ad ad

राजनीति


स्थायी समिति सारेका प्रधानमन्त्रीप्रतिकाे आक्रोश संसदमै पोख्ने सत्तारुढ सांसदको यस्ताे तयारी

स्थायी समिति सारेका प्रधानमन्त्रीप्रतिकाे आक्रोश संसदमै पोख्ने सत्तारुढ सांसदको यस्ताे तयारी

सागर न्यौपाने
बैशाख २६, २०७७ शुक्रबार १५:३८,

स्थायी समितिको बैठकमा पार्टी नेतृत्व र सरकारका गतिबिधिबारे आफ्ना धारणा राख्न नपाएपछि सत्तारुढ नेकपाका सांसदहरुले अब सदनमै सरकारको चर्काे आलोचना गर्ने तयारी गरेका छन्।

सरकारको कार्यशैलीप्रति असन्तुष्ट सांसदहरुले संसदको बजेट अधिवेशनमै सरकारको गलत कामको जवाफ माग गर्ने तयारी गरेको एक सांसदले बताए।

नेकपाका स्थायी समिति सदस्य तथा सांसदका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल खेमामा रहेका सांसदले सदनमा सशक्त ढंगले प्रस्तुत हुने विषयमा छलफल गरिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ८ मा दल विभाजन खुकुलो पार्ने र संबैधानिक परिषद्सम्बन्धी दुईवटा अध्यादेश ल्याएपछि त्यसले पार्टीको छविमा गम्भीर क्षति पुगेको भन्दै बैशाख १० मा अध्यक्षद्वयलाई स्थायी समितिको बैठक माग गरेर पार्टीका २० जना स्थायी समिति सदस्यले हस्ताक्षर बुझाएका थिए।

नेकपाको बैशाख २० मा बसेको सचिवालय बैठकले बैशाख २५ मा स्थायी समितिको बैठक गर्ने मिति तोकेको थियो। तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अनिच्छाको कारण तोकिएको मितिमा बैठक नबसी स्थगित गरियो।

‘पार्टीको विषयमा पार्टीकै कमिटिमा छलफल गर्नुपर्ने हो, तर बैठक नै स्थगित गरियो,’ ती नेताले भने, ‘अब सदनमै हाम्रा कुरा राख्छौं, कसरी जाने भनेर छलफल गर्दैछौं।’

शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरु भएको छ। संसद अधिवेशनमा सरकारको आलोचना नगर्न र बिभिन्न विषयमा धारणा राख्दा नेकपाका सांसदहरुबीच एकरुपता राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सांसदहरुलाई निर्देशन दिएका छन्।

नेकपाका १ सय ७४ जना सांसद रहेका छन्।

शुक्रबार प्रधानमन्त्री ओलीले सबैलाई सरकारको विषयमा अनावश्यक टिकाटिप्पणी नगर्न निर्देशन दिएको नेकपा सचेतक शान्ता चौधरीले बताइन।

‘कोरोनाको संक्रमण हुन नदिन गरिएको लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले बर्खे अधिवेशनअघि संसदीय दलको बैठक बस्न संभव भएन,’ चौधरीले नेपालखबरसँग भनिन, ‘सांसदहरुले संसदमा के–के विषय बोल्ने, विवादित विषयमा कुरा उठ्नु भएन, सबैमा एकरुपता देखिनुपर्‍यो भनेर प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो।’

सांसदहरु विवादित विषयमा बोल्ने अवस्था देखिए पार्टीले ह्वीप जारी गर्ने समेत तयारी गरेको उनले जानकारी दिइन।

‘अवस्था हेरेर अध्यक्षले निर्णय गर्नुहुन्छ, संसदीय दलका उपनेता सुवास नेम्वाङसँग संयोजन गरे ह्वीपबारे निर्णय हुनसक्छ।’

संसदीय पद्धतीमा प्रमुख सचेतकले ह्वीप जारी गर्ने प्रचलन छ।

प्रधानमन्त्री ओलीले जतिसुकै निर्देशन दिएपनि सरकारले गरेका गलत कुराहरुबारे संसदमा कुरा उठाउने सांसद विरोध खतिवडाले बताए।

‘पार्टीका आन्तरिक विषयमा नबोल्ने भएपनि अध्यादेश ल्याएर सरकारबाटै गलत भएको छ, यस्ता विषय सदनमा उठ्छ’, खतिवडाले भने।

बजेट अधिवेशन भएकोले सांसदहरुले अन्य विषयमा पनि आफ्ना धारणा राख्ने तयारी गरेका हुन्।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले पर्याप्त कदम चाल्न नसकेको, संकट उत्पन्न हुने क्षेत्रहरुमा सरकार गम्भीर नभएको लगायतका विषयमा चर्काेसँग उठाउने अर्का नेताले बताए।

यी बाहेक सदनमा सांसदहरुले बेरोजगारीको समस्या, संभावित आर्थिक मन्दी र संकटको व्यवस्थापनका विषयमा प्रधानमन्त्रीकै जवाफ माग गर्ने सम्मको तयारी सत्तारुढ दलका सांसदहरुले गरेका छन्।

पार्टीको स्थायी समिति बैठकमा छलफल गर्न तयारी गरेपनि त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि नेताहरु संसदमा आफ्ना कुरा राख्न तम्तयार रहेको नेता तथा सांसद मातृका यादवले बताए।

‘बजेटअघि स्थायी समितिको बैठक बसेन भने साथीहरुले संसदमा कुरा राख्नुहुनेछ’, यादवले भने, ‘कसरी प्रस्तुत हुने छलफल हुँदैछ।’

सरकारले प्रिबजेट छलफल आइतबार र सोमबार गर्दैछ भने जेठ २ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ।

आर्थिक वर्ष ०७७-०७८ को बजेट जेठ १५ मा प्रस्तुत हुँदैछ।

समितिको एकचौथाई सदस्यले माग गरेमा बैठक राख्नुपर्ने पार्टीको बिधानको व्यवस्थाअनुसार २० जना स्थायी समिति सदस्यले लिखित माग गर्दा पनि बैठक समेत नराखेकोमा ती नेता तथा सांसदहरु आक्रोशित भएको केहि नेताहरुले बताए।

प्रधानमन्त्रीका लागि महत्वपूर्ण मानिने बजेट अधिवेशनमा यसपटक सत्तारुढ दलकै सांसदहरुले नै उठाएका विषयको जवाफ दिन प्रधानमन्त्री ओलीलाई कठिन हुनसक्ने नेताहरुले आँकलन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .