ad ad

राजनीति


सीमानाकामा सशस्त्रको पैदल गस्ती शुरु

सीमानाकामा सशस्त्रको पैदल गस्ती शुरु

नेपालखबर
चैत ३०, २०७६ आइतबार २:४०,

कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) खडा गरी सप्तरीमा थप कडाइ गरेको छ।

सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन जिल्लाका ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल ६ गणले जनाएको छ।

नेपाल-भारत आवतजावत ठप्प गर्न सशस्त्र प्रहरी बलले ठूलो सङ्ख्यामा पोस्ट खडा गरी पैदल गस्तीसमेत थालेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिए।

भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि सात वटा मात्र बिओपी थियो। ‘सात बिओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ११÷१२ किलोमिटर रहेकाले सीमानाका पूर्णरूपमा नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो’, सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले भने, ‘नियमितबाहेक थप १६ स्थानमा अस्थायी चौकी खडा गरी ५५ स्थानमा परिचालन गरिएपछि सीमामा आवतजावत पूर्णरूपमा ठप्प भएको छ।’

सशस्त्र प्रहरीले खाली रहेको विद्यालय, टहरा र पालमा समेत शिविर खडा गरी सीमाको ५५ स्थानमा परिचालन गरिएको जनाएको छ।

कोरोना सङ्क्रमण रोकथामका लागि सीमानाका बन्द गरिए पनि खुला सीमाका कारण सर्वसाधारणको आवतजावत भइरहेको विषयलाई मध्यनजर गर्दै थप जनशक्ति परिचालित गरी पैदल गस्ती थालिएको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताए।

लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो।

भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजीकार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ।

गणपति न्यौपानेले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधारणमा जनचेतनासमेत फैलाउने कार्य भइरहेको बताए।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा पाँच, छिन्नमस्ता गाउँपालिकामा सात, राजगढ गाउँपालिकामा १०, तिलाठी कोइलाडी गाउँपालिकमा चार, डाकनेश्वरी नगरपालिकामा नौ, बोदे बर्साइन नगरपालिकामा १२ र बलान बिहुल गाउँपालिकामा आठ स्थानमा सशस्त्र प्रहरी परिचालित भएका छन्।

जिल्लाको भारतीय सीमामा ५५ वटा केन्द्र राखी २४सै घण्टा निगरानी शुरु गरिएको र मातहतका सबै चौकीले आ–आफ्नो क्षेत्र निगरानी गर्ने गरी गस्ती गरिरहेको जानकारी दिनुहुँदै गणपति न्यौपानेले दिए।

‘भारतसँग जोडिएको खेत, खोलादेखि गल्लीसम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी गरिरहेका छौँ। यसका लागि सप्तरीमा २०० प्रहरी थप गरिएको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .