ad ad

राजनीति


यस्तो रहेछ सीता दाहालको दाहसंस्कारका दिन तोसिमा कार्कीले बोलेको पूरा भिडिओ

यस्तो रहेछ सीता दाहालको दाहसंस्कारका दिन तोसिमा कार्कीले बोलेको पूरा भिडिओ

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार १२:५७, काठमाडौँ

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहाललाई श्रद्धाञ्जली दिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले दिएको अभिव्यक्ति निकै विवादित बनिरहेको छ। 

प्रधानमन्त्री प्रचण्डको परिवारलाई समवेदना दिन बुधबार पेरिसडाँडा पुगेकी सांसद डा. कार्कीले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा द्वन्द्वकालका कुरा झिकेर प्रधानमन्त्री प्रचण्डलाई जुन सुझाव दिइन्, त्यसले मृत्युको शोकमा पनि ‘राजनीतक बदलाको भावनायुक्त असंवेदनशील र अमानवीय’ अभिव्यक्ति दिएको भन्दै खासगरी सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। 

तर सँगैसँगै आफूले बोलेको पूरा भिडिओ नराखी केवल नकारात्मक भनाइजति मात्र काटेर क्लिप्स सार्वजनिक गरी आफ्नो भनाइ ‘तोडमोड’ गरिएको दाबी सांसद कार्कीले गरिरहेकी छन्। र, पनि त्यो ‘तोडमोड’ गरिएको भनाइले सम्बन्धित पक्षलाई चोट पुगेको भए माफी दिन पनि उनले आग्रह गरेकी छन्। 

यसै क्रममा उनले दोस्रोपटक क्षमा माग्दै आफूले बोलेको पूरा भिडिओ पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। जुन पूरै सुनेपछि आफूले गलत नबोलेको प्रमाणित हुने दाबी सांसद कार्कीले गरेकी छन्।    

‘प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिनसक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन राष्ट्रको लागि के गर्न सक्नुहोला त भन्ने प्रश्नहरू पनि आउनसक्छ’ यति भनाइ मात्र काटेर भिडिओ सार्वजनिक गरिएकाले आफू नकारात्मक देखिएको दाबी गर्दै उनले सार्वजनिक गरेको पूरा भिडिओमा भनेकी छन्, ‘प्रधानमन्त्रीज्यूलाई म के भन्न चाहन्छु भने उहाँले यसरी पटकपटक परिवारकै सदस्यहरू गुमाउँदै गर्दाखेरि उहाँले फर्किएर आफू एउटा द्वन्द्वकालमा हुँदै गर्दा, एउटा क्रान्ति सुरु गर्दैगर्दा यस्ता तमाम आफ्ना परिवारका सदस्यहरू, श्रीमानहरू गुमाएका, श्रीमती गुमाएका, छोराछोरी गुमाएका ती तमाम आमनागरिकको दुःखलाई पनि उहाँले सम्झनुपर्छ। आफ्नै दुःखसरह बुझ्नुपर्छ र त्यसको लागि के गर्नुपर्छ, कसरी सम्बोधन हुनसक्छ भन्ने कुराचाहिँ प्रधानमन्त्रीको हैसियतमा भइसकेको एउटा राष्ट्रले नै पिताका रूपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ र त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ। यो भन्दै गर्दा हामीले दबाब होइन, उहाँप्रति समवेदना नै दिन खोजेको हो। श्रद्धाञ्जली सीता दाहालज्यूलाई टक्र्याउँदै गर्दा उहाँले एउटा शक्तिको रूपमा यसलाई लिएर अगाडि बढ्नूस्, तमाम आमनागरिकको एउटा सम्बोधन गरेर, आफ्ना परिवारको सदस्यहरू गुमाएका ती सबै सहिदहरू र सहिदका परिवारहरूलाई पनि उहाँले सम्झनुपर्छ र सम्बोधन गर्नुपर्छ भन्न चाहन्छु।’

तल पढ्नुहोस् डा. तोसिमा कार्की आफैँले सार्वजनिक गरेको पूरा भिडिओमा उनले भनेका कुरा जस्ताको तस्तै (पुछारमा भिडिओ पनि समावेश छ) :                

नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र जुन हामीले उपभोग गरिरहेका छौं। जुन व्यवस्थामा बसेर क्रान्तिको आवाज उठाइरहेका छौं। हैन, त्यो व्यवस्था ल्याउनका लागि एउटा आफ्नो जीवनभर संघर्ष गरेर, आफ्नो जीवनलाई अर्पेर प्रधानमन्त्री आफ्नो श्रीमान् पटकपटक भइरहँदा पनि कुनै पदको लोभ नगरीकन, कुनै पनि पदको बार्गेनिङ नगरीकन यसरी चैँ एउटा जीवन अर्पेर हँ...एउटा उदाहरणका रूपमा अँ..उहाँ बस्नुभएको सीता दाहाललाई हँ...म उहाँलाई सम्झन चाहन्छु, उहाँलाई हार्दिक श्रद्धाञ्जली टक्र्याउन चाहन्छु।

हामी एउटा अवस्था परिवर्तन, एउटा क्रान्तिको विचार लिएर एउटा नयाँ पार्टीका रूपमा आउँदै गर्दा पनि उहाँहरूप्रति हामीले राख्नुपर्ने सम्मान सदैव रहनेछ। इतिहासले सम्झनुपर्छ। उहाँहरूलाई भन्न चाहन्छु र उहाँहरूसँगै संघर्ष गरेका तमाम् महिलाहरू जसले हिजोको दिन उत्पीडन, शोषणको विरुद्धमा होमिए, हातहातमा बन्दुक उठाएर वनजंगल गएर हैन, आफ्नो श्रीमान् सिउँदो पुछिँदा पनि जुन एउटा संघर्ष गरिरहे आफ्नो छोराका लागि, श्रीमानको लागि, हैन, र, आफ्नो भविष्यको लागि उहाँहरूले नै दिनुभएको एउटा व्यवस्थामा हामी टिकेर अहिले , हामीले एउटा परिवर्तनको आयाम रच्न खोजिरहेका छौँ, इतिहासले उहाँहरू जस्तो व्यक्तित्वलाई सम्मानपूर्वक सम्झनपर्छ, सम्मानपूर्वक पूजा गरेर राख्नुपर्छ भन्न चाहन्छु। र, उहाँको शोकसन्तप्त परिवारलगायत प्रधानमन्त्रीज्यूलाई पनि यो क्षणले कति पनि विचलित नहुननका लागि म सन्देश पनि दिन चाहन्छु। 

प्रश्न– तपाईं एउटा महिला भएको हिसाबले पनि सोधेँ, उहाँले जनयुद्धमा एउटा आफ्नो भूमिका निर्वाह गरेर...(बीचमा माइक्रोफोन बज्छन्, निधो पाइँदैन)...तपाईं एज महिला भएर उहाँबाट प्रेरणाचाहिँ के लिनुहुन्छ? 

तोसिमा– उहाँबाट हामीले लिनुपर्ने प्रेरणा भन्दाखेरि सदैव उहाँले जुन क्रान्ति गर्न खोज्नुभएको, आफ्नो श्रीमानले सुरु गर्नुभएको अभियान, त्यो मात्र होइन, आफूले पनि एउटा नेतृत्व गर्दै हिँड्नुभएको थियो तर कहीँ पदको लोभ गर्नुभएन नि! हैन, आफ्नो क्षमता नहुँदैखेरि पद माग्नुभएको होइन, अहिले हामीले देखिरहेका छौँ– विभिन्न शीर्ष नेताहरूले आफ्ना श्रीमतीहरूलाई, आफ्ना नातावाद, कृपावादको हामीले देखिरहेका छौँ, तर त्यो छैन नि त! तर त्यो मात्र हैन, उहाँले जीवनभरि एउटा संघर्ष, एउटा क्रान्ति गरिरहँदा पनि आफ्नो छोरा गुमाउँदा पनि कति पनि विचलित नभईकन एउटा राष्ट्रकै गरिमामय पदमा हुनुभएको श्रीमानको सदैन साथ दिइराख्नुभयो, त्योबाट पनि हामीले के बुझ्न सक्छौँ भन्दाखेरि, त्यो मात्र हैन, हिजोका दिनमा संघर्ष गर्दै रहेका, क्रान्तिमा होमिएका तमाम ती महिला दिदीबहिनीहरू जो हिजो बलात्कारजस्तो काण्डहरूबाट पनि भोग्नुपर्‍यो हैन, त्यस्तोसम्मको पीडा भोग्नुपरेको थियो, त्यो शोषित हुनुपरेको थियो, उत्पीडन भोग्नुभएको थियो, त्यस बाबजुद पनि एउटा व्यवस्था स्थापना गर्नको लागि, समग्र नागरिकहरूको लागि जुन संघर्ष गर्नुभाको छ, उहाँहरू चैँ उदाहरणीय हुनुपर्छ। हामीले महिलाहरूले नयाँ युगका एउटा क्रान्तिमा होमिएका हामीजस्ता युवा, महिलाहरूले पनि उहाँबाट सिक्नुपर्ने कुराहरू छ भन्न चाहन्छु।

