नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस कताकता कुहिरोको कागजस्तो भइरहेको टिप्पणी गरेका छन्।
प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी अहिले फाली निस्केको हलोजस्तो भएको कटाक्ष गरेका हुन्।
‘उत्साह बोकेर आएको साथीहरू देशभर छन्। यो उत्साह घट्दै गएको छ। यसलाइ जोगाउन नेतृत्वले ध्यान दिनुपर्ने छ। तपाईंहरूलाइ हेरेर हामी राजनीतिमा आएका हौँ’, उनले भने।
शिवाकोटीले पार्टीको केन्द्रीय समितिको बैठक नराखेर सभापति शेरबहादुर देउवाले आधिकारिक धारणा राख्न छेकेको आरोप लगाए। उनले केन्द्रीय सदस्यहरूले पनि बोल्ने ठाउँ चाहिएको भन्दै बैठक बोलाउन माग गरे।
‘९ महिनादेखि केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन। पदाधिकारी र पूर्व पदाधिकारीको नाममा पार्टीको निर्णय हुँदै आएको छ’, उनले भने, ‘हामीले पनि बोल्ने ठाउँ चाहिएको छ।’
पार्टीमा विधानको पालना हुन नसकेको आरोप लगाउँददै केन्द्रीय सदस्य शिवाकोटीले निर्मम समीक्षाको माग पनि गरे। पार्टी यसरी चले आउँदो चुनाव फलामको चिउरासरह हुने उनले जिकिर गरे।
‘विधानको पालना हुन सकेको छैन। यसमा नेतृत्वले निर्मम समीक्षा गर्नुपर्ने अवस्था आएको छ’, उनले भने, ‘केही साथीहरूको विचार संश्लेषण गरेर नयाँ रूपमा अघि नबढे ८४ सालको चुनाव फलामको चिउरा चपाउनुसरह हुनेछ।’
Shares
प्रतिक्रिया