ad ad

राजनीति


जातीय उत्पीडनको मुद्दामा मुछिए गण्डकीका सांसद थापा

जातीय उत्पीडनको मुद्दामा मुछिए गण्डकीका सांसद थापा

वाशुदेव मिश्र
बैशाख २६, २०७७ शुक्रबार १४:४५,

गण्डकी प्रदेशका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापा ‘जातीय विभेद’को विवादमा मुछिएका छन्। पोखरा–१६, बाटुलेचौरमा भएको जातीय उत्पीडनको घटनामा पीडकहरुको पक्षपोषण गरेको भन्दै उनको आलोचना भएको हो। यद्यपि, उनको पार्टी नेकपाले यसबारे मुख खोलिसकेको छैन। 

घटनाक्रम अनुसार, पोखरा–१६ का मोहन सुनारले आफ्नो भाइको कोरा बस्नका लागि सोही ठाउँको क्रियापुत्री भवन मागे। दलित भएकै कारण उनलाई भवन प्रयोग गर्न दिइएन। उल्टो धम्क्याइयो।

जातीय विभेद गरिएको भन्दै उनले सोही वडाका रामबहादुर जिसी, देवबहादुर थापा र जनक थापाको नाममा किटानी जाहेरी थिए। जनकबाहेक दुईजना पक्राउ परे। पक्राउको त्यहाँका क्षेत्रीहरुले विरोध गरे। जिल्ला प्रहरीको हिरासतबाट म्याद थप गर्न लैजाने क्रममा भीडले प्रहरी भ्यानमाथि नै ढुंगामुढा ग-यो। प्रहरीले बल प्रयोग गरेर भीडलाई भगायो। यही विषयमा सभासद कृष्ण थापाले विज्ञप्ति जारी गरे। सोही ठाउँका बासिन्दासमेत रहेका उनले छुवाछुतको आरोपमा पक्राउ पर्नुलाई षड्यन्त्रको संज्ञा दिए।

उनको विज्ञप्तिमा ‘केही उच्छृंखल तत्वहरूले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने, जातिवादी नेता, कार्यकर्ताहरूको षडयन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको’ उल्लेख गरेका थिए। नेकपा सदस्यसमेत रहेका दुवैको विनासर्त रिहाईको माग पनि गरे।

संयोग कस्तो भने, उजुरी दिने सुनार पनि नेकपा जिल्ला सदस्य हुन्। सभासदसमेत रहेका थापाको विज्ञप्तिलाई पीडितहरुले रुचाएनन्। उनको व्यापक विरोध भयो। दलित पत्रकार संघलगायतका संघ/संस्थाहरुले थापाले आफ्नो भनाई सच्याउनुपर्ने माग गरे। यतिबेला थापा मौन छन्।

भएको के हो?
मोहनका दाजु सम्मरबहादुर सुनारको गएको चैत २३ गते दुबईमा निमोनियाको कारण मृत्यु भएको थियो। लकडाउनका कारण शव ल्याउने कुरै भएन। उनका छोरा र भाइ पनि दुबईमै भएकाले उनीहरु उतै किरिया बसे। यता भएकाहरुले पनि क्रिया बस्नुपर्ने भएपछि नजिकैको क्रियापुत्री भवन मागियो। भवन महानगरको सहयोगमा बनेको थियो। तर, उनीहरुले भवन पाएनन्। भवन नपाएपछि घरमै किरिया बसे। अरु काम गर्न उनीहरु आधा घण्टा हिँडेर कालीखोला जानुपर्‍यो। घटनाको यही बीउले विवाद निम्त्यायो।

यसैबीच साझा पार्टीले ‘जातीय विभेद गर्ने र जाजीय विभेद गर्नेलाई बचाउने गरि अभिव्यक्ति दिने प्रदेश सांसद’ दुवै पक्षलाई कानुनअनुसारको कारबाहीको माग गरेको छ। जातीय विभेदको मुद्दालाई सरकारबादी मुद्दाको रुपमा लिई अनुसन्धानलाई तिव्रता दिनुपर्ने पार्टीले जोड दिएको छ। साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन खनालले प्रेस विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्।

यसैबीच शुक्रबार उनीविरुद्ध पार्टीमा उजुरी परेको छ। नेकपाकै दलित नेताहरुले उनीविरुद्ध नेकपाको प्रदेश समिति, कास्की जिल्ला समितिमा उजुरी दिएका हुन्। उजुरी गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङ र उनका सल्लाहकार गोविन्दबहादुर नेपालीले बुझेका छन्। थापा यसअघि तत्कालीन एमालेमै रहँदा पनि क्षेत्री समाजका गतिविधिसँग नजिक रहेर काम गर्ने व्यक्ति हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .