नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वयले संयुक्तरुपमा ल्याएको राजनीतिक प्रतिवेदनमा अमेरिकाले चीनलाई घेरा हाल्न र कमजोर पार्न इण्डो प्यासिफिक रणनीति अगाडी बढाएको बताइएको छ।
‘उता संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ,’ प्रतिवेदनको पृष्ठ ८ मा भनिएको छ, ‘यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभुत्व विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इण्डो प्यासिफिक रणनीति अगाडी बढाइरहेको छ।’
यस सन्दर्भमा हाम्राे पार्टी र सरकारले आफू कुनै पनि बाह्यय सैन्य गठबन्धन र सैन्य रणनीतिकाे हिस्सा नभएकाे र हुन पनि नसक्ने कुरा स्पष्ट गरेकाे प्रतिवेदनमा बताइएकाे छ।
‘यदि सैन्य रणनीतिकै रुपमा अन्य कुनै आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडि आएमा नेपालले त्यस प्रकारका कुनैपनि सहयोगको प्रस्ताव मञ्जुर गर्न सक्तैन। तर नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखि संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशहरुसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न नेपाल सँधै तत्पर रहेको छ।’
सोहि प्रतिवेदनको पृष्ठ ७ मा चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) ले विश्वव्यापीरुपमा आफ्नो कनेक्टिभिटी र आर्थिक सहयोगको क्षेत्र विस्तार गर्ने एउटा वृहद् साझेदारीको रणनीतिको रुपमा काम गरिरहेको जनाएको छ। ‘नेपालले पनि बीआरआईमा हस्ताक्षर गरेर आफूलाई त्यो सम्बन्ध र सहयोग विस्तारको साझेदार बनाएको छ,’ प्रतिवेदनमा उल्लेख छ।
Shares
प्रतिक्रिया