ad ad

राजनीति


प्रस्तावित राजदूतहरूमाथिको उजुरीमा छलफल नहुने, परराष्ट्रमन्त्रीलाई संसदीय समितिले बोलायो

प्रस्तावित राजदूतहरूमाथिको उजुरीमा छलफल नहुने, परराष्ट्रमन्त्रीलाई संसदीय समितिले बोलायो

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठक


नेपालखबर
साउन १६, २०८० मंगलबार १५:६, काठमाडौँ

संसदीय सुनुवाइ समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो। उजुरी छलफल गर्न नै लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने विषयमा बैठकमा आम सहमति भएको समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

राजदूत सिफारिस समावेशी नभएको निष्कर्ष निकाल्दै बैठकले सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई पनि बोलाउने निर्णय गरेको छ। भोलि (साउन १७) गते बस्ने बैठकमा सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई बोलाउने निर्णय पनि गरिएको समितिका ज्येष्ठ सदस्य कार्कीले बताए।

‘परराष्ट्रमन्त्रीजीलाई भोलि बोलाउनुस्। उहाँको कुरा सुनौं। त्यसपछि मैले बुझे अनुसार अहिलेलाई यो उजुरीकर्ताको गम्भिर खालको उजुरी नभएकाले नबोलाउने भन्ने खालको मैले आम सहमति भएको बुझेँ,’ उनले भने, ‘तर यो नै नजिर बन्न सक्दैन। हाललाई उहाँलाई नबोलाउने, परराष्ट्रमन्त्रीजीलाई बोलाउने। त्यसपछि कामकारबाही हाम्रो अगाडि बढाउने।’

सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरव इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाईल्याण्डका लागि धनबहादुर ओली र फ्रान्सका राजदूतमा सुधीर भट्टराईको नाम प्रस्ताव गरेको थियो।

संसदीय सुनुवाई समितिले उनीहरूमाथिको सुनुवाइ प्रक्रिया सुरु गर्नका लागि यस अघिको बैठकमा उजुरी आह्वानका लागि १० दिने सूचना जारी गरेको थियो। तर उजुरीमाथि छलफल नगर्ने भएपछि अव उनीहरूको सुनुवाइको प्रक्रिया समितिमा सुरु हुन्छ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .