गण्डकी प्रदेशका आर्थिक मामला तथा योजनामन्त्री किरण गुरुङले पहिचान भनेको नाक नभई भाषा र संस्कृति भएको बताएका छन्।
हिमाली सांस्कृतिक परिवार पोखराले बुधबार गरेको स्रष्टा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।
‘पहिचान भनेर नाक खोज्ने हैन, कसको नाक लामो छ, कसको थेप्चो छ भन्ने होइन’, उनले भने, ‘हामीले बोकेर हिँडेको अनुहार पहिचान हैन, मान्छे कति अग्लो छ, उसको चौडाइ कति छ भन्ने पनि पहिचान हैन, पहिचान हाम्रो धर्म र संस्कृतिमा खोज्ने हो।’
मन्त्री गुरुङले गण्डकी प्रदेश सरकार संस्कृति संरक्षणको लागि कानुन निर्माणमा लागेको जानकारी दिँदै कास्कीको पाउँदुरमा सांस्कृतिक ग्राम बनाउने तयारी पनि गरिएको बताए। संस्कृति सबैको साझा हुने र जन्मदेखि मृत्युसम्मका हरेक क्रियाकलाप नै संस्कृति भएको उनको भनाइ थियो। जाति समुदाय अनुसार संस्कृति फरक हुने र त्यही संस्कृतिमार्फत पहिचान खोजिनुपर्ने उनको भनाइ थियो।
लोकगीत निजी हुँदैन
मन्त्री गुरुङले केही समय अगाडि प्रकाश सपूत र शम्भु राईबीच गीतको कपिराइटलाई लिएर भएको विवादको प्रसंग झिक्दै लोकगीत र लोकलय कसैको निजी नहुने बताए।
‘लोकगीत भनेको पुस्तान्तरण हुँदै आउने चिज हो, लोकगीतमा कसैले नयाँपन दिनसक्छ, त्यो एउटा कुरा हो तर लोकगीत चोरियो भन्न सकिँदैन’, उनले भने, ‘यस्तो भयो भने भोलि जसले पनि गीत चोरी भयो भन्नसक्छ, गलबन्दी वा शम्भु राईको चाहिँ सृजना हुनसक्छ, त्यसलाई लोकगीत भन्न भएन।’ उनले सृजनाको बाटो बन्द गर्न कसैले पनि नमिल्ने बताए।
कार्यक्रममा संस्कृति संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ अभिनन्दित गरिएको थियो। हिमाली सांस्कृतिक परिवारको २३ औँ वार्षिकोत्सवको अवसरमा परिवारका संस्थापक अध्यक्ष रुपेनबाबु स्मृति पुरस्कारबाट पुराना कलाकार चिजा गुरुङ ताङबेलाई नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो। दुबै स्रष्टालाई मन्त्री गुरुङले अभिनन्दन र पुरस्कृत गरेका हुन्।
हिमालीले नेपालको पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्मका नेपाली लोकसंस्कृतिको संरक्षण र प्रस्तुति गर्दै आएको छ। यसैगरि पुराना लोकबाजा संरक्षणमा पनि हिमालीको योगदान रहेको छ।
कार्यक्रममा बोल्दै अभिनन्दित व्यक्तित्व तीर्थ श्रेष्ठले नेपालको जस्तो विविधता कतै नभएको बताए। उनले यही विविधताको संरक्षण हुनुपर्नेमा पनि जोड दिए।
हिमाली सांस्कृतिक परिवारका प्रमुख संरक्षक तथा संस्कृतिकर्मी चेतन कार्कीले संस्कृतिको संरक्षणले नै राष्ट्रको पहिचान कायम हुने बताए।
प्रतिक्रिया