मन्त्रिपरिषदको बैठक आज (आइतबार) बस्दै छ। बैठकले कोरोना भाइरसको महामारीबारे विशेष निर्णय गर्ने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित बैठकअन्तर्गत आज साँझ ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। यसअघि चैत ९ गते मन्त्रिपरिषद् बैठक बसेको थियो ।
‘अहिले मुलुकमा कोरोना भाइरस महामारीले जनजीवनमा जुन प्रभाव पारिरहेको छ, त्यस विषयमा मन्त्रिपरिषद्मा छलफल हुनेछ,’ प्रेस सल्लाहकार थापाले आइतबार बिहान नेपालखबरसँग भने, ‘साथै लकडाउनलगायत विषयमा पनि छलफल गर्ने तयारी छ।’
आजको बैठकले लकडाउन लम्ब्याउने तयारी पनि गरेको स्रोतले दाबी गरेको छ।
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने लकडाउनबारे निर्णय गर्ने अधिकार कोरोना रोकथाम तथा नियन्त्रण उच्च समन्वय समितिलाई नै भएको बताए।
कोरोना संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि पूरै देशलाई लकडाउन (बन्द) गरिरहेकाे छ।
तर नेपालमा पनि एकपछि अर्काे काेराेना संक्रमित व्यक्ति थपिइरहेकाले थप लकडाउनकाे अवधि थप गर्नुपर्ने देखिएकाे छ। शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगिसकेको छ।
प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नेताका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन गरिएको कोरोना रोकथाम तथा नियन्त्रण उच्च समन्वय समितिले लकडाउनलगायत विषयमा निर्णय गर्ने गरेको छ।
आज बस्ने मन्त्रिपरिषद बैठकले उक्त समितिले गरेका कामको समीक्षा र थप तयारीका विषयमा निर्णय गर्ने बताइएको छ।
प्रतिक्रिया