व्यापक विवादमा परेपछि महामन्त्री डा. मुकुल ढकालसहित तीन जना नेताहरुले तयार पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दस्ताबेज पुनर्लेखन हुने भएको छ।
जेठ १६ गते तयार पारिएको दस्ताबेज अध्ययनका लागि केन्द्रीय सदस्य र प्रदेश सभापतिलाई पठाइएको थियो। असार २ गतेभित्र सुझाव दिन समयसीमा तोकिएको थियो।
तर, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजीजस्ता व्यवस्था प्रस्ताव गरिएको मस्यौदा समय सुहाउँदो नभएको भन्दै नेताहरुले तीव्र विरोध जनाएका छन्।
अधिकांश नेताले मस्यौदामा समेटिएको विषयप्रति असहमति दर्ज गराएपछि फेरि लेखिन लागिएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
महामन्त्री ढकाल, परियार, डा.स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनाल सहितका नेतालाई पुनर्लेखनको जिम्मा दिइएको छ।
‘धेरै विज्ञ साथीहरुको टिम बनाएर दस्ताबेज पुनर्लेखन गर्दैछौँ,’ परियारले नेपालखबरसँग भने, ‘अहिले लेखिएको दस्ताबेजमा धेरै कुरा छुटेका छन्। समय सुहाउँदो पनि छैन।’
जेठ ९ देखि एक हप्ता लगाएर महामन्त्री ढकालसहित केन्द्रीय सदस्य रमेश प्रसाईं र केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदीले धरानको भेडेटारमा बसेर जेठ १६ गते दस्ताबेज मस्यौदा तयार पारेका थिए।
त्यही दिन केन्द्रीय सदस्य र सांसदलाई अध्ययनका लागि पठाएको थियो।
‘नयाँ युगको नयाँ संकल्प’ भन्दै तयार पारिएको दस्ताबेज मस्यौदालाई असार ७ गते केन्द्रीय समिति बैठकमा छलफल चलाएर संशोधन सहित पास गर्ने तयारी थियो। असार ७ गते रास्वपा स्थापना भएको पहिलो वर्ष पुग्दैछ।
तर, मस्यौदा अध्ययन गरेका नेताहरुले धेरै कुरामा चित्त बुझाएनन्।
‘मस्यौदामाथि प्रारम्भिक छलफल सुरु हुँदै साथीहरुले यो बिलकुलै भएन, पार्टी जीवनका लागि गम्भीर त्रुटि भयो भन्नुभयो,’ परियारले थपे, ‘००७ साल, ०३५ सालको कुरा राखेर अहिलेको युगको प्रतिनिधित्व गर्दैन।’
‘अहिले द्वन्द्व फरक छ, समाजको चरित्र, विश्व परिवेश, पश्चिमी र दक्षिण एसियाको अवस्था सबैलाई अध्ययन गरेर नयाँ विचार, सिद्धान्त र दर्शन दस्ताबेजमा चाहिन्छ,’ उनले थपे, ‘तर, यो मस्यौदामा सार्वजनिक खपतमा गएर एकपक्षीय कुरा मात्र समेटिएको रहेछ।’
नेपालको राजनीतिले प्राप्त गरेको उपलब्धि नयाँ, भिन्न र मौलिक खालको रहेको कुरालाई छुटाउन नहुने बताए।
‘हाम्रा कतिपय विशिष्ट कुराहरु दस्ताबेजमा परेका रहेनछन्, आज ज्ञानको दायरा फरक छ, अनुभूति र भोगाइ भिन्न छ यसलाई नसमेटी दस्ताबेज राम्रो बन्दैन,’ परियारले भने।
दस्ताबेजमा समेटिएका केही विषय हट्ने र धेरै नयाँ समावेश गर्ने उनको भनाइ छ। त्यसका लागि बाहिर रहेका विज्ञ व्यक्तिको पनि सहयोग लिइने उनी बताउँछन्। महामन्त्री डा. ढकालले पनि दस्ताबेजको मस्यौदा सर्वस्वीकार्य बन्न नसकेको स्वीकार गरे।
हामीले ड्राफ्ट नै भनेर नेताहरुलाई दिएका थियौँ,’ ढकालले गुनासो गरे, ‘अध्ययन गरेर त्यसमा संशोधन सुझाव मागेकै हौँ। तर, विचार निर्माणमा बहस पनि भएन, समृद्ध बनाइनुपर्छ भने पनि कसरी भन्ने सुझाव आएन।’
नेताहरुका अनुसार मस्यौदामा नेपालको गर्विलो इतिहास राखिएकोदेखि प्रदेश संरचना खारेजको प्रस्ताव, धर्मको विषयमा समेत नेताहरुले तीव्र असन्तुष्टि जनाएका छन्।
केन्द्रीय सदस्य गणेश कार्कीले नेपालको इतिहास गर्विलो भन्ने आधार मागेका थिए। उनले भनेका थिए– ‘इतिहासको समीक्षा गर्दा नेपालका नागरिकमाथि भएको दमन बिर्सन हुँदैन।’
सभापति रवि लामिछानेले पनि दस्ताबेजको मस्यौदामा कतिपय शब्द सिधै प्रहार गर्ने खालको भएकोले ‘रिराइट’ गर्न निर्देशन दिएका थिए।
‘डाइरेक्ट एट्याक गर्नुहुँदैन, मिठो भाषा बनाउनुपर्छ, सफ्ट लेख्नुपर्छ,’ लामिछानेको सुझाव थियो।
अब दस्ताबेज मस्यौदा पुनर्लेखन गर्ने भएपछि भदौभित्र मात्र सार्वजनिक गर्ने तयारी छ। ६८ पृष्ठको दस्ताबेजको मस्यौदा व्यापक छलफल गरेर असार ७ भित्र पारित गर्ने तयारी थियो। त्यही भएर अध्ययन गर्नका लागि तीन हप्ताको समय दिएर सबै नेतालाई इमेलमा पठाइएको ढकालले बताए।
‘फेरि लेख्नुपर्ने भएपछि भदौमा मात्र सकिन्छ,’ उनले थपे।
पार्टी स्थापना भएको ६ महिनामै (४ मंसिर २०७९) प्रतिनिधि सभामा रास्वपाले २० सांसद जितेको थियो। १० वैशाख २०८० मा भएको उपचुनावमा रास्वपाले तनहुँ १ जितेर अर्काे सांसद थप गर्यो।
अहिले संगठन विस्तारमा लागिरहेको रास्वपाका २ लाख सदस्य भइसकेका छन्। सांसदहरुमा विभिन्न क्षेत्र र समुदायका छन्। दस्ताबेजको मस्यौदामा थुप्रै कुरा छुटेको नेताहरुले गुनासो गरेका थिए।
सभापति लामिछानेलाई नेताहरुले दस्ताबेज पुरै सच्याउनुपर्ने सुझाव दिएका थिए। दस्ताबेज पुनर्लेखनका लागि छलफल गर्न सांसद, प्रदेशका नेता र केन्द्रीय सदस्य मिसाएर ७/८ जनाको ७ समूह बनाइएको छ।
रास्वपाको ३९ सदस्यीय केन्द्रीय समिति छ।
महामन्त्री एवम् प्रवक्ता ढकाल नयाँ विचार जन्माउनकै लागि ड्राफ्ट बनाइएको र संशोधन गर्ने विकल्प खुला राखिएको दाबी गर्छन्।
‘हामीले ड्राफ्ट नै भनेर पठाएका थियौँ, ड्राफ्ट मेल गर्ने वित्तिकै केही साथीहरुले त हेर्दै हेर्नु भएनछ,’ उनले नेपालखबरसँग भने, ‘साथीहरुले यसलाई निर्णय भनेर बुझ्नुभएछ अनि विवाद भएको जस्तो देखियो।’
पार्टीको विचार निर्माणकै लागि बीचमा बसेर दस्ताबेज लेखिएको उनको भनाइ छ।
पर्याप्त छलफलबिनै दस्ताबेज लेखिएको, कुनै दलसँग मिल्नेगरी विचार निर्माण गर्न खोजिएको नेताहरुले टिप्पणी गरेका छन्। तर, ढकाल भने दस्ताबेज लेखनकै लागि ४२ वटा मुलुकको संविधान र शासकीय व्यवस्था अध्ययन गरेको दाबी गर्छन्।
‘विभिन्न देशमा अभ्यास भइरहेको व्यवस्था अध्ययन गरेर दस्ताबेज तयार पारिएको थियो, यो कुरा साथीहरुलाई बुझाउन सकिएन,’ ढकालले भने।
यस्तो छ दस्तावेज
Shares
प्रतिक्रिया