ad ad

राजनीति


एउटै परिवारका ६ जना नेपाली सेनामा

एउटै परिवारका ६ जना नेपाली सेनामा

नारायण न्यौपाने
माघ १८, २०७६ शनिबार ६:४०,

गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका ६ जना दाजुभाइ भर्ती भएको पाइएको छ।

एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित गर्ने बाबुआमालाई सम्मान गर्ने परिपाटी शुरु गरेसँगै यो तथ्यांक सार्वजनिक भएको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङको घोराहीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा पाँच सैनिकका बाबु रोल्पा थवाङ–३ का ७० वर्षीय कर्णसिंह पुनलाई सम्मान गरी उक्त कार्यको सुरुआत गरे। भक्तबहादुर, प्रदीप, राजकुमार, नरजित र लालमुनी पुनका पिता कर्णसिंहलाई सम्मेलनमा रु १० हजार नगद र कदरपत्र प्रदान गरियो।

सैनिक कल्याणकारी निर्देशनालयका अनुसार सेनाले यस वर्ष एकै घरका चारभन्दा बढी सन्तान सेनामा हुने १५ जना अभिभावकलाई भूतपूर्व सैनिक सम्मेलनमा सम्मान गर्ने कार्यक्रम राखेको छ। प्रत्येक प्रधानसेनापतिको कार्यकालमा हुने भूतपूर्व सैनिक सम्मेलनमा चारभन्दा बढी सन्तान सैनिक सेवामा कार्यरतका अभिभावकलाई सम्मानस्वरुप रु १० हजार र कदरपत्र प्रदान गरिनेछ।

सेनामा चार–चार जना छोरा भर्ति भएका तेजबहादुर रावल, अनुरुपा बुढा र खड्गबहादुर वली सुर्खेतमा आयोजित भूपू सैनिक सम्मेलनमा सेनाबाट सम्मानित भए।

अटल विश्वास
उनीहरुलाई प्रदान गरिएको कदरपत्रमा लेखिएको छ, नेपाली सेनामार्फत राष्ट्र र नागरिक सुरक्षा, राष्ट्र निर्माण, प्रकृति संरक्षण, विपद् व्यवस्थापन, विश्व शान्तिजस्ता विशिष्ट सेवामा समर्पित हुन आफ्ना सन्तानलाई प्रेरणा प्रदान गरी सेनाप्रतिको अटल विश्वास, आस्था र सद्भावका लागि पु¥याएको योगदान उच्च मूल्यांकन गरिएको छ।

पाँच सैनिककी आमा वीरेन्द्र नगरपालिकाका कलादेवी सिँजापतिलाई पनि प्रधानसेनापतिले सोही समारोहमा नगद पुरस्कार र कदरपत्र प्रदान गरे। मुलुकमा भूतपूर्व सैनिक र एकल महिलाको संख्या करिब ७० हजार छ। सम्मेलनका क्रममा तत्क्षेत्रमा तैनाथ सैनिक गणद्वारा प्रस्तुत हुने झाँकीसहितको गीत संगीत र नृत्य मौलिक कला र संस्कृतिको प्रवद्र्धनमा योगदान पुग्दै आएको छ।

तेघरी व्यारेक धनगढीमा आयोजना हुने सम्मेलनमा चार–चार जना सन्तान सैनिक सेवा रहने अभिभावक हरिसिंह रावत (बैतडी), दत्तराम ओड (डडेल्धुरा) हरिनादेवी भण्डारी (बैतडी) धर्मादेवी ऐर (डडेल्धुरा) ममतादेवी चैसिर (दार्चुला) र रवीलाल पौडेल (बर्दिया)लाई सेनाले सम्मान गर्दैछ।

को हुन् ६ सैनिकका मातापिता?

डोटी, भूमिराजमाडौँ–९ का प्रेमराज र बासुली जैसीका पाँच छोरा र एक छोरी नेपाली सेनामा कार्यरत छन्। जैसीदम्पतीका छोरा टीकाराम, धर्मराज, छविलाल, भोजराज र हरिश तथा छोरी सरिताकुमारीले सेनाको संगठनमा रही देशको सेवा गरेका छन्। इमामनगर व्यारेक नेपालगञ्जमा हुने कार्यक्रममा चार सैनिकका पिता बर्दिया बाँसगढी नपा–८ रविलाल पौडेल पनि नेपाली सेनाबाट सम्मानित हुने भएका छन्।

सम्मेलनका क्रममा भूपू सैनिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका उत्कृष्ट व्यवसायीलाई पुरस्कार, नयाँ उद्यमीलाई सहुलियत ब्याजदरमा कर्जा, ज्येष्ठ भूपू र एकल महिलालाई सम्मान तथा अशक्तलाई ह्विलचियर प्रदान गर्दै आएको छ।

नवलपरासीकी ७३ वर्षीया चुमादेवी जिसीका छोरा तिलक, चित्र, रामचन्द्र, रामबहादुर, राजेन्द्र र प्रवीणले सैनिक सेवाबाटै राष्ट्र र जनताको सेवा पु¥याए। उनीहरुकी आमा चुमादेवीलाई सेनाले फागुन १४ गते बुटवलमा आयोजना हुने सम्मेलनमा सम्मान प्रदान गर्ने कार्यक्रम छ। पाल्पा तिनाउ–६ का ८५ वर्षीय कुलबहादुर सारुका चार जना छोरा पनि सैनिक सेवामै छन्।

‘चट्टानझैँ दृढ, माहुरीझैँ गोलबद्ध’
सम्मेलनका क्रममा प्रधानसेनापति थापाले गौरवशाली इतिहास र परम्परा बोकेको नेपाली सेनामा प्रवेशका लागि सन्तानलाई अभिप्रेरित गर्न भूतपूर्व सैनिकलाई आह्वान गरे। सम्मेलनमा सैनिकले नेतृत्वसँग आफूलाई परेको पीरमर्का सुनाउने र नेतृत्वले त्यसलाई सम्बोधन गर्ने प्रयास हुँदै आएको छ।

भूतपूर्व सैनिक सम्मेलन यस वर्ष अब धनगढी, बुटवल, नेपालगञ्ज, तनहुँ (खैरेनीटार) र पोखरामा हुँदैछ। दाङ र सुर्खेतमा भने यही माघ १२ र १३ गते सम्पन्न भइसकेको छ। नेपाली सेना भूतपूर्व सैनिक सम्मेलनका क्रममा प्राप्त सुझावका आधारमा बहालवाला तथा भूपूका लागि शिक्षा, स्वास्थ्य, स्वोरोजगार र सीपमुलुक कार्यक्रम विस्तार गर्दै आएको छ। भूपू सैनिकलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले भने, ‘हामी सबैलाई सदा चट्टानझैँ दृढ, माहुरीझैँ गोलबद्ध र एकीकृत रहन प्रेरणा मिलोस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .