ad ad

राजनीति


नेपाल–भारत सिमानामा अब १० हजार बढी सुरक्षाकर्मी

नेपाल–भारत सिमानामा अब १० हजार बढी सुरक्षाकर्मी

उजिर कार्की
चैत २८, २०७६ शुक्रबार १२:४९,

भारतमा कोराना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सीमा क्षेत्रमा सशस्त्रसँगै नेपाल प्रहरी (जनपद) समेत गरी ठूलो संख्यामा सुरक्षाकर्मी र चेकपोस्ट थप गरेको छ।

सीमा क्षेत्रमा सशस्त्रका ९ सय २५ र नेपाल प्रहरीका ४ सय ५ वटा चेकपोस्ट राखिएको हो।

यसअघि दक्षिणी मुलुकसँगको सीमामा सशस्त्रका १ सय २० वटा मात्रै चेकपोस्ट रहेकोमा ८ सय ५ वटा अस्थायी चेकपोस्ट थप गरिएको हो। अब सीमानामा सशस्त्रका मात्रै ९ सय २५ वटा चेकपोस्ट पुगेका छन्।

नेपाल प्रहरी र सशस्त्रका नयाँ समेत गरी अब १३३० चेक पोस्टले नेपाल–भारत सीमामा सुरक्षा दिनेछन्। ती पोस्टहरुमा दुवै तर्फका गरी १० हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्।

सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीको भए पनि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार ४ सय ५ वटा नाकामा नेपाल प्रहरी खटिएका छन्।

याे पनि: भारतमा संक्रमित बढेसँगै सीमामा कडाइ, सशस्त्रको ८ सय चेकपोस्ट थप

यसबाहेक पनि जिल्ला प्रहरीले त्यहाँको वस्तुस्थिति अध्ययन गरी आवश्यकता अनुसार अस्थायी चेकपोस्ट खडा गरेका छन्।

सबै जिल्लालाई स्थानीय जोखिम अनुसार रणनीति बनाएर भारतीय सीमाबाट प्रवेश गर्न नपाउने व्यवस्था गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

प्रदेश नम्बर १ का सीमानामा ७९ स्थानमा नेपाल प्रहरीका चेकपोस्ट छन्। १ सय ४४ किलो मिटर खुल्ला सीमाना रहेको झापामा १५० जना प्रहरी सीमा क्षेत्रमा थप गरिएको छ। यस्तै प्रहरी निरीक्षकको नेतृत्वमा तीन ठाउँमा अस्थाई बेस खडा गरिएको छ।

त्यो वेसले बोर्डरका युनिटलाई नेतृत्व गर्ने झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताए।

armed police at border2

कचनडबल गाउँपालिकाको पथरिया, झापा गाउँपालिकाको टागनडुब्बा र गौरीगन्ज गाउँपालिकाको कोरोबारीमा अस्थायी बेस खडा गरिएको छ।

झापामा छोटी भन्सार ५ वटा मात्रै भएपनि ९४ ठाउँबाट भारत आवातजावत गर्न सक्ने ठाउँ प्रहरीले पहिचान गरेको छ।

अहिले यी क्षेत्रमा समेत प्रहरीले गस्ती गरिरहेको छ। सीमा क्षेत्रमा २६ वटा युनिट रहेको एसपी कोइरालाले बताए। यस बाहेक सशस्त्र प्रहरीका समेत चेकपोस्ट थपिएको छ।

भारतमा कोरोनाको जाखिम बढ्दै गएपछि नेपाल छिर्न सक्ने संभावना रहेकाले प्रहरीको संख्या थप गरिएको हो।

आफ्नो जिल्लामा जनशक्ती अपुग भए गण, गुल्मबाट समेत जनशक्ति थपिएको छ।

हाल ४ हजार ६ सय ६४ जना प्रहरी सीमामा केन्द्रित छन्। भारतले समेत आवातजावात बन्द गरेकाले ओहोरदोहोर कम भएपनि जोखिमलाई मध्यनजर गर्दै संभावित क्षेत्रमा सवारी र पैदल गस्ती समेत बढाएको छ।

प्रदेश २ का १ सय १० चेकपोस्टमा नेपाल प्रहरी खटिएका छन्। देशभित्रको लकडाउन कार्यान्वयनसँगै भारतीय सीमाबाट प्रवेश गर्नसक्ने तर्फ पनि प्रहरीले विशेष सचेतना अपनाएको प्रहरी प्रवक्ता उमेशराज जोशीले बताए।

पर्सामा पनि नेपाल प्रहरीका २१ वटा चेकपोस्ट छन्। यी बाहेक पनि २४सै घण्टा अन्य युनिटले समेत नियमित गस्ती गरिरहेको पर्साकी एसपी गंगा पन्तले बताइन्। जिल्लामा ६४ वटा युनिट रहेको र यी युनिटबाट पनि बोर्डर क्षेत्रमा गस्ती बढाइएको एसपी पन्तको भनाई छ।

प्रदेश ५ का १ सय ३२, सुदूरपश्चिम प्रदेशका ५७ र कर्णालीका ८ नाकामा पनि नेपाल प्रहरी खटिएका छन्।

नेपालमा कोरोना संक्रमण धेरै नदेखिए पनि भारतमा कोरोना संक्रमित र त्यसबाट ज्यान जानेहरुको संख्या दैनन्दिन बढीरहेकाले त्यहाँबाट जोखिम हुनसक्ने अनुमान गरिएको छ।

हालसम्म नेपालमा ९ जना मात्रै कोरोना संक्रमित भेटिएका छन्। तीमध्ये एकजना निको भइसकेका छन्।

भारतमा कोरोना संक्रमणका कारण २ सय २८ जनाको ज्यान गइसकेको छ। हालसम्म त्यहाँ ६ हजार ७ सय ७१ जनामा संक्रमण देखिएको छ। कोरोना संक्रमणकै कारण चैत ११ देखि नेपालमा र १२ देखि भारतमा लकडाउन गरिएको छ।

नेपालमा पछिल्ला ६ दिनमा एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन। ८ जना संक्रमित पनि भारत र अन्य देशबाट आएका हुन्। एक जना भारतबाटै आएकाका आफन्त हुन्।

लकडाउनसँगै नेपालमा जोखिम कम हुँदै गएको विज्ञहरुले अनुमान गर्न थालेका छन्। अब मुख्य चुनौती भारत रहेको ठहर गर्दै यी क्षेत्रमा सुरक्षा बढाइएको हो। सशस्त्रले समेत ८ सय ५ वटा चेकपोस्ट सीमामा थप गर्नका लागि सीमा क्षेत्रमा २२ सय ८० जना सशस्त्र प्रहरी काठमाडौंबाट पठाइएको छ।

याे पनि: सहायक नाका हुँदै भारतबाट नेपाली प्रवेश गर्न थालेपछि थपिए सशस्त्र प्रहरीका ११ पोस्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .