ad ad

राजनीति


हाजिर गरेर तलब पाक्यो भन्ने कर्मचारीलाई हटाइन्छ : मन्त्री भण्डारी

हाजिर गरेर तलब पाक्यो भन्ने कर्मचारीलाई हटाइन्छ : मन्त्री भण्डारी

नेपालखबर
साउन २८, २०८१ सोमबार १४:२१, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी समेत दिए। 

‘एक दिनमा के गर्नुभयो नयाँ काम भनेर हेरिन्छ। आज दिनभरीको कामको परिणाम के आयो? त्यसको परिणाममुखि कामहरु, त्यो काम भनेको कागजमा लेखेर भरेको काम होइन, परिणाम आयो कि आएन? परिणाम आएन भने जिम्मेवारीबाट सबैले छोडनुपर्ने हुन्छ,’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरूलाई सचेत गराए। 

‘अधिकारको खोजी गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने हुन्छ। तपाईंहरू सबैको चाहिने सुविधाको जिम्मा मन्त्रालय लिन तयार छ। तर तपाईंहरूले रिजल्ट दिन तयार हुने कि नहुने? तपाईंहरूको सबै सेवा सुविधाको जिम्मा सरकारले लिन्छ। मन्त्रालयले लिन्छ। तपाईंहरूका जहाँ समस्या छन्, ती समाधान हुन्छन्। त्यसको जिम्मा म लिन्छु।’

प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई भनेका छन्।

‘यहाँ हिजो मात्रै सम्माननीय प्रधानमन्त्रीज्युले सबै मन्त्रालयसँग अब एमओयू गर्नुहुन्छ। हिजो मात्रै कम्तिमा ५ वटा ३ महिनामा गरिसक्ने कामको खोजी गर्नु भएको छ। हामीले १५ वटा काम देखाएका छौँ। अब प्रत्येक १५ दिनमा सहसचिवहरुको कार्य सम्पादनको रिपोर्ट प्रधानमन्त्रीज्यु आफैँले हेर्नुहुन्छ,’ उनले भने।

परिणाम आउने गरी काम गर्ने कर्मचारीहरुको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि उनले बताए।

‘तर तपाईंहरूले अब रिजल्ट दिने कि नदिने रु तपाईहरुले रिजल्ट दिनु भयो। सुविधा पूरापुर लिनुहोस्। तपाईंहरूको रिजल्ट दिनु भएन। तपाईंले जिम्मेवारीबाट छोड्नुपर्ने हुन्छ। अहिलेको व्याप्त निराशा, अन्योलतालाई चिर्नुपर्नेछ,’ उनले भने, ‘सरकारमाथि, सरकारको निकायमाथि यति धेरै प्रश्नहरु छन। त्यो प्रश्नको सामना हामीले परिणामबाट दिनुपर्नेछ। बिहान आएर हाजिर लगाएर मेरो तलब पाक्यो भन्ने तपाईहरुले सोच्नुभयो भने त्यसमा पुनर्विचार गरिहाल्नुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .