राजधानीमा कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउने क्रममा सरकारले मंगलबार बिहान ६ बजेदेखि एक साताका लागि पूरै देश ‘लकडाउन’ (बन्द) गर्ने निर्णय गरेको छ। लकडाउनको अवधिमा नागरिकले अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्कन पाउने छैनन्।
यद्यपि औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा भने मानिसहरु घरबाट बाहिर निस्कने सक्नेछन्।
त्यस्तै सार्वजनिक र निजी सवारी साधनमा पूर्ण रोक लाग्नेछ। स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारी मात्र चल्नेछन्।
तोकिएका र सुरक्षा निकायका बाहेक आन्तरिक वा अन्तर्राष्ट्रिय कुनै पनि उडान हुने छैन।
यो पनिः
भोलिबाट पूरै देश लकडाउन, घरबाट बाहिर निस्कन नपाइने
कोरोना रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारले तोकेको मापदण्ड उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ। सीडीओले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गरी कारबाही गर्न सक्नेछन्।
त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ। सो ऐनमा जारी आदेशको अपहेलना गर्नेलाई एक महिना कैद र एक सय रुपैयाँ जरिवाना वा दुवैको व्यवस्था छ।
त्यस्तै सरकारी अधिकारीको काममा बाधा पुर्याउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै हुन सक्नेछ।
मानिसहरूको आवतजावत र घुलमिलबाट कोरोना संक्रमण सबैभन्दा छिटो सर्ने भएकाले संसर्ग रोकेर प्रकोप फैलिनबाट रोक्न ‘लकडाउन’ गरिएको हो। कोरोना भाइरसको प्रकोप फैलिएका विश्वका विभिन्न देश र शहरहरूमा अहिले यस्तो ‘लकडाउन’ गर्ने क्रम बढिरहेको छ।
कोरोना भाइरस संक्रमण भएपछि सबैभन्दा पहिले चीनको वुहान शहरलाई यसरी नै ‘लकडाउन’ गरी प्रकोप नियन्त्रणमा लिइएको थियो।
वुहानको अनुभव र विज्ञहरूको भनाइमा कोरोना भाइरसको प्रकोप फैलिन नदिने ‘लकडाउन’ एउटा प्रभावकारी उपाय हो।
अघिल्लो हप्तादेखि नै अन्तर्राष्ट्रिय उडान र लामो दुरीका सवारी साधनमा रोक, ठूला भेला र भिडभाड नियन्त्रण गर्दै आएको सरकारले आइतबार काठमाडौंमा फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै ‘लकडाउन’ गर्ने निर्णय लिएको हो।
यो पनिः
कोरोनाको महामारी रोक्न नेपाललाई ५६ वर्ष पुरानो कानुनको सहारा
प्रतिक्रिया