ad ad

राजनीति


सम्बन्ध चिसिएपछि प्रचण्डलाई ओलीका पाँच झड्का

सम्बन्ध चिसिएपछि प्रचण्डलाई ओलीका पाँच झड्का

नेपालखबर
चैत ३०, २०७६ आइतबार १७:६,

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध चिसिँदै गएको छ। पछिल्लो समय प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव असफल मात्र तुल्याएका छैनन्, उनलाई धक्का दिने एकपछि अर्को निर्णय पनि गर्दै गएका छन्।

खासगरी फागुन दोस्रो साता उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णयलाई प्रधानमन्त्री ओलीले बेकार बनाएसँगै अध्यक्षद्वयबीचको दरार सतहमा आएको हो। त्यसयता ओलीले प्रचण्डमाथि निरन्तर प्रतिशोधी कारबाहीलाई तीव्रता दिएका छन्।

सम्बन्ध खराब बनेपछि अध्यक्षद्वयबीचको भेटघाट नै पातलिएको नेकपाका एक स्थायी समिति सदस्य बताउँछन्।

‘पहिले दैनिकसो भेट गरेर दुवै अध्यक्षहरुबीचको सरसल्लाहबाट निर्णयहरु हुने गरेका थिए। तर पाँच वर्ष प्रधानमन्त्री बन्ने दाहालबाट लिखित सुनिश्चितता पाएपछि दुवै अध्यक्षहरुबीच छलफल पातलिँदै आएको छ,’ ती नेताले भने, ‘जुन राष्ट्रियसभाको मनोनयनदेखि डीआईजी बढुवासम्मममा आइपुगेको छ।’

यसबीचमा ओलीले प्रचण्डनिकट चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउएका छन्। राष्ट्र बैंकको गभर्नर नियुक्ति, प्रहरीमा नायब प्रहरी महानिरीक्षकमा बढुवा र कोरोना नियन्त्रणका लागि राजनीतिक संयन्त्र बनाउने प्रचण्डको प्रस्तावलाई पनि ओलीले खारेज गरेका छन्।

राष्ट्रियसभामा नियुक्ति
नेकपा सचिवालय बैठकले फागुन १४ मा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्‍यो। प्रचण्डकै प्रस्तावमा सो निर्णय भएको थियो। तर, ओलीले सो निर्णय कार्यान्वयन हुन दिएनन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने सो पदमा अहिलेसम्म सरकारले सिफारिस नै गरेको छैन। प्रधानमन्त्री ओलीमा सो स्थानमा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने पक्षमा छन्। फागुन २० मा कार्यकाल सकिएका खतिवडालाई उनले पुनः अर्थमन्त्री नियुक्त गरेका छन्।

राजदूत फिर्ता
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फागुन १८ गते सरकारले अचानक फिर्ता बोलायो। यो घटनालाई पनि प्रधामनन्त्री ओली र अध्यक्ष दाहालबीचको शक्ति संघर्षको उपजको रुपमा हेरिएको छ। तत्कालीन नेकपा एमाले र माओवादीबीचको गठबन्धन तोडेर प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हँुदा उनले पूर्व मुख्यसचिव पौडेललाई राजदूत बनाएका थिए। पौडेलले प्रचण्डलाई नै बढी महत्व दिएको भन्दै ओली असन्तुष्ट रहँदै आएका थिए। पौडेललाई फिर्ता बोलाउने चाहना ओलीले धेरैपहिलेदेखि व्यक्त गर्दै आएको उनी निकटस्थ स्रोत बताउँछ। सो स्थानमा ओलीले आफूनिकट महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा नियुक्त गरेका छन्। चीनबाट पाण्डेका लागि एग्रिमो आइसकेको छ।

गभर्नर नियुक्ति
प्रचण्ड नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट राष्ट्रिय योजना आएको उपाध्यक्ष बनेका डा. मीनबहादुर श्रेष्ठलाई नयाँ गभर्नर बनाउन चाहान्थे। तर, श्रेष्ठ राष्ट्र बैंकका गनर्भरको सिफारिस हुने तीन जनाको सूचीमा समेत परेनन्। अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र कृष्णहरि बाँस्कोटाको समितिले महाप्रसाद अधिकारी, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको थियो। जसमा चर्चामै नाम नभएको भट्टराई परेपनि श्रेष्ठ समेत सिफारिस गरिएनन्। अन्ततः अधिकारी गर्भनर नियुक्त भएका छन्।

उच्चस्तरीय राजनीतिक संयन्त्र
अध्यक्ष प्रचण्डले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि प्रमुख प्रतिपक्षी दलसहितका उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव गरेका थिए। जसलाई प्रधानमन्त्री ओलीले शनिबार मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा अस्वीकार गरेका छन्। प्रचण्डको सो प्रस्तावलाई पूर्वएमालेका नेताहरुले खासै रुचाएनन्। निर्वाचित सरकारलाई निर्देशित गर्ने कुनै पनि राजनीतिकसंयन्त्र हुननसक्ने धारणा उनीहरुले व्यक्त गरेका छन्।

डीआईजीमा बढुवा
शुक्रबार राति नेपाल प्रहरीका नायव प्रहरी महानिरीक्षक (डीआईजी)को रिक्त १० पदमा बढुवा सिफारिस गरिएको थियो। सिफारिस गरिएका १० जनामा एक जना पनि अध्यक्ष प्रचण्डले सिफारिस गरेको एसएसपी परेका छैनन्। प्रचण्डले एसएसपी गणेश ऐरीलाई डीआईजी बनाउन चाहेका थिए। तर गृहमन्त्री रामबहादुर थापाले सो नाम प्रधानमन्त्री ओली समक्ष प्रस्तुत गरेपनि काटिएको समाचार आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .