लकडाउनका कारण नेपालमै रोकिएका हङकङे नेपालीलाई हङकङ फर्काउन सम्बन्धित संस्थाबीच होडबाजी नै चलेको देखिएको छ।
एकै उद्देश्यका लागि स्थापित संस्था आपसमा संवाद नगरी आआफ्नै किसिमिले लाग्दा असमझदारीजस्तो उत्पन्न भएको हो।
एनआरएनए हङकङकी अध्यक्ष राधिका (टीका) गुरुङ आफूले नेतृत्व गरेको संस्था नेपाल सरकारबाट मान्यता प्राप्त भएकाले नेपालमा रोकिएका हङकङे नेपाली फर्काउनु आफ्नो दायित्व भएको बताउँछिन्। त्यसका लागि फर्किन चाहनेको नामावली संकलनसहित नेपाल सरकारका सम्बन्धित निकायसँग कुरा भइरहेको उनले जानकारी दिइन्।
उता हङकङ नेपाली महासंघकी भूतपूर्व अध्यक्ष रीता गुरुङ डीएबी जातीय अल्पसंख्यक संस्थाले पहिलोपटक नेपालीको प्रतिनिधित्व गर्दै नेपालमा रोकिएका हङकङे नेपाली फर्काउन आफूले नेतृत्व गरिरहेको बताउँछिन्। त्यसका लागि आफू नामावली संकलनभन्दा सीधै हङकङ अध्यागमनमा पहल गरिएको उनको भनाइ छ। उनले भनिन्, ‘अध्यागमनमा अनलाइमार्फत केस दर्ता नगराएसम्म केही हुनेवाला छैन, सकेसम्म केस दर्ता गर्दा पीडित स्वयंले गर्नु उपयुक्त हुन्छ।’
अध्यागमन विभागमा हालसम्म ३ सयभन्दा बढीले हङकङ फर्किन विवरण पेस गरेको र त्यो विवरण डीएबीका एक नेताले सेक्युरिटी ब्युरोमा पु¥याई प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिइन्।
राधिका र रीता दुवैले आफूहरूबीच कुनै संवाद नभएको बताएका छन्। तर सहकार्यको ढोका भने खुलै रहेको पनि बताएका छन्।
हङकङ नेपाली ट्राभल कम्युनिटीले समेत चार्टर उडानका लागि आवश्यक तयारी गरिरहेको बुझिएको छ। एनआरएनए हङकङका संस्थापक अध्यक्ष तथा फिस्ट्रेल ट्राभल्सका कृष्ण पाण्ले भने सबैको प्रयासको सराहना गरेका छन्।
उनले भने, ‘एनआरएनए नेपाल सरकारसँग नजिक रहेकाले यस मुद्दामा प्रभावकारी भूमिका खेल्न सक्छ, नामावली सङ्कलन गएर पीडित कहाँ र कसरी बसिरहेका छन् भन्ने पहिचान गर्न सजिलो भएको छ।’
त्यसैगरी नेपाली महासंघ हङकङका सत्तासीन डीएबी पार्टीसँग निकट भएका यहाँ काम गर्न सहज हुन सक्ने र त्यो काम रीताले गरिरहेको उनले जानकारी दिए।
ट्राभल्स कम्युनिटीले चार्टर, टिकेटिङलगायत काममा प्रभावकारी भूमिका खेल्न सक्ने र सबैले आआफ्ना ठाउँबाट काम गरे नेपाल अल्झिएकालाई चाडै हङकङ ल्याउन सकिने उनको भनाइ छ।
यसैबीच नेपाल सरकारले मे १८ सम्म लकडाउन लम्ब्याएको छ भने अन्तर्राष्ट्रिय उडान र सिमाना मे ३१ सम्म बन्द गराएको छ।
नेपालमा दिनप्रतिदिन कोरोना सङ्क्रमण देखिएको छ भने लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्दले नेपालमै रहेका हङकङ आइडी होल्डर नेपाली थप चिन्तित बनेका छन्।
हङकङे नेपालीलाई फर्काउने व्यवस्था मिलाउन हङकङ सरकार तयार रहेको महावाणिज्यदूत कमलप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार हङकङ सरकारले इमेलमार्फत यो कुरा जानकाी गराउँदै प्राविधिक प्रक्रिया पूरा भए जति चाँडो हङकङ आउन अनुमति दिइने बताएको छ।
यसका लागि नेपाली संघ/संस्थाका प्रतिनिधि, नेपाल वायु सेवा निगम, हङकङका डीएबी पार्टीका नेतासँग समेत छलफल भएको उनले बताए।
लकडाउनले नेपालमा रोकिएका हङकङे नेपाली ल्याउन चार्टर उडानको विकल्प नभएको हङकङ नेपाली ट्राभल कम्युनिटीका संयोजक राजेन्द्र श्रेष्ठले नेपालखबरसँग बताएका छन्।
लकडाउनका कारण हजार हाराहारीमा हङकङे नेपाली नेपालमा रोकिएको अनुमान छ। तीमध्ये आधाभन्दा बढी तत्काल हङकङ आउन चाहेको बुझिएको छ।
प्रतिक्रिया