सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले शासकबाट भएका कमजोरी व्यवस्थाको नहुने बताएकी छन्।
नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सिनामंगलदेखि सञ्चारग्रामसम्म गरेको कोणसभामा बोल्दै उनले यस्तो बताएकी हुन्।
अहिलेको व्यवस्थालाई चौतर्फी प्रहार भइरहेको बताउँदै उनले लोकतान्त्रिक गणतन्त्रलगायत समावेशी व्यवस्थाको रक्षा गर्न प्रेसले सकारात्मक भूमिका खेल्नेमा उनले आफू विश्वस्त भएको बताइन्।
'हामीले बनाएका कानुन, हामीले बनाएको संविधान, हामीले ल्याएको लोकतन्त्र, हामीले ल्याएको गणतन्त्रमाथि जताततै, भित्रबाहिरबाट प्रहार भइरहेको छ,' उनले भनिन्, 'यी सबै कुरालाई समाजमा एउटा सकारात्मक सन्देश दिने हिसाबले र प्राप्त उपलब्धीहरूको रक्षा गर्न हा पनि पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्नेछ।'
ठूलो बलिदानबाट प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्नु सबैको कर्तव्य भएको उनले बताइन्। उनले शासक र सत्ता सञ्चालकबाट भएका कमजोरी व्यवस्थाको होइन भन्ने स्थापित गर्न पत्रकारिताले भूमिका खेल्नुपर्ने बताइन्।
उनले भनिन्, 'शासहरूबाट, सत्ता सञ्चालन गर्ने मान्छेहरूबाट भएका कमजोरी व्यवस्थाको कमजोरी होइन है, व्यवस्था आफैँमा ठीक छ भन्ने स्थापित गर्न पनि यहाँहरूले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ,' उनले भनिन्।
उनले संविधानबाटै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्यानुभूति गराएको बताउँदै आवश्यक नीति निर्माण बनाउन पहल गर्ने बताइन्।
Shares
प्रतिक्रिया