ad ad

राजनीति


ओलीलाई दुवै पदबाट राजीनामा गराउने भीम रावलको प्रस्ताव, २० स्थायी समिति सदस्यबीच नै मतभेद

ओलीलाई दुवै पदबाट राजीनामा गराउने भीम रावलको प्रस्ताव, २० स्थायी समिति सदस्यबीच नै मतभेद

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १३:५१,

स्थायी समिति बैठकमा साझा धारणा र वैकल्पिक प्रस्ताव पेस गर्न भन्दै जुटेका सत्तारुढ नेकपाका दोस्रो तहका नेताहरुबीच आफैँमा मतभेद चर्किएको छ।

वैशाख १० गते स्थायी समिति बैठकको माग गरेर हस्ताक्षर बुझाउने २० जनामध्ये १९ जना ललितपुरको झम्सीखेलमा मंगलबार छलफलमा जुटेका थिए।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाका विषयमा नेताहरु तीन समूहमा बाँडिएपछि साझा धारणा बनाउने प्रयास असफल भएको सहभागी एक नेताले जानकारी दिए।

‘स्थायी समितिको बैठकमा नेताहरुको तर्फबाट साझा एजेन्डा प्रस्तुत गर्न नेताहरु जुटेपनि पार्टी र सरकारको नेतृत्वको विषयमा तीनखाले मत देखियो,’ स्रोतले भन्यो।

ओलीलाई दुई पदमध्ये एकबाट राजीनामा गराउने, दुवै पदबाट राजीनामा गराउने र अहिलेलाई ओलीकै नेतृत्वमा एक भएर अघि बढ्ने गरी तीनथरीका विचार भेलामा आएका थिए।

भेलामा सहभागी भएका नेतासमक्ष स्थायी समिति सदस्य भीम रावलले १७ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए।

सरकारले ल्याएको दुई वटा विवादास्पद अध्यादेशले पार्टीलाई पारेको असर, सरकारको नेतृत्वमा रहेर प्रधानमन्त्री ओलीबाट भएका गलत निर्णयले सरकार र पार्टीको नेतृत्व गर्ने क्षमता ओलीमा नदेखिएको हुँदा दुवै पदबाट राजीनामा माग गर्नुपर्ने रावलको प्रस्ताव थियो।

‘रावलको प्रस्तुतिमा २००६ सालदेखिको कम्युनिस्ट आन्दोलन हुँदै वर्तमान नेतृत्वसम्मको समीक्षा गरिएको थियो, केपी ओलीले नेकपाको नेतृत्व हाँक्न नसक्ने उहाँले विश्लेषण गर्नुभएको थियो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘प्रधानमन्त्रीको राजीनामा प्रमुख एजेन्डा बनाउनुपर्ने उहाँको प्रस्ताव थियो।’

तर, सो प्रस्तावमा नेताहरु सहमत हुन सकेनन्।

भेलामा अष्टलक्ष्मी शाक्य, भीम रावल, भीमप्रसाद आचार्य, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, हरिबोल गजुरेल, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, पम्फा भुसाल, मणि थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र लीलामणि पोखरेल सहभागी थिए।

हस्ताक्षरकर्ता २० जना नेतामध्ये देव गुरुङ भने राज्य व्यवस्था समितिको बैठकमा सिंहदरबारमा रहेकाले उपस्थित हुन नसक्ने सन्देश पठाएका थिए।

रावलको प्रस्तावमा ४ जना नेताले मात्रै समर्थन जनाएका थिए।

भेलामा सहभागी प्रचण्डनिकट स्थायी समितिका सदस्यहरु भने प्रधानमन्त्री ओलीप्रति रक्षात्मक देखिएका थिए। त्यसलाई नेपालनिकट नेताहरुले अस्वभाविक रुपमा लिएका छन्।

‘प्रधानमन्त्रीको राजीनामाको विषयमात्रै होइन भीम रावलजीको व्यक्तिगत धारणामा हामी सहमत हुने कुरै भएन,’ स्थायी समिति सदस्य मणि थापाले भने, ‘सामूहिक धारणा खासै केही बन्न सकेन।’

२० जनाबीचमा साझा धारणा नबनेपछि नेताहरुले छुट्टाछुट्टै आफ्नो धारणा राख्ने तयारी गरेका छन्।

तर, प्रचण्डनिकट नेता देवेन्द्र पौडेलले भने स्थायी समितिको बैठकमा २० जना एक भएर जाने सहमति बनेको दाबी गरे।

‘१९ जना ललितपुरको एक ठाउँमा बसेका थियौं, एक भएर जाने कुरामा कुनै समस्या छैन,’ उनले भने।

स्थायी समितिको बैठक बिहीबारबाट बस्ने निर्णय भएको थियो। तर, बुधबार साँझ बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन्। बैठकको अर्को मिति तय भइनसकेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .