ad ad

राजनीति


सेतोपुलमा छोरीलाई ट्याक्सीमा कुराएर छोरासँग हिँडेका थिए थलीमा मृत भेटिएका कृष्ण

सेतोपुलमा छोरीलाई ट्याक्सीमा कुराएर छोरासँग हिँडेका थिए थलीमा मृत भेटिएका कृष्ण

उजिर कार्की
जेठ ८, २०८१ मंगलबार १३:२६, काठमाडौँ

काठमाडौँको सेतोपुलमा छोरीलाई ट्याक्सीमा बस्दै गर्नु भनेर भक्तपुर नगरपालिका–७ छलिङका कृष्ण नगरकोटी छोरासँग बाटो लागेका थिए।

सोमबार दिउँसो छोरीलाई सेतोपुलमा छाडेर हिँडेका कृष्ण नगरकोटी मंगलबार बिहानै थलीमा मृत फेला परे।

उता उनीसँगै ट्याक्सीमा गएका छोरा २१ वर्षीय रिचेन नगरकोटीलाई भने प्रहरीले सोमबार साँझ नै नियन्त्रणमा लिइसकेको थियो।

जिल्ला प्रहरी परिसर स्रोतका अनुसार, रिजेनले आफैँलाई ब्लेडले काटेर आत्महत्याको प्रयास गर्दा फर्पिङबाट प्रहरीले उद्धार गरेको हो।

उनको साथबाट प्रहरीले दुईवटा ब्लेड पनि बरामद गरेको छ।

यता थलीमा मृत फेला परेका कृष्ण नगरकोटीले पनि ब्लेडले काटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। थलीको उकालोमा बाबुले त्यहीँ आफैँलाई ब्लेडले काटेर आत्महत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ।

कृष्णको साथबाट प्रहरीले चारवटा ब्लेड फेला पारेको छ। चिकित्सकले दिएको प्रारम्भिक जानकारी अनुसार, कृष्णको राति १२ बजेपछि मृत्यु भएको हो। उनी पछिल्लो समय मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेको अनुसन्धानका क्रममा खुलेको छ।

छोरालाई उद्धार गरिसक्दा पनि उनले बाबुको बारेमा प्रहरीलाई कुनै जानकारी दिएका थिएनन्। 

यता छोरी २८ वर्षकी रश्मि भने हिजोदेखि नै भाइ र बाबु फर्किने प्रतीक्षामा कुरिरहेको पाइएको छ। प्रहरीले फेला पार्दा उनी सडकमै कुरिरहेकी थिइन्।

प्रहरीले संकलन गरेको हालसम्मको विवरणअनुसार, ट्याक्सी चलाएर गुजारा गर्ने कृष्णले पछिल्लो समय यात्रु बोक्न छाडेका थिए। उनले छोरालाई ट्याक्सीमा राखेर विभिन्न ठाउँमा जाने गरेको पाइएको छ।

अहिले प्रहरीले सोमबार साँझ उद्धार गरेका रिचेन र बिहान फेला परेकी रश्मिलाई जिल्ला प्रहरी परिसरमा सोधपुछका लागि राखेको छ।

उनीहरूसँग घटनाको सोधपुछ गरिरहेकाले थप कुरा खुल्दै जाने काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .