तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले जितलाई निश्चित गर्दै लगेका छन्।
३७ हजार ८४९ मत गनिसक्दा वाग्लेले १९ हजार २४९ मतसहित फराकिलो अग्रता बनाएका छन्।
यहाँ सत्ता गठबन्धनको साथ लिएर उठेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले अहिले ११ हजार २७९ मत ल्याएका छन्।
उता तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार १५२ मत मात्रै ल्याउन सकेका छन्।
तनहुँमा आइतवार भएको उपनिर्वाचनमा ६३ हजार मत खसेको थियो। अहिलेसम्म त्यहाँ २६ वटा वडाको मत गनिसकिएको छ।
यहाँ वाग्लेले नेपाल प्रहरीका पूर्व आईजीपीसमेत रहेका खनाललाई १३ हजार भन्दा धेरै मतले पछि पारेका छन्।
तनहुँ क्षेत्र नम्बर १ मा पर्ने कुल ४२ वडा छन्। अब १७ वटा वडाको मत गनिसक्न बाँकी छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ १ मा खसेको कुल मतमध्ये सोमबार दिउँसोसम्म ३७ हजार ८४९ मतपत्र गणना भइसकेको जनाएको छ।
आइतबार सम्पन्न मतदानमा यहाँ ६३ हजार ७५७ मत खसेको थियो। तनहुँको जिल्ला समन्वय समितिको सभाहलमा गए रातिदेखि मतगणना भइरहेको छ।
Shares
प्रतिक्रिया