राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदबाट कारबाही गरेका ढाकाकुमार श्रेष्ठ र उनको स्थानमा निर्वाचित बिन्दबासिनी कंशकार दुवैजना तत्काल संसद छिर्न नपाउने भएका छन्।
रास्वपाको निर्णयअनुसार निर्वाचन आयोगले श्रेष्ठको स्थानमा कंशाकारलाई निर्वाचित गरिएको प्रमाण पत्र दिइसकेको छ।
तर सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासको आदेशपछि उक्त निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश दिएको हो।
नवनिर्वाचित बिन्दबासिनी संसद् छिर्न नपाउँदा ढाकाकुमारको फेरि संसद यात्रा पनि तत्कालन सम्भव नहुने भएको हो।
सर्वोच्चले हाल जुन अवस्थामा छ, अर्को निर्णय नभएसम्म त्यसलाई यथास्थितिमा राख्न भनेको छ।
न्यायाधीश श्रेष्ठको एकल इजलासले दुवै पक्षलाई छलफलमा राखेर मात्रै श्रेष्ठले मागेअनुसार अन्तरिम आदेश जारी गर्नु पर्ने नपर्नेबारे निर्णय गर्नु उपयुक्त हुने आदेश गरेको हो।
अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई जेठ ५ गते झिकाइएको छ।
श्रेष्ठले आफूलाई कारबाही गर्ने रास्वपाको निर्णय कार्यन्वयन नगरी संसदमा आफ्नो निरन्तरता दिन अन्तरिम आदेश माग गरेका थिए।
तर उनले माग गरेबमोजिम अन्तरिम आदेश नदिई अहिलेलाई यो विषय जुन अवस्थामा छ सोही अवस्थामा राख्न भनिएको हो।
सभामुख देवराज घिमिरेले रास्वपा सांसद श्रेष्ठलाई कारबाही गरेको पत्र संसदमा सुनाउँदै उनको स्थान रिक्त भएको जानकारी गराइसकेका छन्। यही कारण अर्को निर्णय नभएसम्म श्रेष्ठले संसद फर्किन पाउने छैनन्।
उनले २ करोड घुस बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले चैत २९ गते पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
Shares
प्रतिक्रिया