सरकारले कोरोना भाइरस (कोभिड १९) को चेकजाँचका क्रममा चिकित्सकले लगाउने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) मापदण्ड तयार पारेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद काेइरालाले पीपीई मापदण्ड बनेको र आजैदेखि लागू हुने बताए। उनले भने, ‘अब साधारण ज्वरो, रुघाखोकी नाप्दा मास्क, ग्लोब्स, चस्मा लगाएर अघि बढ्नुपर्छ भने नमूना जाँचपछि कोरोना देखियो भने हामी बेग्लै हस्पिटलमा लग्छौं। त्यसबेला पूरा पीपीई लगाएर त्यहाँ राखिन्छ। आजैदेखि यो मापदण्ड लागू हुनेछ।’
साधारण रुघाखोकीका बिरामीहरु जाच्दा समेत कोरोनाको आशंकामा चिकित्सकहरुले पीपीई लगाएपछि यसको अभाव बढ्दै गएको थियो। मुलुकभर पठाइएका पीपीई पनि साधारण ज्वरो, रुघा खोकीका बिरामीको नमूना संकलनका क्रममा सकिएको गुनासो बढ्दै आएको छ।
तर, विश्व स्वास्थ्य संगठनको मापदण्डमा भने कोरोनाको नमूना संकलन गर्दा समेत पीपीई लगाउनुपर्ने उल्लेख छ।
विशेष अस्पताललाई १० लाख
सरकारले देशभर तोकेका २५ विशेष (हब) अस्पताललाई १० लाख प्रदान गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद काेइरालाले तत्काल फिभर क्लिनिक सञ्चालन गर्न यो रकम उनीहरुलाई दिन लागिएको र त्यसबाट आवश्यक पर्ने सामग्रीहरु उनीहरुले खरिद गर्ने जनाए।
यदि ज्वरो नाप्दा संकलन भएका नमूनाबाट कोरोना देखिए त्यसको अन्य तोकिएका ठाउँमा उपचार हुने उनले बताए।
प्रतिक्रिया