प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित १५ औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहाम बोल्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसदको आगामी अधिवेशनबाट पारित हुने बताए।
सभामुख घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरू निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबी समेत गरे।
उनले भने, ‘अब अहिले त्यो संसदको कानून तथा न्याय समितिमा छलफल भएर पनि करिव टुंगिन लागेको छ। यसलाई टुंग्याउने अधिकार जनताको सार्वभौमसत्ता सम्पन्न माननीय सदस्यज्युहरू रहनुभएको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट यसलाई टुंग्याउने अधिकार उहाँहरुले राख्नु हुन्छ। उहाँहरुले यसको गरिमालाई बुझ्नु भएको छ। र, बुझेर छलफल गरिरहनु भएको छ । मलाई विश्वास छ–संसदको आगामी अधिवेशनमा टुंग्याउने काममा उहाँहरूले सफलता हासिल गर्नु हुनेछ। र, त्यसलाई सफलतापूर्वक टुग्याईसकेपछि हामीले एउटा उपलब्धि हासिल गर्नेछौँ।’
त्यस अवसरमा सभामुख घिमिरेले मानव अधिकारसँग सम्बन्धित कानून निर्माणमा पनि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
Shares
प्रतिक्रिया