–टिप्पणी र प्राप्त सुझावहरुप्रति गम्भीर ध्यानाकर्षण भएको छ, कुनै जाति विशेषको विरुद्धमा बोल्ने मेरो मनसाय होइन’, विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको समयमा ठूलो संंख्यामा जम्मा हुनु आफैँमा उपयुक्त थिएन तर पनि जिल्ला प्रहरी कार्यालय कास्की अगाडि जम्मा भएका जनतामाथि भएको प्रहरी हस्तक्षेपका विरुद्ध आफ्नो धारणा राखेको मात्रै हुँ।’

जातीय सद्भावमा आँच आउने काम नगरौंः कास्की कांग्रेस
यता, नेपाली कांग्रेस कास्कीले जातीय सद्भाव नबिथोल्न सबैसँग आग्रह गरेको छ। पोखरा–१६,बाटु्लेचौरमा भएको घटनाप्रति दु्ःख व्यक्त गर्दै कांग्रेसले जातीय विभेदको मुद्दा कानूनी प्रक्रियामा गएको उल्लेख गर्दै सबै व्यक्ति र समुदायलाई संवेदनशील बन्न आग्रह गरेको हो।

पार्टी सभापति कृष्ण केसीलाई उधृत गर्दै प्रवक्ताबाट जारी विज्ञप्तिमा घटनाकाबारे चासो र दोषिमाथि कारबाहीको माग लिएर प्रहरी समक्ष पुगेका पत्रकार र अभियन्तालाई निर्मम लाठिचार्ज गरिएकोमा खेद प्रकट गर्दै आगामी दिनमा संयमित बन्न प्रहरी प्रशासनलाई अनुरोध गरिएको छ।

‘घरको कुरा घरमै मिलाऊँ’

यता, पोखराको बाटुलेचौरमा रहेको हिमालयन क्लबले बाटुलेचौरमा सदियौंदेखि सहअस्तित्व र सहभाव रहेको जिकिर गर्दै पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ। क्लबले शनिबार एक विज्ञप्ति जारी गरि पछिल्ला घटनाक्रमले चिन्ता थपिएको बताउँदै ‘दुवै पक्षलाई घरको झगडा घरमै मिलाउन’आग्रह गरेको छ। क्लबका अध्यक्ष मोहनबहादुर थापा र सचिव प्रकाश थापाद्वारारा जारी विज्ञप्तिमा यसको लागि सहजिकरण गर्न क्लब तयार रहेको उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस्ः जातीय उत्पीडनको मुद्दामा मुछिए गण्डकीका सांसद थापा

सांसद थापामाथि ‘जातीय विभेद’मा कारबाही गर्न ५१ दलित अगुवाको माग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .