सत्ता साझेदार नेकपा एमालेलाई सात दलीय सत्ता गठबन्धनबाट निकाल्न सफल नेपाली कांग्रेस राष्ट्रपति निर्वाचनअघि नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने देखिएको छ।
सत्ता साझेदार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएसँगै कांग्रेस फागुन २५ हुन गइरहेको राष्ट्रपति निर्वाचनअघि नै सरकारमा जान तयार भएको हो।
सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाको ठूलो दल कांग्रेससहित अरु ६ दलसँग गठबन्धन गरेपछि चिढिएका एमाले र राप्रपाले सरकार छाडिसकेका छन्।
परराष्ट्रमन्त्री डा.विमला राई पौडेललाई संयुक्त राष्ट्रसंघको महासभाका लागि जेनेभा जानबाट प्रचण्डले रोकेपछि अपमान भएको महसुस गरेर एमालेले सोमबार सचिवालय बैठकमार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
पुरानो गठबन्धन ब्युँताउन माओवादी फकाएर एमालेलाई घेर्दै कांग्रेस
यस्तै सत्ता साझेदार राप्रपाले पनि शनिबार मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड पुस ११ गते प्रधानमन्त्री बनेका थिए।
एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि अब सरकार बनाउनासाथ दिएका सांसदको संख्या ७७ मा झरेको छ। प्रधानमन्त्रीका लागि समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिनुपर्ने छ।
संविधानको धारा १०० को उपधारा २ मा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नु पर्नेछ।’
विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष पेश भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसके प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था छ।
तर, प्रचण्डलाई कांग्रेससहितका अन्य ७ दलको साथ रहेका उनले प्रतिनिधिसभामा विश्वासको मत पाउने सम्भावना बलियो छ। कांग्रेसले उनलाई संसदमा विश्वासको मत दिने संकेत गर्दै आएको छ।
‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मतका लागि पहल गर्नुहोला,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेपालखबरसँग भने, ‘हामीले राष्ट्रपतिमा सघाउनुस्, अप्ठ्यारो पर्दा सहयोग गर्छौँ भनेका छौँ।’
राष्ट्रपतिका लागि माओवादीसँग छलफल चलिरहेकै बेला फागुन ५ गते एक समाचार एजेन्सीसँगको अन्तर्वार्तामा पनि उनले राष्ट्रपतिमा माओवादीले सहयोग गरे पार्टीले सरकारलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने बताएका थिए।
प्रचण्डले फागुन १२ गते कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्तिक समाजवादी पार्र्टी (लोसपा), जनमत पार्टी, नागरिक उनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालाई बालुवाटार बोलाएर राष्ट्रपतिमा गठबन्धन गरेर जाने सहमति जुटाइसकेका छन्।
राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन गरेर जाने सहमति गरेकाले प्रचण्डले प्रतिनिधिसभामा सजिलै विश्वासको मत पाउने देखिन्छ।
उनलाई विश्वासको मत दिन तयार कांग्रेसले राजनीतिक कोर्स अब नयाँ ढंगले अगाडि बढ्ने बताएको छ।
‘सरकारमा जानेबारे प्रधानमन्त्रीले छलफल गर्नुहुन्छ होला। सभापतिज्यूले पनि पार्टीमा छलफल चलाउनु हुन्छ,’ कांग्रेस कहिले सरकारमा सहभागी हुन्छ भन्ने नेपालखबरको प्रश्नमा कांग्रेस प्रवक्ता महत भन्छन्, ‘अब कोर्स अगाडि बढ्ला, बढ्छ नै। यसबारे आज-भोलि कुरा हुन्छ होला।’
उपसभापति पूर्णबहादुर खड्का भने अहिले सरकारमा जानेबारे केही छलफल नभएको बताए।
‘अहिले सरकारमा सहभागी हुने कुरा भएको छैन,’ उनले नेपालखबरसँग भने, ‘हामी राष्ट्रपति चुनावमा केन्द्रित छौँ।’
खड्काले राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धन बन्दा पनि सरकारमा सहभागी हुने छलफल नभएको जिकिर गरे।
उता सत्तारुढ नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले भने एक दुई दिनभित्रै कांग्रेससहितका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरिने बताएका छन्।
'बुधबारपछि मन्त्रिपरिषद् विस्तारको तयारी छ', नेताले भने, 'यसबारेमा प्रधानमन्त्रीले कांग्रेससहितका दलका नेताहरुसँग छलफल गरिरहनु भएको छ।'
Shares
प्रतिक्रिया