प्रश्न– तपाईंले यो भन्दै गर्दा जस्तो प्रचण्ड–पत्नीको एकखालको प्रशंसा गर्नुभो, त्यहाँभित्र जस्तै प्रचण्डले पनि श्रीमतीका लागि चैँ लागिपरे भन्ने एउटा उदाहरण छ, जस्तो : उहाँ श्रीमतीकै उपचारका लागि हरेक आफ्नो समय त्याग गरिरहनुभयो, त्यल्लाई चैँ कसरी लिनुहुन्छ? 

तोसिमा– त्यसलाई त अब हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ, परिवार हुन्छ, त्यो परिवारलाई संरक्षण गर्नुपर्ने, जोगाउनुपर्ने दायित्व हुन्छ, त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिनसक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन राष्ट्रको लागि के गर्न सक्नुहोला त भन्ने प्रश्नहरू पनि आउनसक्छ, त्यो कारणले सायद मैले बालेन्सै तरिकाले अघि लाग्नुभएको भनेर म बुझ्छु। हैन, अहिले पत्नीवियोग दुःखमा पर्नुभएको छ, पुत्रको दुःख पनि उहाँले भोग्नुभएको छ, त्यो बाबजुद चैँ उहाँले एउटा प्रधानमन्त्रीजस्तो पदमा बसेर गर्न खोजिराख्नुभाको छ, त्यसमा चैँ अहिले विक्षिप्त भएको अवस्थामा हामी धेरै टिकाटिप्पणी नगरौँ। उहाँलाई साथ नै दिनुपर्छ हामीले जनताले भन्दै गर्दा अरू राजनैतिक हिसाबकिताब, राजनैतिक मुद्दाहरूका कुरा त छँदै छन्। 

प्रश्न– प्रधानमन्त्री त पारिवारिकविहीन हुनुभो, श्रीमतीविहीन हुनुभो, केही भन्न चाहनुहुन्छ?

तोसिमा– प्रधानमन्त्रीज्यूलाई म के भन्न चाहन्छु भने उहाँले यसरी पटकपटक परिवारकै सदस्यहरू गुमाउँदै गर्दाखेरि उहाँले फर्किएर आफू एउटा द्वन्द्वकालमा हुँदै गर्दा, एउटा क्रान्ति सुरु गर्दैगर्दा यस्ता तमाम आफ्ना परिवारका सदस्यहरू, श्रीमानहरू गुमाएका, श्रीमती गुमाएका, छोराछोरी गुमाएका ती तमाम आमनागरिकको दुःखलाई पनि उहाँले सम्झनुपर्छ। आफ्नै दुःखसरह बुझ्नुपर्छ र त्यसको लागि के गर्नुपर्छ, कसरी सम्बोधन हुनसक्छ भन्ने कुराचाहिँ प्रधानमन्त्रीको हैसियतमा भइसकेको एउटा राष्ट्रले नै पिताका रूपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ र त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ। यो भन्दै गर्दा हामीले दबाब होइन, उहाँप्रति समवेदना नै दिन खोजेको हो। श्रद्धाञ्जली सीता दाहालज्यूलाई टक्र्याउँदै गर्दा उहाँले एउटा शक्तिको रूपमा यसलाई लिएर अगाडि बढ्नूस्, तमाम आमनागरिकको एउटा सम्बोधन गरेर, आफ्ना परिवारको सदस्यहरू गुमाएका ती सबै सहिदहरू र सहिदका परिवारहरूलाई पनि उहाँले सम्झनुपर्छ र सम्बोधन गर्नुपर्छ भन्न चाहन्छु।

हेर्नुहोस् भिडिओ-     

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .