ad ad

राजनीति


राजनीतिक परिवर्तनको ‘साइड इफेक्ट’ कूटनीतिमा, राजदूतबारे एमाले-कांग्रेसमै मतभेद

राजनीतिक परिवर्तनको ‘साइड इफेक्ट’ कूटनीतिमा, राजदूतबारे एमाले-कांग्रेसमै मतभेद

रामकुमार डिसी
असार २३, २०८१ आइतबार २०:१६, काठमाडौँ

नेकपा एमालेसहितको सरकारले गरेको राजदूत फिर्ताको निर्णयअनुसार सात समुद्रपारिको देश अमेरिकाबाट नेपाली राजदूत श्रीधर खत्री बिदा भई नेपाल आइसके। दक्षिणी छिमेकी भारतमा रहेका शंकरप्रसाद शर्माले भने आफ्ना कामकारबाही जारी नै राखेका छन्।

सरकारले २४ जेठमा भारत, अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। फिर्ता बोलाइएका अधिकांश राजदूत नेपाली कांग्रेसको कोटाबाट गएकाहरू थिए। फिर्ता बोलाइएका राजदूतले कानुन अनुसार १ महिना त्यहीँ बस्न पाउने समय हिजो (शनिबार) नै पूरा भइसक्यो। 

सरकारले असार ७ गते भारत, अमेरिका, बेलायतसहित ८ देशमा राजदूत सिफारिस गरेको थियो। बाँकी रिक्त रहेका ३ देशमा समेत सिफारिस गरेर निर्णय कार्यान्वयनमा लैजाने योजनामा सरकार थियो । तर, १७ साउनमा नेकपा एमाले र नेपाली कांग्रेसले वर्तमान सत्ता समीकरण भत्काउँदै नयाँ सरकार बनाउन सहमति गरेपछि त्यो सिफारिस अलपत्र छ।

यो घटनाले वर्तमान सरकारको भविष्यमा मडारिएको कालो बादलले नेपालको कूटनीतिक क्षितिजमा ल्याएको गन्जागोललाई बयान गर्दछ।

सिफारिस भएकाहरू फिर्ता हुँदैनन् : एमाले, पुनर्विचार गर्नुपर्छ : कांग्रेस
दुई किनारमा हिँडिरहेका नेपाली कांग्रेस र नेकपा एमाले असार १७ को सहमतिपछि एउटै डुंगामा सयर गर्नुपर्ने अवस्थामा आइपुगेका छन्। यस्तोमा आफूहरूबीचको मतभेद साँघुर्‍याउँदै साझा मतलाई फराकिलो पार्नुपर्ने बाध्यता यी दुई दललाई हुन्छ।

राजनीतिमा भइरहने उथलपुथलले कूटनीतिक क्षेत्रमा देखिएको गन्जागोल हटाउन पनि उनीहरूबीच बलियो साझा सहमतिको आवश्यकता छ। तर, उनीहरू तत्काल त्यस्तो सहमतिमा गइहाल्ने स्थिति छैन।

सरकारले २४ जेठमा फिर्ता गरेका राजदूतलाई निरन्तरता दिन सकिँदैन भन्नेमा दुई दलको साझा बुझाइ छ। सरकारले गरेको निर्णय कार्यान्वयनमा गइसकेकाले कानुनी जटिलताका कारण त्यसलाई रोक्ने पक्षमा दुवै दल छैनन्। तर, त्यसपछिको विषयमा भने दुई दलबीच साझा धारणा छैन।

नेकपा एमाले आफ्नो कोटाबाट सिफारिस भएका व्यक्तिहरूलाई नै अगाडि बढाउन चाहन्छ। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली उनीहरूलाई सिफारिस गरिएको देश परिवर्तन गर्न सकिने तर व्यक्ति परिवर्तन नहुने बताउँछन्।

‘नयाँ गठबन्धनको साझेदार आइसकेपछि ठाउँहरूको बारेमा पुनर्विचार होला,’ उनले नेपालखबरसँग भने, ‘तर, एमालेको कोटाबाट सिफारिस भएका व्यक्तिहरू यथावतै रहनुहुन्छ।’

नेकपा एमालेको कोटाबाट ५ देशका लागि राजदूत सिफारिस भएका थिए। जसमा अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना र दक्षिण कोरियाका लागि सुशील प्याकुरेल सिफारिस भएका थिए। प्याकुरेलले भने पद अस्वीकार गरेका थिए। 

त्यस्तै माओवादीको कोटाबाट बेलायतमा बिजन पन्त, जनता समाजवादी पार्टी (अशोक राई) बाट साउदीमा अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका थिए।

मुख्य देशहरू अमेरिका, भारत, बेलायत जस्ता देशमा कांग्रेसका कोटाबाट गएका राजदूतलाई फिर्ता बोलाइएको थियो। कांग्रेस महत्वपूर्ण देशका राजदूत छोड्न चाहँदैन। त्यसैले एग्रिमो (सिफारिस भएका देशको सहमति) आइनसकेका राजदूतको सिफारिसबारे पुनर्विचार गर्नुपर्ने बताउँछन्, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता एनपी साउद।

‘जुन राजदूतहरूको एग्रिमो आइसकेको छैन, त्यसको बारेमा अब बन्ने सरकारले रिभ्यु गर्नुपर्छ,’ उनले भने।

एमालेले कसरी मनाउँछ कांग्रेसलाई?
अब बन्ने सरकारको नेतृत्व गर्ने तयारीमा छ, नेकपा एमाले। त्यसैले आफ्नो सरकारको मुख्य साझेदार नेपाली कांग्रेसलाई भागबन्डामा खुसी बनाउने जिम्मेवारी पनि नेकपा एमालेकै हुनेछ।

यसबारे ज्ञवाली भन्छन, ‘नयाँ ढंगले बाँडफाँट गरेर राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्छ।’

कांग्रेसलाई मनाउन एमाले आफ्नो पार्टीको कोटाबाट सिफारिस भएका केही राजदूतको देश परिवर्तन गर्न तयार देखिन्छ। त्यस्तै माओवादी, एकीकृत समाजवादी लगायतको कोटाबाट महत्वपूर्ण देशमा गएका राजदूत फिर्ता बोलाएर कांग्रेसको कोटाबाट सिफारिस गर्ने सुविधा पनि एमालेलाई हुनेछ। 

एमालेको नेतृत्वमा बन्ने सरकारले माओवादी कोटाबाट चीनमा गएका विष्णुपुकार श्रेष्ठ र बेलायत सिफारिस भएका बिजन पन्त तथा एकीकृत समाजवादीको कोटाबाट रुसमा गएका मिलन तुलाधर र अस्ट्रेलियामा गएका कैलाश पोखरेललाई फिर्ता बोलाउन सक्छ। ती देशमा कांग्रेसको कोटाबाट राजदूत सिफारिस गरेर मनाउन सक्छ।

के गर्दै छन् फिर्ता बोलाइएका राजदूत ?
अमेरिकाबाट फिर्ता बोलाइएका राजदूत श्रीधर खत्री नेपाल आइसकेका छन्। उनले नेपाली दूतावासबाट असार १२ गते बिदा लिएका थिए। 

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले भने काम जारी राखेका छन्। सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतमा स्वागत गरेका थिए। फिर्ता बोलाउने निर्णयपछि पनि शर्माले स्वास्थ्यमन्त्री बनेका जेपी नड्डा र सुरक्षा सल्लाहकारमा पुनः नियुक्ति पाएका अजित डोभाल लगायतसँग औपचारिक भेटवार्ता गरेका थिए।

बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यले पनि औपचारिक भेटघाट जारी राखेका छन्। दक्षिण कोरियाका लागि राजदूत ज्योति प्याकुरेल पनि नेपाल फिर्ता आइसकेकी छैनन्। मलेसियामा राजदूत डिल्लीराज पौडेलले पनि कूटनीतिक भेटवार्ता जारी नै राखेका छन्।

साउदी अरबका लागि राजदूत नवराज सुवेदीलाई साउदीका केही संस्थाले बिदाइ गरे पनि दूतावासबाट औपचारिकरुपमा बिदा हुन बाँकी छ। स्पेनमा राजदूत शर्मिला पराजुली ढकाल पनि पनि औपचारिक कार्यक्रममा व्यस्त छिन्।

कतारका लागि राजदूत नरेशविक्रम ढकालले कतारका विदेश राज्यमन्त्रीसँग बिदाइ भेट गरिसकेका छन्। उनको पनि दूतावासबाट भने औपचारिक बिदाइ हुन बाँकी छ। डेनमार्कका लागि राजदूत रामसुरज राय र इजरायलका लागि राजदूत कान्ता रिजालको पनि बिदाइ हुन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .