इलाम र बझाङमा आज (शनिबार) उपनिर्वाचन हुँदैछ। इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।।
यी दुवै स्थानमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।
निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको पनि आयोगले जनाएको छ।
आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएका छन्। इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन्।
नेकपा एमालेबाट निर्वाचित सुवास नेम्बाङको निधनपछी यहाँ उपनिर्वाचन हुन लागेको हो।
बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र निर्धारण गरिएको छ। बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।
नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा उपनिर्वाचन हुन लागेकाे हो।
इलाम- २ मा दलगत रुपमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरहादुर खड्का, रास्वपाका मिलन योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ र जनमतका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीबहादुर राई, नेमकिपाका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त राना मगर उम्मेदवार छन्।
बझाङमा सत्तारुढ दल नै एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यहाँ ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह र नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा मैदानमा छन्।
यस्तै राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा) का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट किशोरकुमार खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्ट उम्मेदवार छन्।
Shares
प्रतिक्रिया