ad ad

राजनीति


गृहमन्त्रीले हुकुमी शासन देखाउनुभयो : सांसद खतिवडा

गृहमन्त्रीले हुकुमी शासन देखाउनुभयो : सांसद खतिवडा

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०८१ आइतबार ११:४८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गरेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएका भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताएका हुन्। 

उनले मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने पनि बताए। 

‘मापसे गरेका मान्छेहरूलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे। यो कुन कानूनमा र कुन नियममा छ? गृहमन्त्रीले त्यो प्रहरीलाई पठाएको छ कि? मन्त्रालयबाट पत्राचार भएको छ कि? यसरी मुलुक चलाउने शासन पद्धतीको अन्त्य गर्न लडेको मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामीविरुद्धमा छौँ,’ उनले भने, ‘त्यसैले कसैको पनि श्रम शोषण गर्न पाइँदैन। कानून अनुसार मुलुकलाई अगाडी बढाउनु पर्दछ। कहिलेकाहीँ विद्यार्थीहरूले, विदेशीहरूले पनि स्वयंसेवा गर्छन्। पहेँलो ज्याकेट लगाउने मान्छेहरू सबै मापसेयुक्त हुन भन्ने भान भयो भने मुलुक कतातिर जान्छ? तिनीहरूको इज्जत रहन्छ रहँदैन। त्यसैले यो काम तुरुन्त बन्द गरेर कानून अनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् भन्ने माग गर्न चाहन्छु।’

उनले कानून बनाएर मात्रै सो काम गर्न आग्रह गर्दै उनले गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह समेत गरे। 

‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरुलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको सुरुवात गर्नुभएछ। कानुन बनाएर गर्दा असाध्यै राम्रो हो यसलाई हामी स्वागत गर्न चाहान्छौँ। राम्रो कामलाई धन्यवाद पनि दिन चाहन्छौँ,’ सांसद खतिवडाले भने, ‘तर मुलुक हुकुमी शासनमा चल्ने होइन। कानून अनुसार चल्नुपर्छ। कुनैपनि काम गर्दा कानून निर्माण गरेर, कानूनी राज्य अनुसार चल्नुपर्छ भन्ने हाम्रो अवधारणा हो।’

उनले मिडिया ट्रायल गरेर मुलुक नचलाउन भन्दै यस सम्बन्धमा सभामुखको रुलिङको समेत माग गरे।

‘मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन। कानुन अनुसार चलाउनु पर्‍यो। कसैको शोषण गर्न पाइँदैन। पत्रकारजस्तो बोलेर ट्वीट गरेर मुलुक चलाउने हो। कानुन अनुसार देश चलाउने पद्धतिको विकास गर्नुपर्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .