ad ad

राजनीति


सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा छ : राष्ट्रपति

सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा छ : राष्ट्रपति

नेपालखबर
पुस २, २०८० सोमबार १६:४५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरू राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडिरहेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि नेपालीले गर्न परिरहेको बताए।

‘शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस्। आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ,’ उनले भने, ‘देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाई हामीहरूले नै गर्नुपरेको छ।’ 

राष्ट्रपति पौडेलले समावेशी विशेषतायुक्त अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको पनि बताए। 

पौडेलले भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त हाम्रो नेपाली समाजको एकताका लागि अहिलेको संविधान र यो व्यवस्था अत्यन्तै महत्त्वपूर्ण पक्ष हो भनेर हामीले बुझ्न जरुरी रहेको स्पष्ट पारे। 

‘तपाईँहरूलाई पनि जानकारी भएकै हो कि लिग अफ नेसन्स (league of nations) को असफलतापछि संयुक्त राष्ट्रसंघको जन्म भयो। द्वितीय विश्वयुद्धको समाप्तिपश्चात् व्यवहारमा आएको संयुक्त राष्ट्रसंघले आज ७८ वर्ष पूरा गरेको छ। विश्वमा शान्ति स्थापना गर्ने र साना मुलुकका समस्यालाई मुखरित गर्ने यस संस्थाको योगदानलाई हामी कति पनि अवमूल्यन गर्न सक्दैनौँ। तथापी यताका दशकहरू अस्थिरता र द्वन्द्वउन्मुख देखिन्छन्। यस्तो सांसारिक पृष्ठभूमिमा हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ। समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ।’ 

उनले राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरूको अहम् भूमिका रहने कुरा निर्विवाद रहेको बताउँदै कुनै पनि राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा मात्र निर्भर नभई त्यसको समुचित परिचालनका लागि आवश्यक ज्ञान, सिप, प्रविधिको विकास र प्राप्तिमा निर्भर पर्ने उल्लेख गरे।

ज्ञान, सिप, प्रविधिको विकासलाई प्रभावकारी, जीवनोपयोगी र मुलुकका लागि उपलब्धिमूलक बनाउन त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने उच्चशिक्षा समयसापेक्ष, बजारमुखी र विश्व बजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समय सापेक्ष नीति अंगाल्नु जरुरी रहेको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले वर्तमान युगमा शिक्षा बिनाको समाजको कल्पना पनि गर्न नसकिने भन्दै शिक्षा विकासका लागि पर्याप्त नभए पनि नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको स्पष्ट पारे।

उनले नेपाल यस क्षेत्रमा सभ्यता र संस्कृतिको सङ्गमस्थलका रूपमा रहेको बताउँदै भने, ‘यो हाम्रा लागि अवसरका साथै शक्ति पनि हो। बुद्ध र सीताको यस पवित्र  भूमिलाई विश्वमा चिनाउने अवसर पनि हो।’

उनले नेपालको अन्तर्राष्ट्रिय पहिचान र यस क्षेत्रमै जलवायुलाई स्थिर राख्ने कार्य नेपालका उच्च पहाड, खासगरी सगरमाथाले गरेको स्पष्ट पार्दै राष्ट्रपति पौडेलले भने, ‘तर विश्वको बढ्दो तापमानले गर्दा हाम्रो सभ्यताको प्रतीक हिमशिखर र सगरमाथा कालो पहाडका रूपमा परिणत हुँदैछन् भने जैवीकीय विविधता पनि नासिँदैछन्। यसै सन्दर्भमा नेपाल सरकारले पेरिस सम्झौता २०१५ साथै २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्य तहमा झार्ने प्रतिबद्धता राखेको छ। यसप्रति तपाईँ हामी सबैको चासो र चिन्ता रहिरहन आवश्यक छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .