ad ad

राजनीति


न्यायपरिषद्लाई नेपाल बारको चेतावनी : यथास्थितिमा न्यायाधीश नियुक्त गरे बहिष्कार गर्छौं

न्यायपरिषद्लाई नेपाल बारको चेतावनी : यथास्थितिमा न्यायाधीश नियुक्त गरे बहिष्कार गर्छौं

नेपालखबर
असोज ९, २०८१ बुधबार १६:१३, काठमाडौँ

न्यायपरिषद्ले संविधान विपरित न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एसोशिएसनले बुधवार पनि बिरोध प्रदर्शन गरेको छ।

नेपाल बारले नेपालको संविधानको धारा १४१ को (१) र (३) को विपरित हुनेगरी विदाई हुने बेलामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको न्याय परिषद्ले न्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बोलाउने निर्णय गरेको भन्दै त्यसको विरोधमा बाध्य भएर खबरदारी सभा लगायतका बिरोधको कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराएको हो।

यसअघि पनि बारले न्याय परिषद्को बैठकमा धर्ना दिएपछि ती समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरिएको थियो। तर सो कार्य दलमा समेत कुनै कुरा नराखिकन न्याय परिषद्को बैठकबाट न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने असंवैधानिक कदम अघि बढाउने प्रयास गरेपछि बाध्य भएर निरन्तर रुपमा धर्नालगायतका विरोध प्रदर्शनका कार्यक्रम अघि बढाउने निर्णय लिनुपरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए।

उनले संविधान विपरित सो परिषद्ले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरे आफूहरुले बहिष्कार गर्ने चेतावनी समेत दिए।

अध्यक्ष घिमिरेले भने, ‘अब न्याय परिषद्को बैठक बसेर यो कुरालाई अगाडि बढाउने कोशिस भयो भने हामी पुनः धर्नामा बस्छौं। र यो कुराको विरुद्धमा हामी लागि रहनेछौं। पेलेर जाने काम भयो भने नेपाल बार एसोसिएसनको कार्य समिति बैठक बसेर फर्दर कार्यक्रम कसरी अघि बढ्ने भनेर जानकारी गराउँछौँ। तर यो असंवैधानिकताको विरोधमा नेपाल बार एशोसिएशनले लगातार कार्यक्रम गरिरहन्छ। हामी हुनसक्छ–त्यसरी न्यायाधीश नियुक्त गरियो भने ती न्यायाधीशहरुको बहिष्कारको कार्यक्रम पनि ल्याउन सक्छौं।’

नेपाल बारले असोज १० गते बिहीवार अपरान्ह १ बजेपछि न्याय परिषद्को असंवैधानिक कदमको विरोधमा भन्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .