ad ad

राजनीति


नागरिकको साथले कोरोना महासंकट पार लगाउँछौंः उपप्रधानमन्त्री पोखरेल

नागरिकको साथले कोरोना महासंकट पार लगाउँछौंः उपप्रधानमन्त्री पोखरेल

नेपालखबर
चैत १०, २०७६ सोमबार १६:२८,

सरकारले मंगलबारदेखि देशव्यापी लक डाउन घोषणा गरेपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मानवतामाथि आइपरेको संकट समाधानका लागि एकजुट भएर लाग्न सबैमा आह्वान गरेका छन्।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका पोखरेलले अभिभावकका रुपमा सरकारले लक डाउनको निर्णय गरेपनि यो महासंकटलाई पार लगाउने जिम्मेवारी सम्पूर्ण नागरिकको भएको बताए।

‘सरकारले अभिभावकको रुपमा निर्णय गरेको हो। कुनै पार्टी, दल वा सरकारको मात्रै निर्णय होइन,’ नेपालखबरसँग उपप्रधानमन्त्री पोखरेलले भने, ‘यो मानव जातिमाथि आइपरेको संकट हो। हामी सबैले यो निर्णयलाई कार्यान्वयन गरेर मात्रै महासंकटलाई पार लगाउन सक्छौँ।’

सरकारले सबै नागरिकको साथको अपेक्षा लिएको पनि उनले बताए।

‘सबैले साथ दिने अपेक्षा हामीले लिएका छौं। सबैले संयमित भएर यसलाई पूर्ण रुपमा कार्यान्वयन गरौं। सरकारले सबैलाई साथमा लिएर यसलाई पार लगाउने छ,’ उनले भने।

सोमबार नै फ्रान्सबाट फर्केकी एक नेपाली छात्रामा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले लक डाउन गर्ने निर्णय गरेको हो।

समितिको सोमबार साँझ बसेको बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन एक साता लक डाउन गर्ने निर्णय गरेको थियो। उपप्रधानमन्त्री पोखरेलले लक डाउनका लागि सरकारले उचित व्यवस्थापन गरेको बताए।

‘यो निर्णय सरकारले थोपरेको होइन। र, त्यसरुपमा लिनु पनि हुन्न,’ उनले भने, ‘संकटको समयमा एकले अर्को नेपालीलाई सहयोग गर्नुपर्छ।’

सरकारले कोरोना रोकथाम, नियन्त्रणका लागि उचित कदम चालिरहेको उनको भनाइ थियो।

‘काठमाडौं बलम्बुको अस्पतालमा पनि हामीले कोरोना संक्रमणको उपचार सुरु गरेका छौं। मन्त्रिपरिषदले कोषको पनि स्थापना गरेको छ,’ उनले भने।

उपप्रधानमन्त्री पोखरेलले सरकारले आवश्यक सहयोगका लागि चीन र भारत दुवै छिमेकी राष्ट्रसँग छलफल गरिरहेको बताए।

‘त्यो काम प्रक्रियाअनुसार भइरहेको छ,’ पोखरेलले भने, ‘यो विश्वलाई परेको संकट हो। सबैले मिलेर गर्ने हो।’

नेपालले भारत र चीनसँग कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि आवश्यक सामग्री माग गरेको छ।

आइतबारको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० करोड रुपैयाँको कोष स्थापना गरेका छ। जसमा मन्त्रीहरुले एक महिनाको तलब प्रदान गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .