राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बिहीबार अपरान्ह राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका थिए।
भेटमा प्रधानमन्त्री प्रचण्डले संसद् बैठक अवरुद्ध भएकोबारे चासो राखेका थिए।
‘राष्ट्रपतिलाई भेट्न पीएम जानुभएको थियो। भेटमा राष्ट्रपतिले संसद अवरोधबारे चासो राख्नुभयो। संसद् खुलाउन भइरहेको प्रयत्नबारे उहाँले ब्रिफिङ गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहका गोविन्द आचार्यले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म भइरहेको छलफलबारे ब्रिफिङ गरेका थिए।
स्रोतका अनुसार भोलि (शुक्रबार) सभामुखलाई भेटेर राष्ट्रपतिले संसद्को गतिरोध हटाउनेगरी समन्वयकारी भूमिका खेल्न आग्रह गर्ने सम्भावना छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुनपर्ने मागसहित संसद् बैठक अवरुद्ध गर्दै आएको छ।
Shares
प्रतिक्रिया