ad ad

राजनीति


संगठनको भावनाविपरीत गतिविधि तत्काल नरोके कारबाही : नेविसंघ

संगठनको भावनाविपरीत गतिविधि तत्काल नरोके कारबाही : नेविसंघ

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०७९ बुधबार १८:२४, काठमाडौँ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले संगठनको भावनाविपरितका गतिविधि तत्काल नरोके कारबाही गरिने चेतावनी दिएको छ।

नेविसंघले इतर समूहलाई इंगित गरेर संगठनको भावनाविपरितका गतिविधि तत्काल नरोके कारबाही गरिने चेतावनी दिएको हो। 

सामाजिक सञ्जालमा नेविसंघका नाममा नक्कली लेटरहेड बनाएर र स्ववियु केन्द्रित गतिविधि र व्यक्तिका नाममा विभिन्न समितिहरु बनेको उजुरी केन्द्रीय कार्यालयमा आएको जनाइएको छ।

नेविसंघका नाममा भइरहेका गतिविधिले नेविसंघमा आस्थावानलाई भ्रमित पर्ने अवैधानिक गतिविधिहरु गम्भीर ध्यानाकर्षण भएको मुख्य सचिव विजय खड्काले बताएका छन्।  

‘नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ को धारा २४ (२) बमोजिम अनुशासन उल्लंघन भएको देखिन्छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेविसंघको गरिमामा आँच आउने र नेविसंघको भावनाविपरित भएका यस्ता वाञ्छनीय गतिविधि तत्काल नरोके नेविसंघ केन्द्रीय समिति कारबाही गर्न बाध्य हुने कुरा यही विज्ञप्तिमार्फत् जानकारी गराउन चाहन्छु।’ 

नेविसंघले पुजन गन्दर्भको संयोजकत्वमा स्ववियु घोषणापत्र समिति, एलिजा ढकालको संयोजकत्वमा स्ववियु प्रशिक्षण समिति, सन्तोष उपाध्यायको संयोजकत्वमा स्ववियु प्रचारप्रसार समिति, दिनेश शाहीको संयोजकत्वमा विद्यार्थी संगठन समन्वय समिति र उज्जवल बज्राचार्यको संयोजकत्वमा स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवम् सुरक्षा समन्वय समितिमात्र आधिकारिक समितिहरु भएको पनि जनाएको छ। 

तर, नेविसंघको इतर समूहले वैधानिक पूर्णताको माग गर्न र स्ववियु निर्वाचनको तयारीका लागि भन्दै १३ वटा समितिहरु गठन गरेर समानान्तर गतिविधि गर्दै आएको छ।  

इतर समूहले धर्मराज शाहीको संयोजकत्वमा घोषणा पत्र निर्माण समिति, इन्जनिनियर सुवास पौडेलको संयोजकत्वमा स्ववियु परिचालन समिति, इन्जिनियर भुवन भट्टको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ।

यस्तै इतर समूहले स्ववियु समन्वय समिति संयोजकमा विक्रम आदित्य सिंह, स्ववियु जिल्ला समन्वय समिति संयोजकमा राजकुमार बस्नेत, सुझाव संकलन समिति संयोजकमा सुशान्त आचार्य, उपत्यका क्याम्पस ईकाइ समन्वय समिति संयोजकमा नवीन के.डी., युवा विद्यार्थी परिचालन समिति संयोजकमा जयराम बडाल, नेविसंघ सम्पर्क समिति परिचालन समिति संयोजकमा तिर्थ मिश्र चयन गरेको छ। 

इतर समूहको स्ववियु निर्वाचन प्रशिक्षण समिति संयोजकमा ताराबहादुर थापा, अन्तर प्रदेश समन्वय समिति संयोजकमा तपेन खड्का, अन्तर विश्वविद्यालय समन्वय समित संयोजकमा मुना कँडेल, प्राविधिक विद्यार्थी समन्वय समिति संयोजकमा सुजन सापकोटा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .