ad ad

राजनीति


प्राधिकरणका महानिर्देशक अधिकारीलाई पदमुक्त गर्न कानुनी परामर्शमा छु : मन्त्री पाण्डे

प्राधिकरणका महानिर्देशक अधिकारीलाई पदमुक्त गर्न कानुनी परामर्शमा छु : मन्त्री पाण्डे

नेपालखबर
साउन २४, २०८१ बिहिबार १७:५, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन कानुनी परामर्श भइरहेको बताएका छन्।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका विषयमा बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।

मन्त्री पाण्डेले मातहतका निकायलाई कारबाही गर्ने प्रश्नमा सरकार गम्भीरतापूर्वक लागिपरेको बताए। उनले आफूले गरेको निर्णय फेरि अदालतबाट बदर नहोस् भन्नका लागि सो निर्णय लिनुअघि आफूले कानुनी परामर्श अघि बढाएको पनि समितिमा बताए।

उनले भने, ‘म के चाहन्न भने मन्त्रीको पहलकदमीमा एउटा निर्णय होस्, कुनै पनि निर्णय फेरि अर्को बाटोबाट पुनर्स्थापित होस्। अनि मन्त्रीचाहिँ त्यहीँ बसिरहोस्। मेरो निर्णयमाथि जुनसुकै निकायबाट चुनौती आओस्। त्यो निकायबाट चुनौती आइसकेपछि अथवा बदर भएपछि त्यो मन्त्रीले नैतिकताको आधार त्यहाँ बस्न... म के कुरामा स्पष्ट छु भने मन्त्रीले गरेको निर्णय त्यो संवैधानिक हिसाबले, कानुनी हिसाबले सर्वस्वीकृत भएको हुनुपर्छ।’

मन्त्री पाण्डेले नैतिकता लाद्ने विषय नभएको हुनाले त्यसमा जिम्मेवार व्यक्ति आफैँ सचेत हुनुपर्ने बताए। समितिको बैठकमा सांसदहरूले महानिर्देशक अधिकारीलाई पदमुक्त गरेर मात्रै छानबिन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका थिए। मन्त्री पाण्डेले संसद र संसदीय समितिले दिएको निर्देशन अनुसार सरकार चल्नुपर्ने भएकाले पनि समितिको निर्देशन आफूहरूले पालना गरेर अघि बढ्ने बताए।

बैठकमा सत्तारुढ दलका सांसदहरुले नै प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले महानिर्देशक अधिकारीलाई बहाल राखेर हुने कुनै पनि छानबिन निष्पक्ष हुनै नसक्ने भएकाले पनि उनलाई पदमुक्त गर्न आवश्यक रहेको तर्क गरे। उनले यसमा ठोस निर्णय गरेर अघि बढ्न पनि मन्त्री पाण्डेको ध्यानाकर्षण गराए।

एमालेकी सचेतक सुनिता बरालले पटकपटक हुने हवाई दुर्घटनाको जिम्मेवारी सरकार आफैंले लिनुपर्ने बताइन्। उनले नियामक निकायको कामलाई प्रभावकारी बनाउने, दोषीमाथि कारबाही गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा पनि राखिन्।

यता, प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले हवाई दुर्घटनामा गल्ती गर्नेहरूलाई सरकारले कानूनी दायरामा ल्याउने कुरामा ढिलाई गर्न नहुने बताए। उनले सो सम्बन्धमा नीतिगत सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए।

सांसद तामाङले राजनीतिक नेतृत्वको दोष दिएर हवाई दुर्घटनामा गम्भीर गल्ती गरेकाहरुलाई उन्मुक्ति दिने भुल कसैले पनि गर्न नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .